पूर्व उपप्रधानमन्त्री अधिकारीलाई नागरिक अभिनन्दन

विराटनगर – पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अगुवा नेता भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ।

शनिबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमका बीच ८३ वर्षीय नेता अधिकारीलाई जेष्ठ नागरिक सम्मानसहित अभिनन्दन गरिएको हो।

अभिनन्दनका क्रममा सक्रिय राजनीतिबाट बाहिर रहँदै आएका नेता अधिकारीले प्रदेश नम्बर–१ र विराटनगरबासीको माया बिर्सिन नसक्ने बताए।

विगतमा कांग्रेस–कम्युनिष्ट भएर एकआपसमा धेरै लडाइँ लडेको बताउँदै अधिकारीले अब सबै पक्ष एक भएर प्रदेशको विकास र विराटनगरलाई राजधानी बनाउनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

अधिकारीलाई प्रदेश सरकारका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले कदरपत्र, मुख्यमन्त्री शेरधन राईले फुलमाला अबिर लगाएर अभिनन्दन गरेका थिए।

सो क्रममा प्रदेश प्रमुख डा. तुम्वाहाङले मुलुकको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएका अधिकारीलाई सम्मान गरिनु प्रदेश नम्बर एकको गौरवको विषय भएको बताएका थिए।

मुख्यमन्त्री राईले नेपाली राजनीतिका शिखरपुरुष अधिकारीलाई गरिएको नागरिक अभिनन्दनले समग्र प्रदेशको एकता र संस्कृतिमा बल पुगेको बताए।

वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लामा जन्मिएका नेता अधिकारीले २००८ सालदेखि नेपाल कम्युनिष्ट पार्टीबाट राजनिति शुरु गरेका हुन्।

यद्यपि २०४६ सालको राजनीतिक आन्दोलनअघि उनी विराटनगरमा कानून व्यवसायीका रुपमा कार्यरत रहेका थिए। ४६ सालको प्रजातन्त्रपछि नेता अधिकारी सक्रिय राजनीतिमा आएका हुन्।

विराटनगरस्थित एलिट क्लबका सदस्य रहेका अधिकारी बहुदलपछि स्वं. मनमोहन अधिकारी नेतृत्वमा बनेको ९ महिने सरकारमा अर्थमन्त्री बने।

जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनुपर्ने विषयको प्रारम्भ गरेका अधिकारी अस्वस्थताका कारण सक्रिय राजनीतिमा कम देखा पर्दै आएका छन्।

कार्यक्रममा ४ सयभन्दा बढी संघसंस्थाले अधिकारीलाई नागरिक अभिनन्दन गरेको अभिनन्दन समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले जानकारी दिए।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्