कर्णालीमा सधैँ खाद्य संकट

हुम्लीलाई चामलकै चिन्ता, पाँच किलोमै महिना गुजार्न बाध्य

चालक बोकेका कर्णालीका महिला। फाइल तस्बिर

सुर्खेत – हिमाली जिल्ला हुम्लाका सर्वसाधारणले पर्याप्त चामल पाउन सकेका छैनन्। समयमा ढुवानी हुन नसक्दा हुम्लाबासीले पर्याप्त चामल पाउन नसकेका हुन्।

नेपाल खाद्य संस्थान हुम्लाले साउनदेखि चामल उपलब्ध गराउन सकेको छैन। सर्वसाधारणलाई सस्तो मूल्यमा चामल उपलब्ध गराउँदै आएको संस्थाले दसैँमा प्रतिपरिवार ५–५ केजी चामल वितरण गरेको थियो।

वर्षेनी चामल अभाव झेल्दै आएका हुम्लीलाई स्थानीय प्रशासनले महिना दिनका लागि प्रतिव्यक्ति ५ केजी मात्रै चामल दिने मापदण्ड बनाएको छ।

‘स्थानीय सरकारले रासन कार्ड बनाउँदा नै परिवार संख्या खुलाइएको हुन्छ,’ नेपाल खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर बिष्टले भने, ‘रासन कार्डलाई आधार बनाएर प्रतिव्यक्ति मासिक पाँच केजी चामल वितरण गर्दै आएका छौँ।’

त्यही पाँच केजी चामल हुम्लीले पाँच महिनापछि पाउने भएका छन्। खाद्य संस्थानले शुक्रबार चामल वितरण गर्ने तयारी गरेको छ। पर्याप्त चामल नभएपनि तत्कालीन समस्या समाधानका लागि संस्थाले चामल वितरण गर्ने भएको हो।

हाल खाद्य संस्थानसँग ८ सय ८० क्वीटल चामल छ। संस्थानसँग चामल बढेपछि वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको छ। नियमित उपभोक्तालाई चामल लिन रासन कार्डसहित उपस्थित हुन भनिएको छ।

चामल ढुवानी हुन थालेपछि वितरण गर्न लागिएको प्रमुख बिष्टले बताए। ‘चामल ढुवानी नभएपछि संस्थानले जनताको आवश्यकताअनुसार उपलब्ध गराउन नसकिएको हो,’ बिष्टले भने, ‘जसले गर्दा हुम्लाबासीले महिनामा पाउने पाँच केजी चामल पनि पाउन सकेका छैनन्।’

संस्थानले सस्तो मूल्यमा चामल उपलब्ध नगराउँदा हुम्लाबासीले महँगो मूल्य तिर्न बाध्य छन्। ‘संस्थानसँग आपतकालिन रुपमा प्रयोग गर्नका लागि मात्रै स्टक चामल राखेको हुन्छ,’ बिष्टले थपे, ‘तीन पटक टेन्डर आह्वान गर्दा पनि चामल ढुवानी गर्न सकिएन, जसले गर्दा जनताको माग धान्न सकिएको छैन।’

चामल अभावका कारण जिल्ला खाद्यान्न व्यवस्थापन समितिले आपतकालिन रुपमा मात्रै उपलब्ध गराउन निर्देशन दिएको छ। बिरामी, सुत्केरी, वार्षिकी, विवाह, ब्रतबन्ध, मृत्यु, चाडपर्वका लागि सर्वसाधारणले न्यूनतम चामल पाउने गरेका छन्।

स्थानीय तह र प्रशासन कार्यालयको सिफारिसका आधारमा आपतकालिन अवस्थाका लागि चामल उपलब्ध गराउँदै आएको बिष्टले जानकारी दिए। सुर्खेतबाट स्थल र नेपालगञ्जबाट हवाईमार्गबाट हुम्लामा चामल पुर्याउन सकिन्छ।

विशेष परिस्थितिबाहेक अन्य समयमा सर्वसाधारणले चामल पाउन नसकेकाले तीन गुणा महँगो मूल्य तिरेर बजारको चामल खानुपर्ने बाध्यता हुम्लाबासीहरुमा छ।

संस्थाले चामलको क्वालिटी हेरेर प्रतिकेजी न्यूनतम ५२ रुपैयाँदेखि ७० रुपैयाँसम्मको मूल्यमा बिक्रिवितरण गर्दै आएको छ। तर, पर्याप्त खाद्यान्न नहुनुले सर्वसाधारणले संस्थानबाट सेवा पाउन नसकेको प्रमुख बिष्टले बताएका छन्।

यसैबीच, खाद्य संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाले हुम्लामा चामल अभाव नभएको दावी गरे। ‘हुम्लामा दैनिक रुपमा चामल ढुवानी भइरहेको छ,’ उनले भने, ‘समस्या चामल वितरण नहुनु हो, जनप्रतिनिधिदेखि कर्मचारीले कुपन कटाउने र जनतालाई सास्ती दिने काम गरेका छन्, त्यहाँ जसले सक्छ, त्यसले चामल पाउँछ।’

मंसिर ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्