प्रहरीको जागिर छोडेर विदेश पलायन

कैलालीमा चार महिनामा २१ प्रहरी हवल्दारद्वारा राजीनामा

धनगढी – बुधवार जिल्ला प्रहरीमा कार्यालय कैलालीमा प्रहरी हवल्दार मनोजसिंह रैखोलासहितका चार जना हवल्दारले राजीनामा बुझाए ।

उनीहरु चार जना मात्रै हैन, जिल्ला प्रहरी कार्यालय कैलालीको चालु आर्थिक वर्ष २०७५/७६ को कार्तिक मसान्तसम्ममा त्यसरी राजीनामा दिने प्रहरीको संख्या २५ पुगेको छ ।

त्यसमा सबैभन्दा बढी २१ जना प्रहरी हवल्दार, एक जना प्रहरी सहायक निरीक्षक र तीनजना प्रहरी जवान छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको भवन।

राजीनामा दिँदै गर्दा प्रहरी हवल्दार रैखोलाले जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक हरि वलीलाई भने, ‘घरायसी समस्याका कारण राजीनामाा बुझाउनुपर्‍यो सर ।’

तर उनले राजीनामा दिनुको कारण भने अर्कै थियो ।
‘नेपाल प्रहरीमा २४ घण्टा नै काममा खट्नुपर्छ । कामको आधारमा न सेवा सुविधा छ न त कामको प्रशंसा नै,’ उनले भने, ‘अब नेपाल प्रहरीमा सिकेको सिपलाई विदेशमा लगाउँछु र राम्रो पैसा कमाएर फर्कन्छु,’ देश सञ्चारसँगको कुराकानीका क्रममा रैखोलाले भने ।

उनले मकाउ जाने सोच बनाएका छन् । ‘सँगै राजीनामा दिएका चारै जनाले विदेश जाने प्रक्रिया अगाडि बढाइसकेका छौँ,’ उनले भने ।

सुरक्षा निकायमा काम गरेकालाई विदेशतिर आकर्षक तलब रहेको उनले बताए । नेपालमा सुरक्षा निकायबाट राजीनामा दिनेहरु अधिकांश विदेश जाने गरेका छन् ।

तर राजीनामा दिने कर्मचारीमध्ये अधिकांशले पारिवारिक समस्यालाई कारण उल्लेख गरेको प्रहरी नावय उपरीक्षक वलीले बताए ।

‘कतिपयले सेवा सुविधामा असन्तुष्टि जनाएका छन् भने केहीले कामको बोझ बढी भएको भन्दै राजीनामा दिएका छन्,’ वलीले भने, ‘दक्षिण एसियामै नेपाल प्रहरीको तलब न्यून छ, काम बढी छ । त्यसैले पनि प्रहरीप्रतिको आकर्षण घट्दो छ ।’

प्रहरी सेवामा जवानका रुपमा लामो समय काम गरी बढुवा हुँदै हवल्दार भएकाहरु राम्रो अनुभव भएका कर्मचारी मानिन्छन् । कतिपय सन्दर्भमा उनीहरुले खुल्ला प्रतिष्पर्धाबाट आएका कनिष्ठ अधिकृतहरुलाई समेत राम्रो अभिभावकत्व दिने गरेका छन् ।

कारण जेसुकै देखाए पनि राजीनामा दिएका अधिकांश कर्मचारीहरुले अनौपचारिक कुराकानीका क्रममा सेवा सुविधा कम भएकैले जागिर छोडेको बताउने गरेका छन् ।

 

मंसिर ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्