हाम्रो संस्कृति

मिथिलाञ्चलमा देवोत्थान एकादशी र तुलसी विवाह

जनकपुरधाम – भगवान विष्णुको पूजा तथा तुलसीको विवाह गरिने पर्व देवोत्थान एकादशी सोमबार मिथिलाञ्चलमा विशेष उत्साहका साथ मनाइँदै छ।

विष्णुको पूजा कार्तिक शुक्लपक्ष एकादशीदेखि पूर्णिमासम्म भएपनि देवोत्थान एकादशीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।
मिथिलाञ्चल क्षेत्रमा देवोत्थान भनेको देउतालाई निद्राबाट ब्युझाउँने हुन्छ। आजका दिन भगवान विष्णु निद्राबाट उठ्ने जनविश्वास छ।

असार शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन भगवान विष्णु निद्राशनमा जान्छन्। चार महिनापछि कार्तिक शुक्ल एकादशी अर्थात् देवोत्थान एकादशीका ब्युँझिने मान्यता हिन्दू धर्मालम्वीहरुमाँझ छ।

देवोत्थान एकादशीको महत्व

विष्णु पुराणअनुसार भगवान विष्णु राक्षस शंखासुरलाई अत्यधिक संघर्षपछि वध गर्न सफल भएका थिए। र, यही क्रममा थकाई मेट्न केही महिनासम्म क्षीर सागरमा सुतेका थिए। थकाई मेटेपछि भगवान विष्णु कार्तिक एकदशीमा उठेको जनविश्वास छ, जसलाई देवोत्थान एकादशी भन्ने गरिन्छ।

एकादशीका दिन भगवान विष्णुको उपासना गर्नाले अत्यधिक फल प्राप्त हुने भविष्य पुराणमा उल्लेख रहेको विदहरु बताउँछन्। विदहरुका अनुसार महाभारतकालमा भगवान कृष्णले स्वयम् यस पर्वको महत्वबारे युधिष्ठिरलाई बताएका थिए।

भगवान कृष्णको शब्दमा आजको दिन स्नान, दान, तप आदि कार्य गर्नाले अक्षय फलदायी हुन्छ। यसकारणले पनि मिथिलाञ्चलमा आज घरघरमा महिला तथा पुरुषले एकादशी ब्रत बस्ने गरेको पाइन्छ। ब्रत नगरेपनि हिन्दू धर्मावलम्बीहरु कुनै न कुनै रुपमा एकादशी पूजामा सहभागी हुने गर्छन्। एक वर्षमा पर्ने २४ वटा एकादशीमध्ये देवोत्थान एकादशीलाई सबैभन्दा ठूलो र महत्वपूर्ण मानिन्छ।

एकादशीमा भगवान विष्णुको ध्यान

भगवान विष्णुलाई शंख मृदंगका साथै घण्टी बजाएर निद्राबाट ब्युझाँउने परम्परा रहेको पण्डित विद्यानन्द झा बताउँछन्। यस्तै, विष्णुलाई उठाउन भनी आज मन्त्रको उच्चारण गर्ने गरिन्छ।

‘उत्तिष्ठोत्तिष्ठ गोविन्द त्वज निद्रां जगत्पते।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तं भवेदिदम्।।

उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृतवसुन्धरे।
हिरण्याक्षप्राणघातिन त्रैलोक्ये मंगल कुरु।।’

आज आरती र पुष्पाञ्जलिका साथ भगवान विष्णुको नाम स्मरण र मन्त्र जाप गर्नुका साथै श्रीमद्भागवत तथा विष्णु भगवानसँग सम्बन्धित कथाको पाठ गर्ने गरिन्छ।

यस्तै, आजको दिन ओम नमो नारायणाय तथा ओम नमो भगवते वासुदेवाय मन्त्र तुलसीको मालामा जाप गर्ने परम्परा समेत रहेको पण्डित नरेशकान्त झाको भनाई छ। झाका अनुसार भगवान विष्णुलाई यस प्रकार ध्यान गर्ने गरिन्छ।

‘शान्ताकारंभूजगशयनं पद्मनाभांसुरेशं
विश्वधारंगगनसदृशं मेघवर्णशुभाङ्गम्।

लक्ष्मीकान्तं कमलनयनं योगिभिध्यानगम्यं
वन्दे विष्णुंभवभयहरं सर्वलौकेकनाथम्।।’

अर्थात् जसको आकृति अतिशय शान्त हुन्छ, जो शेषनागको ओछ्यानमा बास गर्छन्, जसको नाभीमा कमल फुल्छ, जो देवताको ईश्वर र सम्पूर्ण जगतको आधार हुन्, जो आकाश समान सर्वत्र व्यप्त छन्, निलो मेघजस्तो जसको वर्ण (शरीरको रंग) छ, जसको सबै अंग अति सुन्दर छ, जो जोगीद्वारा ध्यान गरेपछि मात्र प्राप्त गरिने, जो सबै लोकको स्वामी छन्, जो जन्म, मरण, रुप, भयको नाश गर्छन्, लक्ष्मीपति कमल नेत्र भगवान विष्णुलाई प्रणाम।

यो पर्वका दिन मिथिलाञ्चलको प्रत्येक घरमा साँझ भगवती लक्ष्मीलाई घर भित्र्याइने परम्परा रहेको छ। महिलाहरुले अनधन लक्ष्मी घर आउँ, दरिद्रा बाहर जाउँ भन्दै लक्ष्मीको प्रतिमालाई आँगनबाट घर भित्र्याउने गर्छन्। मंसिरमा धान घर भित्र्याउने गरिन्छ।

तर, त्यो धानभन्दा पहिला आजको दिन घरमा लक्ष्मीलाई भित्र्याउने चलन छ। यो पूजाको सम्बन्ध अन्न र धनसँग जोडिएको छ। प्रत्येक वर्ष खडेरी तथा अकाल नपर्न यो पूजा गर्ने गरिन्छ।

तुलसी र पिपलको विवाह

देवोत्थान एकादशीमा तुलसी र पिपलकोे विशेष पूजा गर्ने परम्परा छ। हिन्दूहरु तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको रुप मान्ने गर्दछन्। यस दिन तुलसी र पीपलको विवाह गराउने परम्परा छ।

जनकपुरको कतिपय घरमा यो पूजा विवाहको उत्सवझैँ मनाउने गरिएको देखिन्छ। विवाह विधि नगर्नेले तुलसीको विशेष पूजा गर्ने गर्छन्।

विशेष अरिपनको परम्परा

मिथिलाञ्चलको घरघरमा देवोत्थान एकादशीका दिन विशेष अरिपन बनाउने परम्परा छ। पीठार (भिजेको चामललाई पिधेर बनाइएको लेदो) ले बनाउने अरिपनमा मुख्य अष्टदल बनाउने र यसमै पूजा गर्ने परम्परा छ।

यसको अतिरिक्त गृहस्थ जीवनमा प्रयोग हुने सम्पूर्ण वस्तुहरु, कपीकिताब, भाडावर्तन, धानको भकारी, हलो, कुटो, खुर्पा, नाङ्ग्लो, कुचो लगायत सम्पूर्ण सामग्रीको चीत्र पिठारले नै बनाइन्छ।

यो सबै चित्रमा हलो र धानभकारीको विशेष महत्व हुन्छ। घरमा पुरुष सदस्यको संख्या आधारमा जति जना पुरुष त्यति वटा चित्रहरु बनाइन्छ।

मिथिलाञ्चलमा कुनैपनि शुभकार्य अरिपनकै चित्र बनाइएको पृष्ठभूमिमा गर्ने परम्परा रहेपनि देवोत्थान एकादशीका दिन भगवान विष्णुको आठ वटा भुजालाई समेटेर बनाइने ‘अष्टदल’को बेग्लै महत्व रहेको छ।

यसैबीच, असार महिनापछि रोकिएको मांगलिक कार्यहरु पनि आजबाट पुनः शुरु हुन्छ। ज्योतिषका अनुसार चतुर्मासभर विवाह, ब्रतवन्ध, मुण्डन र गृहप्रवेश हुँदैन। यस्तै, मिथिलाञ्चलबासी चतुर्मासमा जग्गाजमीनसम्म खरीदबिक्री गर्दैनन्। त्यो सबै रोकेको कार्यहरु आजबाट शुरु हुन्छ।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्