अमेरिकामा देउसीभैलो खेलेर जुटाएको रकमले छात्रबास निर्माण

दाङ – आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा दृष्टिविहीन विद्यार्थीहरुको लागि छात्रबास निर्माण भइरहेको छ।

पूर्व विद्यार्थीहरुको पहल र लगानीमा भइरहेको छात्रबास निर्माण गर्न अमेरिकामा देउसीभैलोबाट संकलन भएको एक लाख २५ हजार रुपैयाँ सहयोग गरिएको छ।

नेपालबाट अमेरिका पुगेका नेपाली विद्यार्थीहरुको संगठन ‘नेपाली विद्यार्थी संगठन एराइजोन स्टेट युनिर्भसिटी’ले देउसीभैलाबाट संकलन भएको रकम दाङको आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा अध्ययन गरिरहेका दृष्टिविहीन विद्यार्थीका लागि निर्माण भइरहेको भवनलाई सहयोग गरिएको हो।

सन् २००५ मा स्थापना गरी नेपाली संस्कृति र सम्पदा संरक्षण गरी हरेक वर्ष देउसीभैलोबाट संकलन हुँदै आएको रकम नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको संगठनले यस वर्ष दृष्टिविहीन आवास निर्माणमा सहयोग गरिएको अध्यक्ष जगदीश पराजुलीले बताए। एराइजोन स्टेट युनिर्भसिटीमा अध्ययन गरिरहेका २६ विद्यार्थीहरुले देउसीभैलोको आयोजना गरेका थिए।

विद्यालयमा अध्यनरत पूर्व विद्यार्थीहरुको विशेष पहलामा निर्माण सम्पन्न हुने उक्त भवन अपागंतामैत्री हुने छ। विद्यालयमा वि.सं. २०५२ सालदेखि दृष्टिविहीन विद्यार्थीहरुले पनि अध्ययन गर्दै आएका छन्।

हाल उनीहरु बस्दै आएको विद्यालयको भवन अतिनै दयनीय अवस्थामा रहेको, भित्ताहरु चर्किएको, वर्षायाममा पानी चुहिनेजस्ता समस्या हुँदाहुँदै पनि जीर्ण अवस्थामा रहेको भवनमा बस्न बाध्य हुनु परेकाले उनीहरुका लागि छात्रबास निर्माण गर्न लागिएको अभियन्ता तथा संयोजक बासुदेव न्यौपानेले जानकारी दिए। हाल विद्यालयमा १३ जना दृष्टिविहीन अध्ययन गर्दै आएका छन्।

करिब ६० लाखमा निर्माण सम्पन्न हुने उक्त भवनमा छात्रछात्राका लागि छुट्टाछुट्टै कक्षसँगै एटेज ट्वाइलेट, एउटा सभाहल, भान्सा गरी ४ कोठा रहने छ। उक्त छात्रबास निर्माणका लागि विदेश तथा स्वदेशमा रहेका विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुले सहयोग संकलन गरिरहेको संयोजक न्यौपानेले बताए।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्