एकल बुहारीलाई छोरीसरह अन्माइन् पूर्व उपसभामुख सुवेदीले

बुहारीलाई अन्माउँदै सुवेदी। तस्बिरहरुः कुमार श्रेष्ठ/देश सञ्चार

नेपालगञ्ज– पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र उनका श्रीमान् प्रकाशले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन्।

संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा अन्माएकी हुन्। पूर्णाका श्रीमान् प्रकाश सुवेदी पनि नेकपाका नेता हुन्।

व्यापारको शिलशिलामा काठमाडौँ गएको बेलामा वि.सं. २०७२ सालको भूकम्पमा छोरा अच्यूतराज सुवेदीको मृत्यु भएको थियो। बसेको होटल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो। अच्युतको मृत्यु भएपछि बुहारी मालती एकल भएकी थिइन्। मालतीका दुई छोरा छन्।

बुहारीले नै मन पराएका नेपालगञ्जका सुधीर गौतमसँग सुवेदी परिवारले विवाह गरिदिएका हुन्। शनिबार घरपरिवारका सदस्यले आफन्त तथा केही नेताहरुको उपस्थितिमा मालतीलाई विवाह गरिदिएका छन्।

ससुरा प्रकाश सुवेदीले बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि आफूहरुले पनि सहर्ष स्वीकारेर छोरीसरह विवाह गरिदिएको बताए।

‘समाजमा रहेका रुढीवादी परम्पराहरु तोडेर अघि बढ्नुपर्छ, हामीले पनि एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौँ,’ प्रकाशले देश सञ्चारसँग भने, ‘यो उनकै खुशीका लागि हो।’

सुवेदी परिवारले मालतीसँग सम्बन्ध पनि नटुट्ने र उनको खुशी पनि पूरा हुने जनाउँदै आफ्नै घरबाट विवाहको विधि पुर्याएर अन्माए। दुई नातिको पालनपोषणप्रति चिन्ता गरेका सुवेदी परिवारले मालतीलाई खुशीका साथ बिदाई गरेका छन्।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्