पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

साउदी युवराजमाथिको समस्या तत्कालका लागि टर्‍यो, ट्रम्पको दाबीः चाँडै खुल्छ हत्याको रहस्य

अमेरिकाको विदेश विभागले टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा भएको अनुसन्धान निष्कर्षमा नपुगेको बताएको छ ।

साउदी अरेबियाका पत्रकार खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको निष्कर्षमा अमेरिकी गुप्तरचर निकाय सिआइए पुगेको भन्ने खबर आइरहेका बेला विदेश विभागको यस्तो टिप्पणी आएको हो ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा हत्या भएको हो र हत्यामा संलग्नको पहिचान तथा उनको पार्थिव शरीर बारे अहिलेसम्म थाहा हुन सकेको छैन ।

टर्कीले हत्याको प्रमाणको रुपमा रहेको भनिएको टेप अमेरिका, साउदी अरेबियासहितका देशलाई दिएपछिको अनुसन्धानमा सिआइए हत्या साउदी युवराज एमबिएसको निर्देशनमा भएको निष्कर्षमा पुगेको दाबीसहितका खबर आइरहेका छन् । टेप सुनेपछि क्राउन प्रिन्सकै निर्देशनमा हत्या भएको भन्ने निष्कर्षमा सिआइए पुगेको सम्बन्धी अपुष्ट खबर सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले छापेको थियो ।

टेप सुनेपछि त्यसमा एक हिटम्यान (पैसा लिएर कसैको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गर्ने मिसन पूरा भएको जानकारी ‘बोस’ लाई गराउन भनेको र त्यो बोस अरु कोही नभई क्राउन प्रिन्स नै रहेको विश्वास सिआइए भएको दाबी खबरहरुमा गरिएका छन् ।

यहिबिचमा अमेरिकाको विदेश विभागले भनेको छ, ‘घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकाय निष्कर्षमा पुगेको भन्ने पछिल्ला खबरहरु झुट हुन्, खाशोग्गी प्रकरणमा अन्तिम निष्कर्ष आउन बाँकी नै छ ।’

अझै पनि उत्तर बिहीन धेरै प्रश्नहरु रहेको र तिनका जवाफ नखोजिएसम्म अनुसन्धान निष्कर्षमा नपुग्ने विदेश विभागको वक्तव्यमा उल्लेख गरिएको छ । घटनाको सत्य तथ्य पत्तालगाउन अरु देशसँग मिलेर अनुसन्धान जारी राखिएको पनि उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘खाशोग्गीको हत्या प्रकरणको अनुसन्धानको क्रममा साउदी अरेबियासँगको महत्वपूर्ण रणनीतिक सम्बन्धलाई पनि ख्याल गरिनेछ ।’

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सिआइएका उच्च अधिकारीसँग खाशोग्गी हत्याका सम्बन्धमा भइरहेको अनुसन्धानका बारेमा जानकारी लिए । भेटपछि उनले पत्रकारसँग घटनामा क्राउन प्रिन्सको संलग्नता नरहेको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।

उनले भनेका छन्, ‘अहिलेसम्म हामीले भन्दै आएका छौँ कि हत्यामा उनको (क्राउन प्रिन्स) संलग्नता छैन र उनीहरुले पनि त्यहि बताउँदै आएका छन् । हामी यसको उत्तरको खोजीमा छौँ ।’

केही दिनभित्र अनुसन्धानको पूर्ण प्रतिवेदन सार्वजनिक हुने र त्यसमा हत्या कसले गरेको भन्ने प्रश्नको पनि उत्तर हुने ट्रम्पले दाबी गरेका छन् ।

मंसिर २, २०७५ मा प्रकाशित