पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

हत्याको टेप डरलाग्दो, ट्रम्पले नसुन्ने

साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्या सम्बन्धी रहस्य अझै सुल्झिएको छैन । हत्याको पुष्टि भए पनि त्यसमा संलग्नको पहिचान हुन सकेको छैन भने शरीर कहाँ छ भन्ने पनि खुलेको छैन ।

पछिल्ला घटना क्रम र अनुसन्धानहरुले हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको भन्नेमा प्रमाण जुट्दै गएका दाबी गरिएको खबर आइरहेका छन् ।

साउदी सरकारले भने पत्रकार खाशोग्गीको हत्यामा युवराज एमबिएस वा राजपरिवारका कुनै पनि सदस्यको कुनै किसिमको संलग्नता नरहेको बारम्बार स्पष्ट रुपमा बताउँदै आएको छ ।

पछिल्लो समय टर्कीले हत्याको प्रमाणको रुपमा लिइएको टेप अमेरिका, साउदी अरेबियासहितलाई दियो । त्यसमा युवराज एमबिएसको निर्देशनमा हत्या भएकोमा बलियो प्रमाण पाइएको दाबी गरिँदै आएका छन् ।

अमेरिकी गुप्तचर निकाय सिआइए हत्यामा एमबिएसको संलग्नता रहेको निष्कर्षमा पुगेको दाबी पनि गरियो । तर अमेरिकी विदेश मन्त्रालयले अहिले नै कुनै निष्कर्षमा अनुसन्धान नपुगेको र युवराज एमबिएसको संलग्नता रहेको भन्ने अहिलेसम्म नदेखिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्याको पूर्ण अनुसन्धान प्रतिवेदन चाँडै सार्वजनिक हुने र संलग्नको पहिचान पनि गरिने बताएका थिए ।

यस्तै अमेरिकी विदेश मन्त्रालयले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएको अनुसन्धान अरु देशसँगको सहकार्यमा गरिने र यसक्रममा साउदी अरेबियासँग रहेको महत्वपूर्ण रणनीतिक सम्बन्धको पनि ख्याल गरिने बताएको छ ।

पछिल्लो विकास क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले हत्याको प्रमाणको रुपमा ठानिएको टेप आफूले नसुन्ने बताएका छन् । टेपमा रहेको कुरा बारे अनुसन्धानमा संलग्न अधिकारीले आफूलाई जानकारी गराएको ट्रम्पले बताएका छन् । तर त्यो टेप आफैले भने नसुन्ने उनले स्पष्ट पारेका हुन् ।

आइतबार फक्स न्युजसँग उनले भनेका छन्, ‘पीडाको टेप हो, निकै डर लाग्दो छ ।’ टेपमा रहेका सबै कुरा आफूलाई जानकारी भएको र निकै हिंस्रक रहेकाले आफूले नसुन्ने ट्रम्पको भनाई छ ।

साउदी अरेबिया, विशेष गरी क्राउन प्रिन्स एमबिएसका कडा आलोचक पत्रकार खाशोग्गीले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका थिए । उनको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।

मंसिर ३, २०७५ मा प्रकाशित