राजपाले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने

काठमाडौँ – सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) को बैठक मंगलबार बस्दैछ । राजपा अध्यक्ष मण्डलको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा के गर्ने भन्नेबारेमा छलफल हुनेछ । राजपाका नेताले संविधान संशोधनको प्रक्रिया सुरु नभएमा छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटमसहितको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गराएका थिए ।

चाडपर्वको माहोल सुरु हुनुअघि राजपाका नेताले प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागबारे जानकारी गराएका थिए र त्यो पूरा नभए छटपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए ।

छठ सकिएको हप्ता दिन बित्दा पनि सरकारले केही प्रक्रिया अघि नबढाएको आरोप राजपाको छ । मंगलबार अध्यक्ष मण्डलको बैठकमा आफ्नो पूरानो अल्टिमेटमबारे छलफल गर्नेछ राजपाले ।

यस्तै यो बैठकमा आँउदो वैशाखमा गर्ने भनिएको पार्टीको एकता महाधिवेशनका बारेमा पनि छलफल हुनेछ ।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्