भारतमा बसमै बेहोस् भेटिए नेपाली

नेपालगञ्ज – नेपालगञ्जको सीमावर्ती शहर भारतको रुपैडिहा बस स्टेशनमा एकजना नेपाली बेहोस् अवस्थामा फेला परेका छन्।दिल्लीबाट रुपैडिहा आउने रोडवेज बसमा आएका अन्दाजी ५० वर्षका नेपाली बेहोस् अवस्थामा फेला परेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले उद्धार गरेर भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएको छ ।

विहान सवा १० बजे जमुनाहा प्रहरीले भेरीमा ल्याएपछि उनलाई सलाइन पानी चढाएर राखिएको छ । अस्पतालमा रहेका उनी अझै बेहोस् अवस्थामै छन् । उनको नाम र गेठाना खुलेको छैन । साथमा रहेको एउटा कागजमा उनको नाम पुरनबहादुर लेखिएको छ ।

बसभित्रै बेहोस् रहेका नेपालीलाई लुटेराले नसालु पदार्थ खुवाएर या सुँघाएर लुटपाट गरेको आशंका गरिएको छ । उनको मुखबाट रगत आएको छ । लुटेराले नसालु पदार्थ खुवाए या सुँघाएपछि पूर्णरुपमा बेहोस् नहुँदै लुटपाट गरेको र त्यसबेला उनले प्रतिकार गर्दा कुटिएको आशंका गरिएको छ । नाकामा यसअघि आएका यस्ता घटनाक्रमले त्यस्तो देखाउने गरेको छ ।

भेरी अञ्चल अस्पतालको आपतकालिन कक्षको ७ नम्बर बेडमा रहेका उनको नाम, ठेगाना र के भएको भन्ने बास्तविकता आइसकेको छैन । उनको होस् आएपछि मात्रै यी सबै कुरा बाहिर आउने छन् ।

भारतका विभिन्न शहरमा काम गरेर फर्किने नेपालीहरु केही समययता यात्राका क्रममा लुटिएका थिएनन् । दशैं, तिहारजस्ता नेपालीको ठूलो चाडमा यो नाकाबाट ठूलो संख्याका नेपालीहरु फर्किने गर्दछन् । नाकामा विशेष सतर्कता अपनाएकाले चाडबाड मान्न आउनेहरु लुटिएका थिएनन् ।

भारतबाट काम गरेर फर्किने नेपालीलाई नेपाली र भारतीय मिलेर बस, रेलमा लुट्ने गरेको पाइन्छ । नेपालीले नेपालीलाई विश्वास गर्ने भएकाले बदमास नेपालीहरु भारतीयसँग मिलेर आफ्नै दाजुभाईलाई लुट्ने गरेको पीडितहरु बताउँछन् ।

एउटै सीटमा बस्ने, बिस्तारै परिचय बढाउदै मन जित्ने र पछि नसालु पदार्थ मिसिएको खानेकुरा खुवाएर या सुँघाएर बेहोस् बनाई लुट्ने गरिन्छ । लुटेराहरुले सुँघाएको या खुवाएको पदार्थले कम्तीमा एक दिनभरी बेहोस् हुने गरेको पाइएको छ । त्यसरी बेहोस् भएर आउनेहरुलाई अस्पतालले सलाइन पानी चढाउने बाहेक अरु उपचार गरेको पनि पाइदैन ।

नेपालीहरु सोझा र चाडै विश्वासमा पर्छन् । आफूसँग पैसा हुँदाहुँदै अपरिचित अर्थात एकछिन अघि चिनजान गरेको व्यक्तिले दिएको खानेकुरा खान्छन् । र, लुटिन्छन् । यस्ता खानेकुराहरु बिस्कुट, पेयपदार्थ हुने गर्दछ । गोजीमा ५०÷६० हजार बोकेर आउने नेपालीहरु अपरिचितले दिएको १०÷२० रुपैयाको खानेकुरामा विश्वास गर्दा लुटिएको पाइन्छ ।

नेपालगञ्ज नाकाबाट यतिबेला भारततिर काम गर्न जाने नेपालीको चाप बढेको छ । चाडबाड मनाउन घर आएकाहरु काममा फर्किएका छन् ।

मंसिर २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू