रुसमा भएको विश्वकप फुटबलमा फाइनल खेलेको क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड युइएफए नेशन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए फोरमा रहेको इंग्ल्याण्डले क्रोएसियामाथि २–१ को जित दर्ता गरेको हो ।
इंग्ल्याण्डको जितमा जेसी लिङ्गार्ड र ह्यारी केनले गोल गरे । क्रोएसियाका लागि आन्द्रेज क्र्यामारिकले गोल गरे ।
खेलमा अग्रता क्रोएसियाले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औँ मिनेटमा क्र्यामारिकको गोलबाट विश्वकपमा फ्रान्ससँग फाइनल खेलेको क्रोएसियाले अग्रता लियो ।
तर ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले शानदार पुनरागमन गर्दै जित निकालेको हो । उसका लागि ७८ औँ मिनेटमा लिङ्गार्ड तथा ८५ औँ मिनेटमा केनले गोल गरे ।
यो जितले इंग्ल्याण्ड पोर्चुगलमा हुने सेमिफाइनलका लागि छनौट भयो भने विश्वकपमा फाइनल खेलेको क्रोएसिया रेलिगेशनमा पर्यो । उसले अब नेशन्स लिग अन्तर्गत दोस्रो डिभिजनमा खेल्नु पर्ने भएको छ ।
इंग्ल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । ६ अंक जोडेको स्पेन दोस्रो स्थानमा रह्यो र रेलिगेशनबाट जोगियो ।