होमस्टेप्रति पर्यटक आकर्षित

प्रदेश ५ मा ५० हजार पर्यटकलाई होमस्टेको सेवा

नेपालगञ्ज – होमस्टेप्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। होमस्टे सञ्चालकहरु अझ बढी सेवासुविधा र पर्यटकलाई आकर्षित गर्न लागि परेका छन्। सञ्चालकहरुले छाता संगठन होमस्टे एशोसिएशन (होसान) निर्माण गरी कसरी पर्यटकलाई लोभ्याउन सकिन्छ भन्ने धुनमा लागेका छन्।

होमस्टे एशोसियसन ५ नम्बर प्रदेशले अब होमस्टेहरुलाई वर्गीकरण गरेरअघि बढ्न जरुरी रहेको जनाएको छ। बाँकेको गाभरमा ‘पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम’ गर्दै होमस्टे सञ्चालकहरुले होमस्टेलाई सेवा सुविधाका आधारमा वर्गीकरण गरेर अघि बढ्न जरुरी भइसकेको बताए।

होसानका ५ नम्बर प्रदेशका सचिव कृष्णलाल चौधरीले होमस्टे भन्ने बित्तिकै सबैको हेराई एकै प्रकारको रहेकाले सेवासुविधाका आधारमा वर्गीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए। ‘होमस्टेलाई क, ख, ग, घमा वर्गीकरण गर्नुपर्ने कुरा होसानमा उठेको छ,’ सचिव चौधरीले भने, ‘अब वर्गीकरण गरेर नै अघि बढ्नुपर्छ।’

५ नम्बर प्रदेशमा ३२ वटा होमस्टे रहेका छन्। त्यसमा १७ वटा निजी र १५ वटा सामुदायिक छन्। दशभन्दा बढी दर्ता प्रक्रिया रहेका छन्। सामुदायिक होमस्टे चलाउन कम्तीमा ५ घर मिल्नु पर्छ। सचिव चौधरीका अनुसार ५ नम्बर प्रदेशका होमस्टेले वर्षमा ५० हजार पर्यटकलाई सेवा दिएका छन्।

५ नम्बर प्रदेशको बाँके, बर्दिया र पाल्पा जिल्लामा व्यवस्थित होमस्टेहरु सञ्चालनमा रहेका छन्। सरकारले पर्यटनका लागि सय गन्तव्य क्षेत्र घोषणा यी जिल्लाका होमस्टेहरु समेटिएका छन्। सरकारले सन् २०११ मा कार्यविधि बनाएपछि नेपालमा होमस्टेहरु सञ्चालन आएका हुन्।

कार्यविधिमा होमस्टेलाई जीविकोपार्जनको माध्यम भनिएको छ। होसानले अब होमस्टेलाई जीविकोपार्जनको रुपमा नभई आयआर्जनको माध्यमको रुपमा अघि सार्नुपर्ने लबिङ थालेको छ। ५ नम्बर प्रदेश सरकारले होमस्टेको कार्यविधि बनाएको छैन। पर्यटन कार्यालयको खारेजीपछि दर्ता, नवीकरणको विषयमा अन्यौल छ।

होसानका केन्द्रीय अध्यक्ष भीम केसीले स्थानीय निकायले दर्ता, नवीकरण र अनुगमन गर्नुपर्ने माग अघि सारे। स्थानीय संस्कृति र प्रकृतिको आनन्द लिन पर्यटकहरु होमस्टेहरुमा आउने गरेका छन्। होमस्टेहरुले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जंगल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैली र संग्रहालयहरुको अवलोकन गराउने गरेका छन्।

निकुञ्ज आसपासमा होमस्टेमा आउने पर्यटकहरु जंगल सफारीमा गएर बाघ, हात्ती, गैडा, चौकालगायत संरक्षित जनावरहरु हेर्ने गर्छन्। बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ, हात्ती, चौका, हुँडार, सालक, निलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदर, सुनगोहोरो, अजिंगर, राजधनेशलगायत विभिन्न किसिमका चराहरु हेर्न पाइन्छ।

प्रदेश सांसद आइपी खरेलले होमस्टेहरु रोजगार, स्वरोजगार मात्रै नभईसामुदायिक उद्योगको रुपमा विकास भएकाले यसलाई बढावा गर्नुपर्ने बताए। उनले प्रदेश सरकारले होमस्टे सञ्चालन कार्यविधि बनाएर अघि बढ्ने आश्वासन दिए।

बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले कृषिलाई आधुनिकीकरण, पशुपालनपछि पर्यटनमा गाउँपालिकाले महत्व दिएर कार्यक्रमहरु बनाएको बताए। ‘गाभर भ्यालीलाई उत्कृष्ट गन्तव्य बनाउन हामी लाग्छौँ,’ गाउँपालिका प्रमुख रुचालले भने।

बाह्रबर्दिया नगरपालिका, बर्दियाका मेयर दुर्गाप्रसाद थारुले पर्यटकीय क्षेत्रको विकासमा आफूहरु लागि परेको बताए। जुलोजिकल सोासइटी अफ लण्डनका पवन गौतमले नेपालको बाँके र बर्दियालगायत विश्वका ५० भन्दा बढी देशमा संरक्षणको काममा सहयोग गरेको बताए। पर्यटन बोर्डका कृष्णकुमार अर्याल, होसान सरेश आचार्यलगायत बर्दिया, पाल्पाका होमस्टे सञ्चालकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्