प्रसिद्ध धार्मिकस्थल पञ्चासेका लागि १० अर्ब, केवलकारसहितका संरचना बनाइने

पोखरा – धार्मिक एवं पर्यटकीय क्षेत्र पञ्चासेमा करिब १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बन्ने भएको छ। कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा पञ्चासे केबलकार परियोजनाले वृहत गुरुयोजना अघि सारेको हो।

पोखरा क्षेत्रलाई पर्यटनको हब बनाउनका लागि बृहत पर्यटनको नयाँ गन्तव्य बनाउने र पर्यटकहरुको बसाइ लम्बाउने उद्देश्य यस परियोजनाले लिएको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानाकारी दिएका हुन्।

‘पर्यटन क्षेत्रलाई व्यावसायीकरण गर्नका लागि कर्पोरेट जोइन्ट भेञ्चर कल्चरको प्रवर्द्धन गर्न र बृहत पुँजीको निर्माण परिचालनमार्फत सामूहिक आयआर्जन गर्दै यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने यसको उद्देश्य हो,’ शर्माले देश सञ्चारसँग भने।

जनतासँग छरिएर रहेको पुँजी संकलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको परियोजनाले पर्यटन विकासमार्फत मध्यम् वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने परियोजनाका सञ्चालक धनप्रसाद उपाध्यायले बताए।

केबुलकारको तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहने छ। यसको लम्बाई ८ दशमलव ५ किलोमिटर रहने केबलकारमा ८० वटा टावर रहने छन्। एकै पटक २४ सय यात्रु आउन जान मिल्ने केवलकारले दैनिक दश हजार मानिस बोक्ने क्षमता हुने शर्माले बताए।

अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन्।

त्यसैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ। पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्न केबलकार निर्माण गर्न लागिएको अध्यक्ष शर्माले बताए।

पर्यटकीयस्थल पञ्चासे पुग्न पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो। वि.सं. २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्माण कम्पनीले जनाएको छ।

केबलकार कम्पनीले पञ्चासे लेकभन्दा तल भाडामा जग्गा लिएर जल मनोरञ्जनस्थल, स्थानीय हस्तकला बिक्री केन्द्र, रिसोर्ट, घरबास, प्रेमपार्क, मदिरा सेवन क्षेत्र, पञ्चासे मन्दिरको जीर्णोद्वार लगायतका योजना बनाउने छ।

१० अर्बको योजनामध्ये ३ अर्ब केवलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने निर्माण कम्पनीले जनाएको छ। ३ हजार रोपनीमा घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहने छन्।

परियोजना अन्तर्गत फाउन्टेन म्यूजिकल डान्स प्लोरा, श्रवणकुमार आश्रम, शहीदपार्क, साइकल रुट, टेकिङ रुट बनाइने छ। पञ्चासेदेखि चित्रेसम्म जीप फ्लायर निर्माण गरिने परियोजनाका अध्यक्ष शर्माले बताए। पञ्चासेमा बालबालिकालाई आकर्षण गर्न फनपार्क निर्माण गरिनेछ।

परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उनले जनाएका छन्। दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका स्थानीयलाई ३ अर्ब बराबरको शेयर दिइने भएको छ।

त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारी लगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने शर्माले बताएका छन्।

मंसिर २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्