संकटमा यमनको भविष्य

रुन पनि सक्दैनन् मर्दै गरेका सन्तान, टुलुटुलु हेर्न बाध्य अभिभावक

यमनमा जारी हिंसाको मारमा सबैभन्दा बढी बालबालिका परेका छन् । धेरै बालबालिका पर्याप्त मात्रामा खान नपाएर ज्यान गुमाउन बाध्य भएका छन् ।

तीन वर्षदेखि जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालबालिकाको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।

गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

यमनमा जारी हिंसाले निकै खराब मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघसहितका संस्थाले बताएका छन् । जारी हिंसा अन्त्य गर्न प्रयास भइरहेको छ, तर अहिलेसम्म सफल हुन सकेको छैन ।

हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ । हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा तीन वर्षदेखि जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८०० सर्वसाधारणको ज्यान गएको छ ।

यस्तै १० हजार ७०० भन्दा बढी घाइते भएका छन् । हिंसा तथा गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ ।

यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ । यस्तै हैजको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन् ।

यमनमा भएको हिंसाका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक लिन अप्ठ्यारो छ । हिंसासँग जोडिएका धेरै मृत्युहरुको तथ्यांक नै नरहेको सहयोगी संस्थाहरुले बताएका छन् ।

यसको प्रमुख कारण देशका आधा मात्रै स्वास्थ्य संस्था अहिले सेवा दिन सक्ने अवस्थामा छन् । यस्तै धेरै मानिससँग अस्पताल जान चाहिने पैसा पनि छैन ।

संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा आफूहरुले गरेको अध्ययनमा पाँच वर्षमुनिका ८४ हजार ७०० बालबालिकाको सन् २०१५ को अप्रिलदेखि २०१८ को अक्टोबरसम्म कुपोषणका कारण ज्यान गएको छ।

युद्धका कारण यमनी मुद्राको मूल्य घट्नु र खाद्यान्नको मूल्य बढ्दै जानुले धेरै परिवार भोकमरीको जोखिममा आएका छन् । यस्तै गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरिरहेको नाकाबन्दीले थप मानिसलाई भोकमरीको खतराको दायरामा ल्याएको छ । गठबन्धन सेनाले यमनको हुदैदाह क्षेत्रमा नाकाबन्दी गरेको छ ।

यो क्षेत्र यमनको ‘लाइफ–लाइन’ को रुपमा रहेको छ र यहिबाटो हुँदै ९० प्रतिशत भन्दा बढी खाद्यान्नसहितका आवश्यक सामग्री आयात हुने गरेको छ । यो क्षेत्रबाट २२ लाख बालबालिकासहित ४४ लाख मानिसलाई पुग्ने खाद्यान्नको आयात बन्द भएको छ ।

यदी कुपोषणको समयमै उपचार भएन भने २०–३० प्रतिशत बालबालिकाको हरेक वर्ष ज्यान जाने विज्ञले बताएका छन् । सेभ द चिल्ड्रेन यमनका निर्देशक तामेर किरोलोसले भने, ‘बालबालिकाहरु बम तथा गोलीले मरेका छन्, उनीहरुसहित अरु धेरै भोकले मरेका छन् । भोकले मरेकाहरुको ज्यान जोगाउन सकिने थियो ।’

कुपोषणका कारण मृत्यु हुने बालबालिकाको शरीरका मूख्य अंगले काम गर्न छोड्ने र अन्ततः मृत्यु हुने गरेको छ । कुपोषित बालबालिकाको प्रतिरोधात्मक क्षमता निकै कमजोर रहेको छ । उनीहरु रुन पनि नसक्ने अवस्थामा छन् । अभिभावकहरु आफ्ना सन्तान कष्टले मर्दै गरेको टुलुटुलु हेरेर बस्न बाध्य छन् ।

यस्तै पछिल्लो हप्ता कडा पारिँदै गएको प्रतिबन्धका कारण हुदैदाहमा एक लाख ५० हजार भन्दा बढी मानिसको ज्यान जोखिममा परेको भन्दै सेभ द चिल्ड्रेन चिन्ता व्यक्त गरेको छ । बालबालिकाहरु भत्किएका संरचना र फोहोरका थुप्राहरुमा खानाको खोजिगरिरहेका भेटिन्छन् ।

तस्बिर : रोयटर्स र एएफपी

मंसिर ५, २०७५ मा प्रकाशित