ह्वाइट हाउसले पुनः जारी गर्‍यो सिएनएनका पत्रकारको परिचय पत्र

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले केबल न्यूज नेटवर्क (सिएनएन) का पत्रकार जिम एकोस्टाको परिचय पत्र पुनः जारी गरेको छ ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा झण्डै दुई हप्ता अघि राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि राष्ट्रपति कार्यालयले एकोस्टाको परिचय पत्र ह्वाइट हाउस प्रवेशका लागि अमान्य घोषित गरेको थियो ।

राष्ट्रपति कार्यालयका लागि आफ्ना वरिष्ठ पत्रकारको परिचय पत्र निलम्बित गरिएको विरोधमा सिएनएनले अदालतको ढोका ढ्कढक्याएको थियो ।

सिएनएनले जारी गरेको मुद्दामा अदालतले पत्रकार एकोस्टाको परिचय पत्र तत्काल जारी गर्न आदेश दिएको थियो । त्यसको केही दिनपछि ह्वाइट हाउसले एकोस्टाको परिचय पत्र पुनः जारी गरेको हो ।

सोमबार ह्वाइट हाउसले परिचय पत्र पुनः कार्यान्वयन हुने जनाउँदै भविष्यमा हुने पत्रकार सम्मेलनका लागि केही नियमहरु पनि रहेको बताएको छ । जसमा एक पत्रकारबाट एउटा मात्रै प्रश्न लिइने पनि रहेको छ । थप प्रश्नहरु राष्ट्रपति वा कार्यालयका कर्मचारीको स्वीकृतिमा मात्रै लिइने पनि जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले भविष्यमा पत्रकार सम्मेलनमा मर्यादित वातावरण नबनेका आफू बिचमै निस्कने चेतावनी दिइसकेका छन् ।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्