सुन्दर नगरी पोखरामा पर्यटकले अबदेखि ‘हट एयर’ बेलुनमा उडेर पोखराका आसपासका दृश्य अवलोकन गर्ने पाउने भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्‌घाटन गरे।

उनले पोखरा आउने पर्यटककालागि बेलुन उडानले थप मनोरञ्जन दिने बताए। सरकारले अघि सारेको भ्रमण बर्ष सफल बताउन नीजि क्षेत्रको भुमिका पनि शसक्त हुने भन्दै नयाँ नयाँ गतिविधिले पर्यटकलाई आर्कषक गर्न सकिने उनको भनाई थियो।

प्रदेशको समृद्धिको आधार पर्यटन भएको भन्दै ‘२०२२ सम्म हामीले गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए। साहासिक खेलको रुपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जीप फ्लायर, क्यानोनिङ लगायत अब बेलुनमा बसेर पोखराका आसपासका रमणीय दृश्यको मजा पर्यटकले लिन पाउने भएका छन्।

हट एयर बेलुन उडाउन प्रालिले डेढ करोड रुपैयाँ खर्च गरेको छ। प्रालिले इटलीबाट यो बेलुन मगाएको हो। बेलुन प्रालि नेपालका प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए। उनले पोखराको पर्यटन विकासमा हट बेलुन नयाँ प्रडक्टको रुपमा थपिएको बताए।

बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार रुपैयाँ र विदेशी पर्यटकले १ सय ६० डलर तिर्नुपर्ने प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए। सानो बेलुनमा ६ जना र ठूलो बेलुनमा ८ जनासम्म उडाउन सक्ने यसको क्षमता छ। बेलुन चड्ने प्रत्येक यात्रुको २० हजार डलरको इन्सोरेन्स गरिएको निर्देशक महर्जनले बताए।

कास्कीको धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्ने उनले जानकारी दिए। धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ। उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ।

बेलुनका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल आएको उनले बताए। १ करोड ५० लाखको लागतमा शुरु भएको बेलुनसँग २५ जनाले रोजगारी पाएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई गरेको मर्हजनले बताए। उनले निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाब्यता अध्ययन भइरहेको बताए।