सुझाव संकलन गर्न कांग्रेस नेताहरु विराटनगरमा

ओलीविरुद्ध खनिए देउवा र शेखर कोइराला, भने, ‘अन्तिम लडाइँ लड्ने समय आयो’

फाइल तस्बिर

विराटनगर – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अधिनायकवादतर्फ उन्मुख भइरहेको वर्तमान कम्युनिष्ट सरकारबाट देशलाई मुक्त गर्नुपर्ने बताएका छन्।

विराटनगरमा मंगलबार आयोजित आगामी महासमिति बैठकका लागि आयोजित प्रदेश नम्बर एकस्तरीय सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले न्यायालयमा गरेको हस्तक्षेप, पुलिसमा हस्तक्षेप गरेको सरकारले अब सेनामाथि हस्तक्षेप गर्ने जिकिर गरेका छन्।

देउवाले अधिनायकवादतर्फ उन्मुख हुँदै गएको दाबी गरे। विगत २००७ सालमा राणाविरुद्ध, त्यसपछि पञ्चायतविरुद्ध र अब कम्युनिष्ट शासनविरुद्ध प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले अन्तिम लडाइँ लड्नुपर्ने समय आएको देउवाको कथन थियो।

देउवाले भने, ‘कम्युनिष्ट सरकारबाट देशलाई मुक्त पार्न सबै कांग्रेसीहरु एक हुनुपर्ने आवश्यकता छ र पार्टीलाई पूर्ण प्रजातान्त्रिक पार्टी बनाएर अघि बढ्नुपर्छ।’

निर्मला हत्या प्रकरणमा सरकारको आलोचना


कांग्रेस सभापति देउवाले सरकारको आलोचनामै निकै समय खर्चिए। उनले कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न नसक्नु लज्जास्पद भएको बताए।

देउवाले भने, ‘सरकारले नै अपराधलाई संरक्षण गर्दै आएको छ, नत्र निर्मला पन्तको हत्यारालाई अझैसम्म पक्राउ गरी कारबाही गर्न नसक्नु आफैँमा सोचनीय विषय बन्दै गएको छ।’

घटना दबाउन खोजिरहेको बताएका सभापति देउवाले दोषीलाई सरकारले नै लुकाउन खोजिरहेको आरोप लगाए। उनले भने, ‘सरकार घटना दबाउन पूर्णरुपमा लागि परेको छ।’

सुझाव संकलन कार्यक्रममा सभापति देउवाले स्थानीय, प्रदेश, तथा प्रतिनिधिसभा निर्वाचनमा भएका अन्तरघातको हिसाबकिताव हुने बताए। उनले त्यस्ता घटनामा संलग्नहरुमा माथि कारबाही हुने स्पष्ट पारे।

ओली शक्तिको भोकोः कोइराला


कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको भोको भएको आरोप लगाएका छन्।

‘प्रधानमन्त्री ओलीलाई राष्ट्रिय अनुसन्धान विभाग, राजस्व विभाग, गैह्र सरकारी निकायको सुपरिवेक्षणको जिम्मेवारी सबै आवश्यक रहेछ,’ उनले भने।

कोइरालाले ओली आफ्नै मन्त्रिपरिषदबाट विश्वस्त हुन नसकेको बताएका छन्। ‘उहाँ (ओली) राष्ट्रिय शक्ति खलबलाउने प्रयासमा रहनुभएको छ,’ कोइरालाले भने।

देशमा न्यायापालिका निरीह भएको सम्झाउँदै नेता कोइरालाले सञ्चार क्षेत्रलाई कुण्ठित गरेकोमा आपत्ति प्रकट गरे।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं मस्यौदा सुझाव समिति सदस्य ज्ञानेन्द्र कार्की, केन्द्रीय सदस्य अमृत अर्याल उपस्थित थिए।

त्यसैगरी, एकदिने कार्यक्रममा प्रदेश एकका महासमिति सदस्य, क्षेत्रिय सभापति तथा जिल्ला सभापति गरी २ सय ५० जनाको उपस्थिति रहेको थियो।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्