चिनियाँ व्यवसायी पोखराको पर्यटनमा लगानी गर्न इच्छुक

पोखरा – पोखराको पर्यटनमा लगानी गर्न चिनियाँ व्यवसायीहरुले चासो देखाएका छन्। पोखरा भ्रमणमा आएका आइकाओ शहरका व्यवसायीको टिमले पोखरा महानगरका उपमेयरसँगको भेटमा पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधिक शिक्षा, स्वास्थ्यमा सहकार्य गर्न इच्छुक रहेको बताएका हुन्।

पोखरा भ्रमणकै क्रममा चीनको हाइनान प्रान्तको आइकाओ नगरपालिकाको चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका भाइस उपाध्यक्ष चेनहोङ लिङ नेतृत्वको ११ जनाको व्यवसायीको टोलीले उपप्रमुख मञ्जुदेवी गुरुङसँग मंगलबार भेट गरेका हुन्।

भेटमा उनीहरुले पोखरा व्यवसाय लागि उपयुक्त स्थान भएको भन्दै लगानी गर्न इच्छुक रहेको बताएका हुन्। चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङले भने, ‘पोखरा पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न हामी इच्छुक छौँ, त्यसका लागि लगानीको वातावरण चाहन्छौँ।’

उनले अहिले नेपालमा स्थिर सरकार बनेको र स्थानीय तहमा जनप्रतिनिधि आएकाले लगानीको वातावरण बन्दै गएको धारणा राख्दै आफ्नो नेतृत्वको टिम नेपालको कुनै क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारे अध्ययन गर्न आएको बताए।

उनले पोखराको उत्पादन हाइकाओमा लगेर बेच्न सकिने बताउँदै त्यसका लागि सहयोग गर्न तयार रहेको बताए। दुवै शहरका स्थानीय उत्पादनहरुको आदान प्रदान गरेर बजारीकरण गर्न सकिने उनको भनाई थियो।

उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा विश्वकै उत्कृष्ट गन्तब्यभित्र पर्ने भएकाले यहाँको पर्यटन विकासको क्षेत्रमा लागानी गर्न सकिने बताइन्।

उनले हाइकाओसँग व्यापारीक सम्बन्ध कायम गर्न तयार रहेको बताउँदै पर्यटन र कृषिको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको औल्याइन्। उनले भनिन्, ‘पोखरा पर्यटनको केन्द्र हो, लगानीका लागि वातावरण निर्माण गर्न महानगर तयार छ।’

पोखरा भ्रमणमा रहेका चिनियाँ टोलीलाई उपप्रमुख गुरुङले ढाकाटोपी लगाएर स्वागत गरेकी थिइन्। साताअघि मात्रै पोखरा महानगर र हाइकाओबीच भगिनी सम्बन्ध स्थापना भएको थियो।

पोखरामा पछिल्लो समय इपिन शहर, हाइनान प्रदेशका उपाध्यक्ष, हाइनान प्रान्तको हाइकाओ नगरपालिकाका उपप्रमुख झाङलीसहित त्यहाँका व्यवसायीहरुले भ्रमण गरेका छन्।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्