पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

शक्तिशाली युवराजको बचाउमा लागे ट्रम्प, उभिए साउदीसँगको सहकार्यको पक्षमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको सहकार्यको स्पष्ट रुपमा बचाउ गरेका छन् ।

पत्रकार जमाल खाशोग्गीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढी रहेका बेला ट्रम्पले साउदी अरेबियासँग अमेरिकी सहकार्यको बचाउ गरेका हुन् र सम्बन्धको पक्षमा उभिएका हुन् ।

साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । हत्यामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।

तर विभिन्न अनुसन्धानमा हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको दाबीसहितका खबर आएका छन् ।

तर साउदी अरेबियाले भने त्यसको स्पष्ट रुपमा खण्डन गरेको छ र खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राजपरिवारका कुनै पनि सदस्यको कुनै पनि रुपमा संलग्नता नरहेको बताएको छ ।

खाशोग्गी हत्या प्रकरणको ढाकछोपमा साउदी अरेबिया लागेको र त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि साथ दिइरहेको आरोप लाग्दै आएका बेला ट्रम्पले वक्तव्य जारी गरेर साउदी अरेबिया अमेरिकाको ‘दृढ सहयात्री’ रहेको बताएका हुन् । साउदी अरेबियाले अमेरिकामा ठूलो रकम लगानी गर्ने सहमति गरेको छ ।

ट्रम्पले क्राउन प्रिन्स एमबिएसको बचाउ पनि गरेका छन् । ट्रम्पले जारी गरेको वक्तव्यमा एमबिएसको स्पष्ट रुपमा बचाउ गरेका छन् भने साउदीले भने जस्तै हत्या भएका पत्रकार खाशोग्गी ‘देशको शत्रु’ रहेको पनि उल्लेख गरेका छन् । खाशोग्गीको हत्यामा कुनै पनि हिसाबले क्राउन प्रिन्स एमबिएसको संलग्नता नदेखिने पनि ट्रम्पले वक्तव्यमा उल्लेख गरेका छन् ।

खाशोग्गीको हत्यासँग जोडिएका सबै तथ्यहरु आफहरुलाई थाहा नभएको र जस्तोसुकै अवस्थामा पनि साउदी अरेबियासँगको सहकार्य बलियो रहने ट्रम्पको भनाई छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।

सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।

दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।

मंसिर ५, २०७५ मा प्रकाशित