गुजरात हिंसा

‘क्लिन चिट’ पाएका नरेन्द्र मोदी सर्वोच्च अदालतबाट पनि जोगिएलान् ?

नरेन्द्र मोदी।

भारत गुजरातमा भएको हिंसाको घटनामा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई सफाइ दिएको विरोधमा दर्ता भएको अपिलमा सर्वोच्च अदालतमा सोमबार सुनुवाई हुँदैछ ।

मोदी विरुद्धको अपिल कांग्रेसका पूर्व सांसद एहसान जाफरीकी श्रीमती जाकिया जाफरीले गरेकी हुन् ।

गएको मंगलबार न्यायाधीश ए. एम. खानविलकरको नेतृत्वको बेन्चले जाफरीको अपिलमा सुनुवाई गर्न अनुमति दिएको हो । गुजरात घटनाका सम्बन्धमा विशेष अनुसन्धान कमिटि (एसआइटी) ले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययन गर्नुपर्ने अदालतले भनेको छ ।

जाकिया जाफरीले एसआइटीले नरेन्द्र मोदीलाई सफाइ दिनु र समान खालको गुजरात उच्च अदालतको फैसलालाई पनि चुनौती दिएकी छन् । एसआइटीले सन् २०१२ को फेब्रुअरी ८ मा आफ्नो रिपोर्ट पेश गरेको थियो । एसआइटीले मोदीसहित ५९ जनालाई सफाइ दिँदै मुद्दा चलाउनका लागि आवश्यक प्रमाण नरहेको बताएको थियो ।

योसँगै तल्लो अदालतले सफाई दिएको थियो । त्यसपछि जाकिया त्यो भन्दा माथिल्लो अदालत गएकी थिइन्, त्यहाँ अपिल खारेज भएपछि गुजरात उच्च अदालतमा उनले अपिल दर्ता गरेकी थिइन् । सन् २०१७ को अक्टोबरमा जाकियाको अपिल उच्च अदालतले पनि खारेज गरियो ।

त्यसपछि उनी सर्वोच्च अदालत पुगेकी हुन् । जाकियाले हिंसामा ठूलो षडयन्त्र भएको आरोप लगाएकी छन् ।

सन् २००२ मा गोधरा स्टेशनमा साबरमती एक्सप्रेसको एस–६ डिब्बामा आगो लागेको थियो । आगलागी भएको डिब्बामा ५९ जना रहेको बताइन्छ । त्यसपछि गुजरातका विभिन्न क्षेत्रमा हिंसा भड्कियो ।

सरकारी तथ्यांक अनुसार त्यसक्रममा एक हजार ४४ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा ७९० जना मुसलमान तथा २५४ जना हिन्दु थिए । गुजरात हिंसाको मुद्दामा अदालतले ४५० जना भन्दा बढीलाई दोषी ठहर गरेको थियो । त्यो बेला गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदी थिए । हिंसा रोक्नका लागि राज्य सरकारले उचित कदम नचालेको आरोप लाग्दै आएको छ ।

गुजरात हिंसाका विभिन्न घटनामध्ये प्रमुख थियो अहमदाबादको गुलबर्ग हाउजिङ्ग सोसाइटी काण्ड । सन् २००२ को फेब्रुअरी २८ मा मानिसहरुको भिडले यो सोसाइटीलाई घेरेर ६९ जनाको हत्या गरेका थिए । ज्यान गुमाउनेमा सोही सोसाइटीमा बस्दै आएका कांग्रेसका पूर्व सांसद एहसान जाफरी पनि थिए ।

गुजरात सरकार हिंसा नियन्त्रणमा लिन असफल भएपछि सेनाले सक्रियता बढाउनु परेको थियो ।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्