दुखद् दुर्घटना

सडकमै पल्टियो यात्रुवाहक बस, १८ घाइते, ३ को अवस्था गम्भीर

दाङ – भालुबाङबाट लमही आउँदै गरेको बस लमही नगरपालिका वडा नम्बर–३ टिकुलीगढमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

जसमध्ये तीन जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिएका छन्। ना३ख ९४७ नम्बरको स्थानीय रुटमा चल्ने बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा परी मल्लरानी गाउँपालिका वडा नम्बर–३ चौरपानी प्यूठान निवासी ५७ वर्षीय गोविन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर–४ मौरीघाट निवासी ४५ वर्षीय रामखिलाउन चौधरी, लमही नगरपालिका वडा नम्बर–२ डोढही निवासी ८० वर्षीय दिबुलाल चौधरी, राप्ती गाउँपालिका वडा नम्बर–७ भानपुर निवासी २५ वर्षीया सरिता चौधरी, २३ वर्षीया निर्मला कोइराला, राप्ती गाउँपालिका वडा नम्बर–७ निवासी डोरबहादुर परियार, सोही गाउँपालिकाको वडा नम्बर–५ भुल्के निवासी ४५ वर्षिया हिमा गाहामगर लगायत घाइते भएका छन्।

घाइतेमध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ। र, अन्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।

मंसिर २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्