सौतेनी आमादेखि नाँच सिरिरीसम्म

अन्जानमा गरिएको सफल प्रयास, नाच फिरिरी

‘हावा चल्यो सिरिरी, आँतै जिरिरी’

लोक लयको स्वाद दिने यो गीत धेरैको जिब्रोमै अडियो। साउनको ११ गते युट्युबमा भिडियोसहितको गीत पोष्ट हुँदा गायक महेश काफ्लेले सोचेकै थिएनन् एक पछि अर्को कीर्तिमान बन्छ ।

अपलोड भएको ३७ दिनमा नै गीतलाई एक करोड पटक हेरियो । झण्डै ४ महिनापछि गीतलाई तीन करोड भन्दा धेरैपल्ट हेरिएको छ । यी दुवै क्षणमा गायक काफ्लेको खुशीको आकार फैलियो, केक काटेर सेलेब्रेशन गरे ।

‘झरी परेको बेलामा झ्याल बाहिर हेरेर कापीमा कोरेको शब्द यति प्रिय होला भन्ने सोचेको पनि थिइन’ काफ्ले भन्छन्, ‘यो संयोग हो।’
अचेल कसलाई के मन पर्छ बुझ्न त्यति सजिलो छैन।

लामो समयसम्म संगीतको क्षेत्रमा संघर्ष गरिरहेका कलाकारले आफ्नो सिर्जनात्मक परिचयका लागि दिनरात मेहेनत गर्दा पनि नपाएको उपलब्धी महेशलाई एउटै गीतले दिलायो । उनले त्यस्तै सफलताको स्वाद चाख्न पाए, जुन १० वर्षको हुँदा उनको पोल्टोमा परेको थियो।

‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’, ‘ए काले कस्तो छोरो जन्माइछ पापी सौताले’ लोक गीत सुन्नेहरुका लागि यो गीत नौलो होइन । २०६३ सालमा पहिलो पटक अभिनयसहित गाएको ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ गीतले फुच्चे महेशलाई बालकलाकारको परिचय दियो।

त्यसपछि उनले गाएको अर्को गीत ‘ए काले कस्तो छोरो जन्माइछ पापी सौताले’ पनि सबैको रुचिमा प¥यो। त्यसपछि आएका एक दुईवटा अरु गीतहरु र त्यसमा उनले गरेको अभिनयले उनलाई एउटा पहिचान दियो।

‘सडक बालक बोलको गीतमा अभिनय गर्दा धेरैले बाबालाई म सडक बालक नै हो ? भनेर सोधेका थिए रे।’ हाँस्दै उनले भनेँ, ‘ए काले कस्तो छोरो जन्माइछ पापी सौताले’ भन्ने गीतको सुटिङ्गमा गाली गरेको, कुटेको दृष्यको सुटिङ्ग गर्दा त्यहाँका महिलाहरुले सुटिङ्ग रोकेका थिए।’

महेश काफ्ले लोक गायक, संगीतकर्मी भोजराज काफ्लेका छोरा हुन्। लोकसंगीतको क्षेत्रमा भोजराज काफ्लेको योगदान भरिलो छ। उनले दुवै छोरा दिनेश काफ्ले र महेश काफ्लेलाई सानैमा संगीत क्षेत्रमा परिचित गराए।

तर महेशलाई गाउन र अभिनय गर्नलाई अलि मेहनत गर्नुपर्‍यो। ‘दाइको गीत ‘आमा रातो सारी चुरा पोते किन नलाको’ हिट भएपछि मेरो त संभावना नै थिएन।’ नोन्स्टाल्जिक भएर काफ्लेले भने, ‘बाबाले दाइलाई सिकाइरहेका बेला म पनि सक्छु भन्दै जान्थेँ, अभिनय पनि गरेर देखाउँथेँ।’ उनका लागि त्यो ‘अडिसन’ दिएको जस्तो अनुभव थियो। उनले गीत गाउन ममीको ‘पावर’ लगाएर बाबालाई भन्न पनि लगाएका थिए रे।

अभिनय सिक्न उनलाई सारै रहर लाग्थ्यो। टेलिभिजनका धेरै कलाकारका नक्कल पनि गर्थे। लोक दोहोरी गीतमा स्वर दिँदै अभिनयमा व्यस्त भएका महेश उमेर बढ्दै जाँदा यो क्षेत्रबाट टाढा भए।

‘स्वर परिवर्तन हुन थालेकोले सांगीतिक क्षेत्रमा सक्रिय भइएन।’ उनी भन्छन्, ‘पढाईमा ध्यान भयो, यसैबिचमा इमेज टेलिभिजनमा खेलकुद सम्बन्धी कार्यक्रम चलाउन थालेँ।’ महेशको अहिले बिबिएस सकिएको छ ।

सांगीतिक क्षेत्रमा फर्कन भने उनले अलि समय लिए। आफैले गीत लेखे, अनि कम्पोज गरे। स्वर भरे। अनि युट्युबमा हाले। गीत हिट भयो। गीतमा स्वस्तिमा खड्का र निश्चल बस्नेत नाँचेका छन्। बसको छतमा बसेर ‘हावा चल्यो सिरिरी’ भन्दै गीत गाएका महेशलाई देख्नेले अनुमान नै लगाउन सकेनन्, यो त्यहि केटा हो जसले १२ वर्ष अगाडि दुःखी सौतिनी छोराको अभिनयसहित गीत गाएको थियो।

दरबारमार्गको रेष्टुरेन्टमा बिहीबार उनी गफिँदै थिए। केक काट्ने तयारी हुँदै थियो। हलुका सुनकेशरी कपाल, ठिक्कको जिउडाल, साढे पाँच फिट उचाई । कालो सुटमा सजिएका महेश शान्त, गम्भीर मुद्रामा देखिए । प्वाक्क नबोल्ने उनी दायाँ–बायाँ सबैलाई याद गर्दै थिए। उनी धेरै परिवर्तन भएछन्।

नाच फिरिरीले महेश काफ्लेको नाम धेरैलाई स्मरणमा ल्यायो। चियापसलदेखि लिएर पार्टिसम्म उनको गीत बज्यो र बजिरहेका छन् । चर्चा भयो। गीत राम्रो छ भनेर फोन आयो, म्यासेजहरु आए। कति ठाउँका उनी आफैले पनि आफ्नो तारिफ सुने।

उनले हौसिँदै सुनाए, ‘केही दिन अगाडि नेपालगञ्जबाट आएको साथीसँग कुरा गर्दै थिए, गीत बज्यो, त्यहाँ चिया पिउँदै गरेका अरु दुईले गीतको तारिफ गरे। म मख्ख परेँ।’ तर दुई वर्ष अगाडि उनले अर्को गीत पनि ल्याएका थिए, तर चलेन।

महेश सबैसँग बोल्छन्, तर सबै कुरा शेयर हुँदैन। उनको नजिकका साथी भनेका उनका दाइ दिनेश काफ्ले हुन्। नाच फिरिरी गीतले राम्रो प्रतिक्रिया पाउन थालेपछि दाइलाई उनले सबै कुरा भनेका थिए रे। ‘साहित्यकार राजेन्द्र थापाले फोन गर्दा म धेरै खुशी भएको थिए अनि हेर्न दाइ मलाई फोन आयो भनेको थिए। म एकदम उत्साहित थिएँ।’

उनको परिवार संगीतसँग नजिक छ। कुनै पनि सांगीतिक सिर्जना श्रोताले स्वीकार्नुको महत्व उनको परिवारले बुझेको छ। महेशलाई परिवारमा सबैको समर्थन छ। घरमा संगीतकै कुरा हुन्छ। फुच्चे महेशलाई परिपक्क भएर यो क्षेत्रमा फर्कने मन थियो। ‘यो क्षेत्रमा लाग्नलाई मनमा आँट चाहिन्छ, धैर्य पनि हुनुपर्छ।

बाँकि कुरा सहायक हुन्।’ महेश परिपक्क कुरा गर्छन्, ‘परिवारमा वातावरण भएकोले केही पहिला संगीतसँग परिचित हुने मौका पाए, तर घरमा वातावरण नभएको भएपनि ढिला–चाँडो म आउँथे, अलि गारो चाहिँ हुन्थ्यो होला।’ उनले चालेको कदम अनि यात्रा गरको समय पनि सहि भइदियो। तर उनी यसलाई संयोग भन्छन्।

महेशको गीतमा मेलिना राईको पनि स्वर छ, पहिला केटीको आवाज राख्ने योजना त थिएन, तर पछि राखियो। राम्रै भयो। भिडियोमा स्वस्तिमा र निश्चलले अभिनय गरे, त्यो पनि राम्रो भयो। उनले भिडियोमा भने यही जोडी नै रोज्ने विचार गरेका थिए। आफै अभिनय गर्न भने उनलाई अहिले रहर छैन।

हिजोआज उनी पियानो सिक्न जान्छन्। नयाँ प्रोजेक्टको तयारीमा छन्। धेरै फोन आउने, म्यासेज आउँनाले उनलाई गम्भिर बनाएको उनी बताउछन्। ‘सबैको मायाले इमान्दार भएर अब संगीतको क्षेत्रमा नै केही गर्नुपर्छ भन्ने भावना आएको छ।’ उनी भन्छन्, ‘अन्तर्वार्ता

दिनुप¥यो भन्दा मन ढुक्क फुल्छ, मैले धेरै बोल्नु भन्दा पनि काम गर्न बाँकि छ जस्तो लाग्छ।’

उनी राम्रा श्रोता हुन्, सबैको गीत सुन्छन्।

‘संगीतमा एउटा सुगन्ध हुन्छ, मलाई राम्रो सुगन्धको स्वाद लिन मन लाग्छ’ उनी भन्छन्, ‘नाच फिरिरी अन्जानमा गरेको प्रयास हो, जुन सफल भयो। अझै धेरै गर्न बाँकी छ।’

मंसिर ८, २०७५ मा प्रकाशित