थप तीन विधेयक ल्याउने तयारीमा प्रदेश–२ सरकार

जनकपुरधाम – प्रदेश नम्बर–२ सरकारले थप तीन विधेयक ल्याउने तयारी गरेको छ। मन्त्रिपरिषदको बैठकबाट सैद्धान्तिक सहमति लिइसकेको तीनवटा विधेयक आइतबार प्रदेशसभामा दर्ता गराउने तयारी गरिएको जनाइएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले तीनवटै विधेयकको तयारी सकेको र आइतबार प्रदेशसभामा प्रदेशसभामा दर्ता गराउने बताएका छन्।

दलित सशक्तीकरण विधेयकमा दलित समुदायलाई मूल प्रवाहमा ल्याउने प्रावधान समेटिएको छ। प्रदेश–२ मा १४ प्रतिशतभन्दा बढी जनसंख्या रहेको दलित समुदायको शिक्षा, स्वास्थ्य र अन्य दैनिकीमा पिछडिएको हुँदा यसको सशक्तीकरणका लागि विधेयक ल्याइएको मन्त्री यादवले जनाएका छन्।

प्रदेश २ को सरकारले सूचना र सञ्चारसँग सम्बन्धित छुट्टै कानुन बनाउन लागेको समेत जनाइएको छ। यस्तै, मिडिया काउन्सिल, पत्रकारिता प्रशिक्षण प्रतिष्ठान र न्यूनतम पारिश्रमिकसँग सम्बन्धित एकीकृत सूचना तथा सञ्चार विधेयक सरकारले तयार पारेको छ।

प्रदेश २ मा पत्रपत्रिका, रेडियो टिभी तथा अनलाइनको दर्ता र अनुगमन गर्नेसम्मको अधिकार सरकारले आफ्नो हातमा लिन लागेको जनाउँदै प्रदेशमा रहेको मिडियालाई व्यवस्थित र लोक कल्याणकारी विज्ञापन वितरण गर्ने प्रावधान पनि विधेयकमा समेटिएको जनाइएको छ।

प्रदेश–२ को सरकारले ९ महिनामा १५ वटा कानुन बनाइसकेको छ। प्रदेशसभामा ७ वटा विधेयक दर्ता गरिएको छ। करिब एक महिनापछि प्रदेश २ को प्रदेशसभा बैठक मंसिर ५ गते बस्ने जनाइएको छ।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्