उत्तर प्रदेशका मुख्यमन्त्री योगीले जनकपुर–जयनगर रेल उद्घाटन गर्ने

जनकपुर–जयनगर रेलमार्ग।

जनकपुरधाम – रामजानकी विवाह महोत्सवको अवसरमा भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि आगामी मंसिर २६ गते योगी जनकपुर आउन लागेका हुन्। प्रधानमन्त्री मोदी जनकपुर–जयनगर ब्रोडगेज रेल उद्घाटन गर्न जनकपुर आउने चर्चा थियो।

मोदीको जनकपुर भ्रमण रद्द भएपछि अब उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेलखण्डको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

भारतको आर्थिक सहयोगमा निर्माण गरिएको जनकपुर–जयनगर ब्रोडगेज रेल योगीले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जनाएका छन्।

‘जनकपुर–जयनगर रेल खण्ड तयारी अवस्थामा छ,’ कानुनमन्त्री यादवले भने, ‘अहिलेसम्म तय कार्यक्रम अनुसार उहाँको रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। पछि के हुन्छ भन्न सकिन्न।’

योगीको जनकपुर भ्रमणको नेतृत्व स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले गरिरहेको बताउँदै कानुनमन्त्री यादवले रेल उद्घाटनको कार्यक्रम लगभग तय रहेपनि उद्घाटनस्थलबारे टुंगो लाग्न नसकेको बताए।

उनले योगीले रेलसेवा उद्घाटन गर्ने तय भइसकेकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर उद्घाटनस्थलबारे निर्णय लिने जनाएका छन्।

रामजानकी विवाहोत्सवमा सहभागी हुन आउने मुख्यमन्त्री योगीलाई रात्रीभोजको व्यवस्था गर्ने तयारी गरेको मन्त्री यादवले बताएका छन्।

रामजानकी विवाहोत्सवको अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर आउने साधुसन्तलाई प्रदेश सरकारले दिवाभोजको व्यवस्था गर्ने तयारी रहेको उनले बताएका छन्।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्