पोखरा महानगरमा जग्गाको उपयोग नीतिसँगै मापदण्ड बनाउन सुझाव

पोखरा-पोखराको भौगोलिक अध्ययन र भू-उपयोग नीति बनाएर मात्र भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड बनाउन राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन्।

विज्ञ समूह गठन गरी पोखरा महानगरपालिकाले तयार गरेको भवन तथा पूर्वाधार निमार्ण सम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन कास्कीमा क्रियाशील राजनीतिक दलसँग भएको छलफलमा नेताहरुले सो सुझाव पेश गरेका हुन्।

मापदण्ड संवेदनशील विषय भएको र यसले दीर्घकालीन असर पार्ने भएकाले पोखराको जग्गाको उपयोग नीति बनाएरपछि मात्र मापदण्ड बनाउन उनीहरुले सुझाव दिए।कस्तो पोखरा बनाउने हो, दीर्घकालीन सोच राखेर महानगरले मापदण्ड निर्धारण गर्नुपर्ने उनीहरुको सुझाव छ।

छलफलमा नेकपाका नेता तथा पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले पोखराको भुबनोटको अध्ययन गरेर भार क्षमता कति छ, त्यसलाई हेरेर भवन तथा पूर्वाधार निर्माण गर्नुपर्ने बताए। उनले भने ‘सार्वजनिक जग्गाको संरक्षण गर्दै दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्माणको मापदण्ड बनाउनुपर्छ।’

एनले अग्ला भवन समयको माग भएकाले जमीनको भार क्षमता अध्ययन गरेर ठाउँ अनुसार कति तलासम्म बनाउन मिल्ने हो, त्यसका आधारमा भवन निर्माणको मापदण्ड तोक्नु पर्ने सुझाव दिए।

नेपाली कांग्रेस पोखरा नगर सभापति बजीरमान श्रेष्ठले सहरलाई व्यवस्थित र पोखराको सुन्दरतालाई जोगाउने गरी मापदण्ड बनाउनु पर्ने बताए। उनले जग्गा उपयोग नीति बनाएर कुन जग्गा केका लागि प्रयोग गर्ने हो, त्यस अनुसार मापदण्ड बनाउनु पर्ने बताए।

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश कमिटीका अध्यक्ष शंकर बराल अव्यवस्थित रुपमा बनेका भौतिक संरचनालाई तत्काल नियन्त्रण गरी सहरीकरणलाई व्यवस्थित गर्ने गरी मापदण्ड बनाउन सुझाव दिए। नयाँ शक्ति पार्टीका नगर इन्चार्ज टीकाराम पौडेलले कृषि योग्य जमीन जोगाउने गरी महानगरले नीति बनाउनुपर्ने धारणा राखे।

पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङले मापदण्ड कार्यान्वयन हुने गरी बनाउन सुझाव दिए। राप्रपाका गणेशलाल श्रेष्ठले राजमार्ग कति फराकिलो बनाउने हो, त्यसका आधारमा सेती नदी माथिका पुलको चौडाइ पनि सोही अनुसार बढाउन सुझाव दिएका छन्।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डका बारेमा सरोकारवाला निकायसँग राय सुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजानका लागि दलहरुसँग छलफल गरिएको बताए।

उनले भने ‘अपनत्व सबैले लिनुपर्छ, सबैको सुझावलाई समेटेर मापदण्डलाई महानगरले कार्यान्वयनमा लैजान्छ।’ महानगरपालिकाले प्राध्यापक डाक्टर भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड २०७५ तयार पारेको हो।

पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर वैज्ञानिक ढंगबाट नै मापदण्ड तयार पारिएको मापदण्ड निर्धारण सुझाव समितिका सदस्य सचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्ले बताए।

मंसिर ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्