पैगम्बर मोहम्मदको जन्मोत्सवमा प्रदेश–२ मा सार्वजनिक बिदा

जनकपुरधाम – प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीहरुको प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सवमा मंसिर ५ गते सार्वजनिक बिदाको घोषणा गरेको छ।

मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्मदिन परेकाले सरकारले प्रदेश २ मा बिदा दिएको हो। वि.सं. २०७४ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार मंसिर ५ गते सार्वजनिक बिदा दिइएको जनाइएको छ।

प्रदेश २ का आठवटै जिल्लामा उक्त दिवसको अवसरमा प्रदेश सरकारले बुधबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

प्रदेश सरकारको यस निर्णयले मुस्लिम धर्माबलम्बीहरुले खुशी भएको प्रतिक्रिया दिएका छन्। यस्तै, केही स्थानीय मुस्लिम युवाहरुले सरकारलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्