ब्लग

आएका पर्यटकले वमिट गर्छन्, सरकार भ्रमण वर्ष कसरी सफल होला ?

‘मैले पोखराको बारेमा धेरै पहिलेदेखि सुनेकी थिएँ । दक्षिण एसियाको स्वीट्जरल्याण्ड भनेर पोखरालाई भन्ने गरिन्छ । यसपाली यो ठाउँ आउने रहर पूरा भयो ।’

पोखरा भ्रमणमा पहिलोपल्ट आएका फिलिपिन्सकी राजकुमारी डा.मारिया अमोरले पोखराको सुन्दरताको खुलेरै प्रशंशा गर्दै थिइन् ।

सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभुषित उनी ट्राभलिङ प्रिन्सेसको नामले समेत प्रख्यात छिन् । उनको साथमा थिइन् थाइल्याण्डकी शान्तिदुत डा. अपिनिता चाइचान । चाइचान पश्चिम मकवानपुरको मनहरी गाँउ पालिका ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्टकी) कार्यकारी अधिकृत समेत हुन् ।

हिमाल उति खुलेको थिएन फेरि पनि बादल भित्रबाट हिमालका आकृतिका देख्दा पनि उनीहरुको मुखबाट बारम्बर वाउ ! वाउ ! भन्ने शब्द निस्किएको थियो ।

पोखराको सुन्दरताको बर्णन गर्दै गर्दै पोखरा महानगर पालिका वडा नम्बर १ र १६ को सिमानामा रहेको केआइसिंह पुलमा पुग्यौँ । एउटा अवसर जुरेको थियो उनीहरुसँग घुम्ने । साथमा थिइन ब्रम्हकुमारी बिनी बहिनी । केआइसिंह पुलको गेटमा पुगेर टिकट काटेर भित्र पार्क भित्र पस्यौँ । नेपालीलाई १५ रुपैयाँ र विदेशी ५० रुपैयाँ टिकट दर रहेछ ।

निकै उत्साहित थिए उनीहरु दुवैजना । हिमालबाट आएको पानि टनेलमा बगिरहेको थियो । अर्को तर्फ जमिनको निकै तलबाट बगिरहेको सेतिको कलकल आवाज सुन्दर लाग्थ्यो ।

शैक्षिक भ्रमण आएका एक हुल विद्यार्थि र भारतीय पर्यटक पार्क भित्र रमाइरहेका थिए । हिँड्दा हिँड्दै डा. अपिनिता चाइचानले ट्वाइलेट कहाँ छ भनेर सोधिन् । नजिकै रहेको टोइलेट देखायौँ । उनले त्यो ट्वाइलेट हो भन्दै सोधिन् । हामीले हो भन्दै ठाउँको हल्लायौँ । गाह्रो नै भएको थियो क्यार उनलाई मन नलागी नलागी घत्राक्क टिनको ढोको खोलेर जबरजस्ती भित्र पसिन् । जब ट्वाइलेटबाट बाहिर निस्किन उनले बमिट गरिन् । ट्वाइलेटको गन्धले नजिक पुग्ने जो कोहीलाई बमिटनै आउँथ्यो । ट्वाइलेट भित्र पानि थिएन, न त साबुनको नै व्यवस्था थियो । ट्वाइलेट भित्रको डस्टविनमा फोहोर भरिएको थियो ।

तल पानि कलकल बगिरहँदा माथि ट्वाइलेटको विजोग थियो । चाइचानाले बमिट गरेको देखेर उनीसँगै रहेकी फिलिपिनो राजकुमारी मारिया अमोर ट्वाइलेट जाने आँट गरिनन् । विनी बहिनी र म एकअर्काको अनुहार हे¥यौँ मात्रै । उनीहरुसँग आँखा जुधाउने साहास नै आएन । हामीले उनलाई दिने कुनै उत्तर पाएनौ । उनको अनुहारले धेरै कुरा हामी तिर तेस्याएको थियो ।

‘हाम्रो देश , हाम्रो हस्पिटालिटी, हाम्रो सिष्टम’ तर उनले मुख फोरेर केही भनिनन् । ट्वाइलेट अगाडि नै हात फिजाएर फोटो खिच्न पोज दिइन् । सायद हामीले असजिलो महसुस गरेका कारण उनले सहज वातावरणको लागि त्यसो गरेको हुनुपर्छ । हाम्रो अनुमान ।

स्मार्ट सिटिको नारासँग पोखरा खुब जोडिन्छ । स्थानीय तहको निर्वाचनमा स्मार्ट नजोडिएको घोषणा पत्रको कुनै लाइन पाउन सायद मुस्किल पर्छ । स्थानीय तहको निर्वाचन भएको पनि डेढ वर्ष बितिसक्यो । पोखरा महानगरपालिको संरक्षणमा रहेको सो पार्क जहाँ हजारौँ पर्यटक पुग्ने गर्छन् तर त्यहि पार्क भित्रको शौचालयको हालत त्यस्तो छ ।

मानिसले शौच गर्ने कुरा स्वास्थ्यसँग जोडिएको संवेदनशील कुरा हो । मानिस अरु कुरामा कम्प्रमाइज गर्न सक्ला तर यस्तो कुरामा गर्न सक्दैन । यो संवेदनशील पक्ष हो । तर यस्तो महत्वपूर्ण कुराले भने खासै प्राथमिकता पाएको देखिँदैन । पर्यटकीय क्षेत्र अवलोकन गर्न आएका पर्यटक जब शौचालयबाट बाहिर निस्किदाँ वमिट गर्छन् भने उनीहरुले हाम्रो देश बारे कस्तो सन्देश बोकेर जालान् ?

सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारीमा जुटेको छ । पर्यटन वर्षलाई लक्षित गरेर पर्यटन मन्त्रालय पनि देशका १०० बढि पर्यटकिय गन्तब्यको सूचि समेत सार्वजनिक गरेको छ । यद्यपि भइरहेका पर्यटकीय स्थलको संरक्षण र आवश्यक पूर्वाधारमा अलिकति पनि विचार पुर्‍याउन सकेको देखिँदैन ।

पर्यटक भित्र्याउने भाषणले होइन पूर्वाधार विकास र हामीले दिने आतिथ्यताले नै हो । त्यति सजिलो पनि छैन अर्को देशका पर्यटकलाई आफ्नो देश बोलाउन । आइदेऊन घुम्देऊन भनेर पर्यटक आउने पनि होइन । बल्ल बल्ल देश भित्र छिरेका पर्यटक पनि पर्यटकीय स्थलमा पुग्दा ट्वाइलेटको दूरदर्शादेखि वमिट गर्छन् भने सरकार भ्रमण वर्षमा कसरी सफल हुन्छ ?

मंसिर ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्