पुस्तक

काल्पनिक पात्रको सजीव यात्रा

कल्पनाशिलता र सिर्जनाले एकीकृत स्वरुप पाएपछि विविध परिवेश तथा पात्र जोडिएको कथा बन्छ र त्यसले पुस्तकको आकार लिन्छ ।

सर्जकले बनाएका परिवेश र जन्माएका पात्रहरु पुस्तक हुँदै पाठकसम्म पुग्छन् । उनीहरुको परिचय पात्रसँग हुन्छ र परिवेशको चित्र बन्छ मानसपटलमा । यो सबै सर्जक क्षमताका कुरा हुन् ।

यस्तै पात्र र परिवेशसँग कहिले काहिँ आफू नै हुँ कि जसरी साक्षात्कार गराउने सिर्जना बनेको छ, ‘रकइन रोलइन रोल्पा : नो अमेरिका, एक्सप्लोर नेपाल’ । महेन्द्र पी. जोशीको यो पुस्तक हुन त आख्यान हो, तर पढ्दा पात्र सजीव लाग्छ, परिवेश आफूले देखेकै जस्तो ।

लेखक जोशीले ‘रकइन रोलइन रोल्पा’ मा एक युवाको ‘जीवन–खोज’ लाई विविध परिवेशहरुसँग जोडेर प्रस्तुत गरेका छन् । अमेरिका (मिसिगन) मा जन्मिएको जोशुआ अल्बर्टो हेमिल्टनको जीवन भोगाइ र अनुभवहरुलाई जोशीले पछ्याएका छन् ।

आमा–बुवाको माया–स्नेह, साथीभाइको साथ तथा पारिवारिक सहजतामा हुर्किएका हेमिल्टनको किशोरवयको चरित्रचित्रण यसरी गरिएको छ कि पढ्नेहरु समान खालको परिवेशका छन्, उनीहरुले आफू नै पाउँछन् कुनै न कुनै रुपमा ।

नयाँ परिवेशमा रहेका पाठकले त्यो परिवेशसँग राम्रोसँग परिचित हुने मौका पाउने गरी जोशीले पात्र तथा परिवेशको चित्रण गरेका छन् ।

स्कुल, कलेज, खेलकुद, प्रेम, यौन, लागुऔषध, अभिभावकलाई छलेर गरिने बदमासीहरु सबैको जीवन्त प्रस्तुती हेमिल्टन मार्फत गरिएको छ पुस्तकमा ।

जीवनका मोडहरुमा अघि बढ्दै जाँदा हेमिल्टनको जीवनमा जोडिन पुग्छ नेपाल, त्यो पनि विकासका नजरमा पछि परेको तर सम्पदा र प्रकृतिका नजरमा माथिल्लो दर्जाको क्षेत्र ।

महेन्द्र पी. जोशी

हेमिल्टन यात्राको क्रममा पहिले जानकारी नै नभएको देश नेपाल आइपुग्छन् ।

उनी नेपालका रोल्पासहितका पश्चिम क्षेत्रका पहाडी भेगमा घुमेका छन् । परिवेश, जनजीविका र स्थानहरु उनका लागि नयाँ छ बिलकुलै ।

अवसरहरुको छनौट त परको कुरा विकल्प भेट्नै मुस्किल छ, सामान्य दैनिकीका लागि पनि ।

र पनि हेमिल्टन फरक परिवेशमा खुल्दै जान्छन् अनि आफ्नो परिवेशलाई सही अर्थमा बुझ्दै पनि ।

हेमिल्टनसँग जोडिएर आउने पात्रहरुका उपकथाहरु र परिवेशहरुले पनि पाठकलाई तान्छ तर सबैभन्दा बलियो पक्ष भनेको हेमिल्टनकै अनुभवहरु हुन् ।

उनले नेपाल आएपछि चिनेको आफ्नो परिवेश र त्यसले थप खोजीको यात्रालाई दिएको उर्जाको स्वरुप बनेको छ महेन्द्र पी. जोशीको ‘रकइन रोलइन रोल्पा’ ।

अंग्रेजीमा लेखिएको यो पुस्तक समग्रमा पठनीय छ । भाषाका हिसाबमा अंग्रेजी जान्ने तर अंग्रेजी पहिलो भाषा वा कामकाजी भाषा नरहेकाहरुका लागि पनि सहज हुने खालको छ, जुन बलियो पक्ष हो ।

कहिँकतै परिवेशहरुको चित्रण र पात्रहरुको पेरिफेरि आवश्यक भन्दा अलिक बढी हो कि जस्तो लाग्छ । र पनि जोडिने नयाँ उत्साहरुले त्यसलाई गौण बनाइदिन्छ ।

नेपालमा हुर्केर अध्ययनका लागि अमेरिका पुगेका जोशीले आफ्नो पुस्तकमा दुई देशका परिवेशसँग आफूले गरेको साक्षात्कारलाई पात्र हेमिल्टन मार्फत सुन्दर लयमा प्रस्तुत गरेका छन् ।

क्रिएटिभ राइटिङ्ग अध्ययन गरेका जोशीको सिर्जनशिलता पुस्तकमा झल्किएको छ, किनकी उनी आफूले बनाएको परिवेश र जन्माएका पात्र मार्फत पाठकलाई अमेरिका हुँदै नेपालका पहाडहरुको यात्रा गराउन सफल छन् ।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्