चर्को आवाजमा डिजे बाजा बजाउन निषेध

जनकपुरधाम – जनकपुरसहित धनुषामा चर्को स्वरमा बजाइने डिजेबाजामाथि जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिबन्ध लगाएको छ।

जिल्ला सुरक्षा समिति धनुषाको बैठकले विभिन्न चाडपर्व तथा विवाह, ब्रतबन्धको समय चर्को स्वरमा बनाइने डिजे र लाउडस्पीकर बाजा बजाउन निषेध गर्ने निर्णय गरेको हो।

जेष्ठ नागरिक, बिरामी, विद्यार्थी र सर्वसाधारणको स्वास्थ्य हीतलाई ध्यानमा राखेर डिजेजस्ता चर्को स्वरमा बजाइँने बाजामाथि पूर्ण प्रतिबन्ध लगाएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जनाएका छन्।

विवाह ब्रतबन्ध र उत्सवको बेला पनि छिमेकलाई असर नपर्ने गरी सानो स्वरमा मात्र बाजा बजाउन पाइने र यस्तो नियमको उल्लंघन गर्ने जोकोहीलाई कडा कारबाही हुने प्रमुख जिल्ला अधिकारी कँडेलले बताएका छन्।

तराई–मधेशतिर पछिल्लो समय विभिन्न चाडपर्व, विवाह ब्रतबन्ध लगायत उत्सवको बेला चर्को स्वरमा बाजा डिजे र लाउडस्पिकर बजाइने तथा अश्लिल भोजपुरी गीतहरु बजाउने प्रवृतिले समाजमा झैझगडा हुनुको साथै बिरामी, बृद्ध, विद्यार्थी तथा सर्वसाधारण समस्यामा पर्दै आएका थिए।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्