देउवासँग शेखरको गोप्य कुराकानी

फाइल फोटो।

काठमाडौँ – कोइराला परिवारको वर्षाैँदेखिको विरासत भत्काएर पार्टी सभापतिमा निर्वाचित भएका हुन् शेरबहादुर देउवा ।

पार्टीको आगामी महाधिवेसनमा फेरि पनि सभापति बन्ने दाउमा रहेका देउवाका लागि यसपटक त्यती सजिलो परिस्थिति रहन नदिने रणनीति कोइराला परिवारले बनाउन थालेको छ ।

त्यसको छनक कोइराला समूहका नेताहरुको पछिल्लो गतिविधिले देखाउन थालिसकेको छ ।

नेतृ सुजाता कोइरालाको घरमा बसेको लञ्च मिटिङपछि विराटनगरमा एउटै माला पहिरेका कोइराला परिवारका तीन नेताहरुको समाचार अहिले कांग्रेसको राजनीतिक वृतमा निकै चर्चामा छ ।

शशांक, शेखर र सुजाता कोइरालालाई एउटै माला लगाइदिँदै प्रदेश संयोजक इन्दिरा थापा। तस्बिरहरुः अभयकुमार राई/देश सञ्चार

डा.शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले एउटै माला पहिरेर अबको महाधिवेसनमा मिलेर जाने सन्देश दिइसकेका छन् ।

कोइराला पक्षधरका प्रभावशाली नेताहरुले पनि पटक पटक देउवाको कार्यशैली ठीक नभएको भन्दै सार्वजनिक भाषण गरिरहेकै कारण पार्टीमा देउवाशासन भत्काउने खेल सुरु भइसकेको बुझ्न कठिन छैन ।

यसबेला देउवा तीन कोइरालाको एकताले कांग्रेस झन बलियो बन्ने अभिव्यक्ति दिइरहेका छन् ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवासँग नेता शेखर कोइरालाको विराटनगरमा गोप्य कुराकानी भएको छ  । दुवै नेताबीच विराटनगरमा २५ मिनेट लामो कुराकानी भएको हो ।

महासमिति बैठकको संघारमा कोइराला परिवारका नेताहरुले आफूहरु एकतावद्ध रहेको सन्देश दिइरहेका बेला सभापति देउवासँग नेता शेखर कोइरालाको गोप्य कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गोप्य भनिएको उक्त भेटमा दुई नेताबीच के कुराकानी भयो त्यो विषयमा भने कुनै खुलासा भएको छैन ।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्