इन्सेकको प्रतिवेदन

साढे १० महिनामै ५१ बलात्कार, अभियुक्तहरु बाबु, मामादेखि भिनाजुसम्म

दाङ – अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले साढे १० महिनाको अवधिमा दाङमा एक सय ५१ वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक गरेको छ।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि तयार पारेको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरिएको छ।

मानव अधिकार उल्लंघन र हननका घटनाहरुको अभिलेख सार्वजनिक गर्दै इन्सेक प्रतिनिधि जेएन सागरले साढे १० महिनामा १ सय ५१ वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको र तीमध्ये सबैभन्दा धेरै बलात्कारका घटना रहेको जानकारी दिए।

इन्सेकको प्रतिवेदनमा ५१ वटा बलात्कारका घटना, ७ जनाको हत्या, ३ जनालाई कथित बोक्सी आरोप, ३ जनालाई छुवाछुत, ८ वटा अपहेलना, ५ वटा गैरकानुनी हिरासत र २ वटा हिरासत यातनाका घटनाहरु समावेश भएका छन्।

त्यसैगरी, ५१ वटा कुटपिट, ११ पटक बन्द हड्ताल, ३ वटा तोडफोड र ६ वटा दुर्व्यवहारका घटना भएको इन्सेक प्रतिनिधि सागरले बताए। एक सय ५१ वटा घटनामा १ सय ७० जना पीडित भएका छन्। १ सय ४१ वटा घटना गैरराज्य पक्षबाट र १० वटा राज्यपक्षबाटै मानव अधिकार उल्लंघनका घटना भएका छन्।

बलात्कारजन्य घटनामा ४२ वटा यौन दुर्व्यवहार, ३० वटा बलात्कार, १२ वटा बलात्कारका प्रयास भएको तथ्यांक प्रस्तुत गरिएको छ।

तीमध्ये ४२ जना बालिका २ जना अपाङ्गता भएका छन्। बलात्कार बाबु, दाजु, हजुरबुवा, मामा, भिनाजु र छिमेकी तथा चिने–जानेकैबाट भएको इन्सेकले जनाएको छ।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्