रोजगारीको गन्तव्य नेपाल

नेपाली इँटाभट्टा उद्योग, श्रमिक चाहिँ भारतीय बालबालिका

फाइल फोटो

नेपालगञ्ज – नेपालका इँटाभट्टामा भारतीय बालबालिकाले काम गर्ने गरेका छन्। सीमावर्ती शहर नेपालगञ्जका विभिन्न इँट्टाभट्टामा भारतीय बालश्रमिक रहेका छन्।

नेपालगञ्ज–१३ मा सबैभन्दा बढी इँटाभट्टा रहेको छ। त्यहाँ काम गर्ने अधिकांश बालबालिका भारतीय रहेको वडाध्यक्ष वीरेन्द्र शाहले बताए। ‘मेरो वडामा आठ वटा इँटाभट्टा छन्, त्यहाँ धेरै बालबालिकाले काम गर्छन्, ती सबैजसो भारतीय नै हुन्,’ वडाध्यक्ष शाहले भने, ‘भारतीय भएपनि बालबालिकालाई काममा नलगाउन हामीले आग्रह गरिरहेको छौँ।’

गत वर्ष १३ नम्बर वडाले एक गैरसरकारी संस्थासँग मिलेर निकालेको तथ्यांकमा एक सय ६८ जना भारतीय बालबालिकाले इँटाभट्टामा काम गरिरहेका थिए। ती सबै भारतको सीतापुर र बलरामपुरका थिए। अधिकांश १३ वर्षमुनिका थिए।

बाबुआमासँग आउने बालबालिकाले पनि इँटाभट्टामा काम गर्छन्। बाँकेका इँटाभट्टामा भारतीय कामदारकै बर्चश्व छ। सपरिवार नै आएर भारतीयले इँटाभट्टामा काम गर्छन्।

वडा नम्बर–१३ ले अभिभावकसँग आएका बालबालिकालाई काममा नलगाउन र नजिकको स्कूलमा पढाउन आग्रह गरेको छ। वडाध्यक्ष शाहले यसपालि कडाईका साथ प्रस्तुत हुने बताए। केही बालबालिका एक्लै काम गर्न आएका छन्। तिनीहरुलाई पारिवारिक पुनर्मिलन गराउने तयारी भएको छ।

बाँकेका इँटाभट्टाहरुमा कति भारतीय बालबालिकाले काम गर्छन्। कसैसँग यकिन तथ्यांक छैन। नेपालगञ्जको वडा नम्बर–२१ पुरैनीका इँटाभट्टामा पनि भारतीय बालबालिकाको उपस्थिति बाक्लो रहेको नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए।

बालश्रम मुक्तका कुराहरु आइरहँदा इँटाभट्टाहरु बालश्रमिकले भरिएको पाइएको छ। ‘इँटाभट्टा सञ्चालकलाई हामीले बालश्रमिक नराख्न आग्रह गरेका छौँ,’ १३ नम्बरका वडाध्यक्ष शाहले भने, ‘यसपालि भर्खरै सिजन सुरु भएको छ, हामी कडाईका साथ प्रस्तुत हुन्छौँ।’

पहाडी जिल्लाका नेपालीहरु भारतको विभिन्न ठाउँमा मजदूरी गर्न जान्छन्। बाँकेका उद्योग कलकारखाना तथा भट्टाहरु भारतीय कामदारले भरिएका छन्। भारतीयहरु सपरिवार नै बाँकेमा आएर काम गर्छन्। कतिपय दैनिक काम गरेर फर्किने गर्छन्।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्