तीन कोइरालाको एकताले कांग्रेसलाई नै फाइदा पुग्छः देउवा

फाइल तस्बिर ।

विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ध्यान पार्टीको आन्तरिक एकतामा केन्द्रित भएको बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै देउवाले कांग्रेस पार्टी प्रजातान्त्रिक पद्धति, विधि विधानअनुसार चलेको दाबी गरेका छन्।

आइतबार कोइराला निवास भएको तीन कोइरालाको एकताका सन्दर्भमा सभापति देउवाले पार्टीभित्र तीन कोइरालाबीच एकता हुनु राम्रो भएको र त्यसले पार्टीलाई नै फाइदा पुग्ने स्पष्ट पारे।

देउवाले कांग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्र चित्त नबुझेको कुराको विरोध हुनु स्वाभाविक भएको बताए।

पार्टीभित्रको आन्तरिक विरोधलाई लिएर कांग्रेस अराजकतातर्फ उन्मुख भएको भन्न नमिल्ने जिकिर गरे। देउवाले पूर्वसभापतिहरुतर्फ इंगित गर्दै भने, ‘विगतमा पार्टीमा चित्त नबुझेको कुरालाई राख्न नसकिने अवस्था थियो, तर अहिले चित्त नबुझेको कुरामा बहस पनि भएको छ, र विरोधपनि, त्यसैले यसलाई सामान्य रुपमा लिएको छु।’

महाधिवेशनका विषयमा कांग्रेसभित्र निकै चर्चा पाइरहेको सन्दर्भमा सभापति देउवाले १३औँ महाधिवेशन तोकिएकै समयमा हुने स्पष्ट पारे।

पार्टीको विषयसँगै वर्तमान सरकारले जनताको चाहना बमोजिम काम गर्न नसकेको उनले आरोप लगाए। देउवाले भने, ‘यो सरकार चौतर्फी क्षेत्रमा आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागि परेको छ।’

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्