मुख्यमन्त्री डोरमणि पौडेलसँग प्रतिशोधको मुडमा केशव स्थापित

‘आफ्नो पद जोगाउन बर्खास्त गरी छोडे मुख्यमन्त्रीले मलाई’

केशव स्थापित। तस्बिर-बर्षा शाह/ देश सञ्‍चार

प्रदेश नम्बर तीनका भौतिक पूर्वाधारमन्त्रीबाट बर्खास्त भएका काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापित मुख्यमन्त्री डोरमणि पौडेलसँग प्रतिशोधको मुडमा देखिएका छन्। जनताको चाहना, सरकार र पार्टीका घोषणा अनुसार काम गर्न खोजेपछि आफूलाई मुख्यमन्त्री पौडेलले मन्त्रीबाट हटाएको उनको निष्कर्ष छ। उनको भावी योजना के छ त ? जनताका पक्षमा प्रदेशसभामा जोडदार आवाज उठाउने र मुख्यमन्त्री पौडेलका घोषणा कार्यान्वयको शुष्म अध्ययन गरी प्रश्‍न तेर्साउने निधोमा उनी पुगेका छन्। यस अन्तर्वार्तामा उनले मुख्यमन्त्रीसँगको तनावको पृष्ठभूमि र भावी योजनाबारे विस्तृतमा खुलाएका छन्।

मन्त्रीबाट तपाईँ हट्नको कारण ?
मेरो काम गराईको शैली, खटाई र राजधानी सार्ने धारणले नै मलाई मन्त्रीबाट हटाइएको हो। अर्को उहाँलाई म प्रति भय उत्पन्न भएकाले पनि हो। म काम गर्ने मान्छे । थुप्रै योजना बनिसकेका थिए। यस्तो बेला मलाई पदबाट हटाइएला भन्ने लागेको थिएन। तर हटाइयो। हटाइएपछि यसको अनुसन्धान जारी छ। तर आजसम्म मलाई त्यसबारे आधिकारिक जानकारी वा पत्र दिइएको छैन। मुख्यमन्त्रीले सार्वजनिकरुपमा जथाभावी बोलेर हिँड्न हुने रे अनि मलै के गल्ती गरे भन्न नहुने ? यो कति लज्जास्पद छ?

मुख्यमन्त्री र तपाईँबीच तनाव कसरी उत्पन्‍न भयो ?
मुख्यमन्त्रीले मलाई असक्षम भएको आरोप लगाउनु भयो। म जति सक्षम को होला? मन्त्री भएपछि यस प्रदेशका १२ वटा जिल्ला पुगेर गहिरो अध्ययन गरिसकेको थिएँ। मन्त्रीपरिषद् बैठकको दिन दिउँसो २ घण्टा हाम्रो एक्लै छलफल भयो। मकवानपुर जोड्ने सडक र हेटौडा बजारमा ४० वर्ष देखि अड्किएको एसियन हाइवेबारे छलफल भयो। त्यसको निकास कसरी निकाल्ने भन्ने निष्कर्षमा पनि हामी पुगेका थियौँ।

पुस १ गते पार्टी अध्यक्षलाई डाकौँ, मकवानपुर समिट गरौँ र आफ्नो घर आफै भत्काउँ भने। जनता पनि तयार थिए। उहाँ पनि तयार हुनु भयो। २७ अर्वको कुरा गर्दै थिए। ती योजना आश्चार्यजनक थिए। बजेटमा भएको १३ अर्ब मध्ये दुई अर्ब एसियाली बैंक र विश्व बैंकले दिएको छ। यो सालको खर्च सीमा ११ अर्ब। एक खर्बको काम गर्ने योजना थियो मेरो। यो सरकार नमुना बनाउने योजना थियो। अन्त खर्च नभएको यहाँ खर्च गरौँ भनेको थिएँ।

तपाईँको काम कागजमा सीमित भयो भन्ने आरोप छ ?
त्यो बेला काम गर्न सकिने नै त्यही थियो। दसैँको सात दिन अघि मात्रै हाम्रो संगठन बन्यो। मन्त्रालयमा कर्मचारी आइसकेका थिएनन्। ऐनहरु बनेका थिएनन्। त्यो काम गर्ने जिम्मेवारी त मुख्यमन्त्रीको हैन र ? ऐन निर्माणमा मध्यस्थता गर्ने काम त उहाँको हो? सहकार्य पो मैले गर्ने हो। अरु मन्त्रालयको एक रुपैयाँ खर्च भएको छैन। मेरो मन्त्रालयको २७ अर्ब त म्याट्रिक फर्ममै दिएको थिएँ। आजको मितीसम्म साढे चार अर्वको टेन्डर हुन्थ्यो। त्यो मध्ये यो साल खर्च हुने ११ अर्ब पुगेन भनेको थिएँ।

तपाईँ नै मुख्यमन्त्री पौडेललाई हटाउन लागेको भन्ने आरोप छ ?
यो गलत हो। उहाँलाई मसँग नै भय उत्पन्न भएको हो। उहाँको मनमा पाप रहेछ। प्रदेश तीनको मुख्य मन्त्रीको चुनाव अघि अध्यक्षले नै परिबन्धले तपाईँलाई मुख्यमन्त्री बनाउनु पर्‍यो भन्नु भयो डोरमणिलाई। तपाईँको योग्यता, क्षमता र माग भन्दा पद ठूलो छ समेत भयो भन्नु भएको थियो अध्यक्षले उहाँलाई। मलाई भौतिक पूर्वाधार मन्त्री बनाउने निर्णय गर्नु भयो। जुन वरिष्ठमन्त्री थियो मन्त्रीपरिषद्को।

मलाई मेरो योग्यता, क्षमता र माग भन्दा तीन हात तलको पद दिएको छु भन्नु भएको थियो अध्यक्षले। अध्यक्षले तपाईँको उमेर कति भयो भनी सोध्दा डोरमणिजीले दुई वर्ष घटाएर ७२ भन्ने जवाफ दिनुभयो। अब एक डेढ वर्ष तपार्इँ मुख्यमन्त्री हुने र बाँकी समय भजनकिर्तन गर्ने अनि तिर्थयात्रामा बिताउने आदेश डोरमणिलाई दिनुभयो। त्यसपछि मलाई नै मुख्यमन्त्री हुने भन्नु भएको थियो। त्यही आदेशलाई टेकेर म जिल्ला लागे। तर मैले नेतृत्वले भने पनि मुख्यमन्त्रीका लागि सोचेको थिएन। भौतिकमै कसरी राम्रो काम गर्ने भन्नेमै केन्द्रित थिएँ। तर उहाँलाई एक वर्ष नहुँदै भय भयो मप्रति।

राजधानी सार्ने विषयमा किन त्यत्रो विवाद ?
राजधानी सार्ने विषयमा मुख्यमन्त्रीसँग विवाद भएकै हो। उहाँले मकवानपुर भनिरहनु भयो। मैले काभ्रे भनेँ। यो विवाद अध्यक्षसमक्ष समेत पुग्यो।

किन ?
रणनीतिकरुपमा काभ्रेलाई नै प्रदेश तीनको राजधानी बनाउन ठीक छ। हेटौँडा जान रसुवादेखि आउनु पर्छ। कति दुःख होला जनतालाई ? लगभग ७० लाख जनता बस्ने ठाउँ छोडेर डेढ लाख मानिस बस्ने ठाउँ हेटौँडालाई राजधानी बनाउन मिल्छ। सिंहदरबारलाई गाउँगाउँमा पुर्‍याउने भन्ने अनि जनतालाई अपायक ठाउँ कुनोलाई राजधानी बनाउने ? तर प्रधानमन्त्रीले प्रदेशसभाको विषयलाई लिएरै तिमीहरु किन विवाद गछौँ भनेपछि म चुप लागेको थिएँ। तर मुख्यमन्त्री एउटा सिमित समूहमा बस्ने र उनीहरुको मात्र कुरा सुन्ने गर्नु हुन्छ। आफ्नै मन्त्रीका कुरा नसुने अरु कसको सुन्न त उहाँले। केहीसिप नलागेपछि मैले अब विवाद नगरौँ भने। काम गरौँ तपाई पाँच वर्षका लागि मुख्यमन्त्री मैले भने। अनि उहाँ उज्यालो हुनु भयो।

बैठकमा वास्तवमा भएको के थियो त ?
मेरो चीन जाने कार्यक्रम थियो। मन्त्रीपरिषद् बैठकमा आउन सक्दिन भने। तर उहाँले तपार्इँ जसरी पनि आउनु पर्छ भन्नु भयो सबै मन्त्रीहरु आगो भएका छन् भन्दै। बैठकमा आएँ। बैठक ढिलोसम्म चल्यो। म निस्कन्छु भने तर हातको इसराले हुन्न भनिरहनु भयो। अन्तमा उहाँले केशवजीले केही कुरा राख्ने हो भन्नु भयो। मैले पनि हो भनिदिए। मैले मसँग तपार्इँहरु आगो हुनु भएको छ रे हो भनेर मन्त्रीहरुलाई सोधे। कुनै पनि मन्त्रीहरु बोल्नु भएन। मैले मुख्यमन्त्रीलाई मलाई किन ढाँटेको हो भने। उहाँले तपाईँको ‘जेरो परफरेन्स’ भन्नु भयो।

मसँग योजनासहितको खाका साथै थियो। मैले त्यो पढ्नुहोस भने। उहाँले मैले किन पढ्ने भन्नु भयो? मैले तपाईको आँखामा फुलो परेको छ र नपढ्ने भने। तपाईँ नहुने आरोप लगाउनु हुन्छ। मैले तपाईँको कान फुक्ने को हो भने। मुख्यमन्त्रीको कान फुख्ने त हामी नै हुनुपर्ने हो नि। राजधानी सार्न जिल्ला किन ढुलेको भन्नुभयो। मैले तपाईँको चेतना हेटौँडा भन्दा माथि नगएको फेरी प्रमाणित भयो भने। तपाईँ दलाई लामा नहुनुहोस है भने। चित्त नबुझे अध्यक्षसमक्ष जाऔँ भने। त्यो बेला एकअर्काप्रति औँला उठाउने वातवरण बनेको पक्कै हो।

तपाईँले किन जथाभावी बोलेको ?
मैले जथाभावी बोलेको छैन। मुख्यमन्त्री र मैले बोलेको विषयमा स्वतन्त्र छानविन आयोग गठन गरौँ भनेको छु। अर्को, आन्तरिक विवाद थियो। लिखित राजिनामा माग्न सकिन्थ्यो। संसदीय दलमा भन्न सकिन्थ्यो। प्रदेश कमिटिमा यो विषय प्रवेश हुन सक्थ्यो। उहाँ त एक्कासी केशव स्थापितको पद खोस्न जाँदैछु भनेर हल्ला गर्दै काठमाडौँ आउनु भयो।

पार्टीको आन्तरिक कुरा बाहिर ल्याउन मिल्छ त त्यस्तो पदमा रहेको व्यक्तिले? प्रधानमन्त्री बिरामी भएर बोल्न नसकेको अवस्थामा आफ्नो पक्ष प्रस्तुत गर्न मिल्छ ? प्रधानमन्त्रीलाई खुसुक्क मेल पठाउन सकिन्थ्यो नी घटनाबारे। अध्यक्ष केपी ओलीले मलाई हामी आन्द्रा गाँसिएको मान्छे हौ मलाई सघाउनु पर्‍यो भनेको मान्छु हुँ म। उहाँले मलाई प्रतिनिधिसभामा उठ भौतिकपूर्वाधार मन्त्री बन भन्नु भएको थियो। मैले अहिले म प्रदेशमै गएर राम्रो काम गर्छु भने।

किन ?
सर्वत्र विकास गर्नु भन्दा एउटा प्रदेशको विकास गर्न सकेमा त्यसको सिको अरुले गर्छन् भन्ने मलाई लाग्छ। मैले यातायात सम्बन्धी एउटा विधेयक तयार पारेको थियो। जुन नमुना भनेर सबैमा जान्छ। त्यो यति सुन्दर भएको थियो कि विधेयकका लागि ३२ वटा बैठक डाकेको थिएँ।

मुख्यमन्त्रीले प्रदेश सरकारको क्षेत्राधिकार बाहिर गई विदेशी दातृ निकायहरुसँग काम गरिरहनु भएको आशयसहितको आरोप किन लगाएको हो ?
त्यो वास्तविक नै हो। आरोप होइन। मैले उहाँलाई सम्झाएको पनि हो। यसो नगर्नुहोस् भनेर। तर उहाँ धेरै नै अटेरी खालको मानिस रहेछ। मन्त्री हुञ्जेल म चुप लागेको। यो कुरा मैले नै बाहिर ल्याएको हो। अहिले कार्यालय बन्द भयो रे। तर उहाँमाथि अनुसन्धान हुनेछ। हामीले विदेशी संघसंस्थासँग काम गर्दा परराष्ट्रको स्वीकृति लिनु पर्दैन? आर्थिक सहयोग लिने दिने विषय पहिले हाम्रो मन्त्रीपरिषद् बैठकमा आउनु पर्दैन? अर्थ मन्त्रालयलाई थाहा हुनु पर्दैन ? यस्तो अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनु पर्छ। जथाभावी गर्न मिल्छ? यो उमेरमा यति धेरै आरोप हामीले त्यसै लगाएको छैन। मैले अनावश्यक बोल्दा पार्टीलाई पनि चोट पुग्छ नि। तर सत्य त बोल्नु पर्‍यो। अहिले पुँजीगत खर्च एक प्रतिशत पनि भएको छैन। प्रथम चौमासिक गइसक्यो।

बर्खास्तीपछि नेतृत्वसँग छलफल भयो?
खुट्टा भाँचिएर म आराम गरिरहेका बेला ओली कमरेडले बोलाएर तिम्रो आवश्यकता पर्‍यो पार्टी प्रवेश गर भन्नु भएको थियो। मैले हुँदैन भनेँ। तर उहाँले म पूर्णरुपमा तिम्रो संरक्षण गर्छु भन्नु भएको थियो। उहाँकै कारण भोलिपल्ट म पार्टी प्रवेश गरे। उहाँ बिरामी भएका बेला म च्याँठिन हुन्छ र ? यो बेला उहाँले तान्डव देखाउँनु हुन्छ र ? त्यो त परिस्थितीले देखाउँछ नी। मेरो नेतृत्वले मलाई सँधै हेरेको हुन्न र ? बीचमा एकदुई पटक फोन गरेर समय मागेको हो। उहाँले उताबाट आएको कुरा मैले राम्ररी सुनेको पनि छैन। अहिले म धेरै बोल्न सक्ने परिस्थिति पनि छैन। अनकुल भएपछि बसौँ भन्नु भयो। म नेतृत्वले नडाकी जान्न। मलाई सिकाएको नै यही हो। मैले तथ्य प्रस्तुत गर्ने समय आउँछ। म कराउन जाने होइन। मैले जे गर्न खोजेको थिए त्यसबारे जानकारी त उहाँले पाइसक्नु भयो होला।

कुनै पछुतो छैन ?
छैन। म ध्यान गर्ने मान्छे हुँ। कम्तिमा मेरो मुख्य मन्त्रीले गाली त दिए। मेलै केही राम्रो गर्न खोजेको थिए त्यसैले। त्यो स्वीकार्य भएन भन्ने बुझेको थिए। कार्टुन कसको बन्छ ? योग्य मानिसको मात्रै बन्छ। म योग्य थिए त्यसैले मेरो आलोचना गरियो। बिस्तारै सबै तथ्य बाहिर आउँछ। एकदमै हस्याङफस्याङ गर्न जरुरी छैन।

धैर्यसाथ प्रतिक्षामा हुनुहुन्छ ?
पक्कै पनि। म योग र ध्यान गर्ने मानिस। अनुसन्धान गर्ने मानिस। अब रसुवा जाँदै छु। हाइड्रोपाओरबारे बेल्जियमको टोलीको प्रविधिबारे अनुभव बटुल्न त्यहाँ जान लागेको हो। ढुंगा बिक्रीबारे पनि अनुसन्धान गर्दैछु।

राजनीति कसरी अघि बढ्छ ?
म पहिले मेयर थिएँ। पदेशसभाको मन्त्री पनि भएँ। अहिले कुनै पदमा छैन। सबै ढोका खुल्ला भयो। मन्त्रीपरिषद् बैठकमा बसेर केही बोल्न हुँदैन थियो। अब त बोल्न पाउने छु। मेरो मुख्य मन्त्रीले यो साल औधोगिक वर्ष भन्नु भएको थियो। एउटा उद्योगमा उ पनि भएको छैन। अव त मैले सांसदका हिसावमा आवाज उठाउन पाउने भएँ नि। प्रदेशका जनतामा खुशी र हाँसो ल्याउँछु भनेको खै त ? अब म त्यसको हिसाबकिताव खोज्छु।

यो साल फलफुल वर्ष घोषणा गर्नु भयो उहाँले। रुख रोप्ने भन्नु भयो। तर उहाँले एउटा पनि रुख रोप्नु भएन। मैले विशेषज्ञ टोली लैजाने उहाँ हेरेर बस्ने यस्तो पनि हुन्छ त ? यो साल ५० लाख रुख रोपेको भए हामी कहाँ पुग्‍ने थियौँ होला। केही बालौँ आफ्नै मुख्यमन्त्री र पार्टी विरुद्ध बोलेको भन्ने आरोप लाग्थ्यो। अब त्यस्तो आरोप लाग्ने छैन। अब त हात थापेर माग्छु खै रुख? फलफूल खै।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्