हत्‍या विरोधमा स्थानीयको आक्रोस

फिदा हुसेन हत्‍याको विरोधमा दुहबी बजार बन्द, सीमा नाकामा कडाइ

फिदा हुसेनको हत्‍याराको विरोधमा बुधबार दिउँसो टायर बालेर प्रदर्शन गर्दै स्थानीय।स्थानीयले दुहबी बजार बन्द बन्द गराएका छन्।तस्बिर-अभय कुमार राई/ देश सञ्‍चार

सुनसरी- सुनसरीको दुहबी-९ का फिदा हुसेनको गोली हानी हत्या गरेको विषयलाई लिएर दुहबी क्षेत्र तनावग्रतस्त बनेको छ।

हुसेनको अज्ञात समूहले हत्या गरेको बिषयलाई लिएर दोषिलाई पक्राउ गरी कारवाहीको माग गर्दै स्थानीयले दुहबी बजार बन्द गराएका छन्।

हुसैनका आफन्त र स्थानीयले सुनसरीको खनार बजारदेखि नेमुवासम्म सवारी आवागमन अवरुद्ध गरेका छन्।

आक्रोसित स्थानीयबासीहरुले सोनापुर, दुहबी लगायतका क्षेत्रमा प्रर्दशन गरेका छन्।

मुस्लिम समुदायले बारम्बार मुश्लिम समुदायमाथि आक्रमण भैरहेको भन्दै सरकार समक्ष शान्ति सुरक्षाको ग्यारेण्टीको माग गरेका छन्।

प्रर्दशनकारीले दुहबी बजारमा रहेका स्थानीय औषधी पसलहरु समेत तोडफोड गरेका छन्।

सुरक्षा निकायको काम फितलो भएको र हत्यारामाथि कार्बाहीको माग गर्दै स्थानीय दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

त्यसैगरी, मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समूदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन्।

फिदा हुसैनको बुधबार विहान मर्निङ वाकका क्रममा छातावेलीमा अज्ञात समूहले चलाएको गोली लागी मृत्यु भएको थियो।

पारिवारिक सदस्यका अनुसार हुसेनको छातीमा दुई गोली लागेको छ। घटनास्थलमा भने गोलीका ३ वटा खोका फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको बताएको सुनसरी प्रहरीले घटना मुचुल्काको क्रममा रहेको र अनुसन्धान जारी रहेकाले पूर्ण विवरण आइनसकेको उल्लेख गरेको छ।

जय बाबा इँटा उद्योगका म्यानेजर हुसेनमाथि उद्योग अघिको नहरको डिलमा हिंड्दै गरेको अवस्थामा दुइ अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गोली लागेपछि हल्ला गरेका हुसेनलाई स्थानीयले तत्कालै उपचारकालागि न्यूरो अस्पताल बिराटनगर पुर्‍याएका थिए।

अस्पतालका निर्देशक रन्जीत बस्नेतका अनुसार, फिदालाई अस्पताल ल्याउने क्रममा मृत्यु भइसकेको थियो। त्यसपछि मृतकका २०/२५ जना आक्रोशित आफन्तले अस्पतालको सुरक्षाकर्मीमाथि दुब्र्यव्यवहार गर्दै शव लगेको थिए।

मुस्लिम समुदायले घटनाबारे दु:ख ब्यक्त गर्दै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन्। यसअघि सुनसरीको भुटाहामा खुर्शिद आलमको समेत गोली हानी हत्या भएको थियो।

छाताबेलीको घटना पश्चात सुनसरीका सीमा नाकामा कडाई गरिएको छ। चोक तथा नाकाहरुमा समेत बाक्लो सुरक्षा तैनाथी बढाइएको छ।

मंसिर ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्