भक्तपुरको सल्लाघारीमा तीनदिने निर्माण उपकरण सामग्री प्रदर्शनी हुने

काठमाडौं- भारतीय दूतावास काठमाडौँले भारतीय उद्योग महासंघ सँगको सहकार्यमा २०७५ मंसिर ६ देखि ८ सम्म भक्तपुरस्थित सल्लाघारीको खुल्ला मैदानमा तीन दिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी -ConMac २०१८ को आयोजना गर्दैछ।

उक्त प्रदर्शनीमा जेसीबी, एल एण्ड टी, हुण्डा, क्‍याटरपिलर, टाटा, हिट्याची जस्ता ठूला कम्पनीहरु सहित भारतका १५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गर्नेछन्।

करीब २ लाख वर्ग फिटभन्दा बढी क्षेत्रमा हुने यो प्रदर्शनी नेपालको सबै भन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने विश्वास गरिएको छ। चार हजारभन्दा बढी व्यापारीहरुले यस प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ।

नेपालका सम्माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले यस कार्यक्रमको उद्घाटन गर्नेछन्। नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पूरी विशेष आतिथ्‍यमा हुने उक्त प्रर्दशनीमा भारत तथा नेपालका निर्माण व्यवसायका अगुवा, व्यापारिक संघसंस्थाहरु तथा नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उक्त कार्यक्रममा उपस्थिति रहने छ।

मंसिर ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्