लिटरेचर फेस्टिबलको कर्टेन रेजरमा धर्म, अर्थ र कामको चर्चा

काठमाडौँ– बुकवर्म फाउन्डेसनको आयोजना रहेको आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ (आइएमई नेपाल साहित्य महोत्सव २०७५) अन्तर्गत कर्टेन रेजर कार्यक्रममा भारतीय लेखक गुरचरण दासले हाम्रा ऋषिमुनिहरुले तीन उद्देश्य- धर्म, अर्थ र काम प्रस्ताव गरेको र यी तीन विषयलाई आफ्ना किताबहरुमा नजिकबाट जान्न कोसिस गरेको उल्लेख गरेका छन्।

एलिस रिसेप्सन, गैरीधारामा शनिबार आयोजित कार्यक्रममा आफ्नो पुस्तक काम : द रिडल अफ डिजायरमाथि टिप्पणी गर्दै लेखक दासले भने, ‘आदिकालीन भारतसँग अर्थपूर्ण जीवनयापन गर्न सक्ने उपाय र उत्तर थियो। हाम्रा ऋषिमुनिहरुले तीन उद्देश्य प्रस्ताव गरेका थिए— धर्म, अर्थ र काम । धर्म भनेको नैतिक स्वास्थ्य हो । अर्थ भनेको भौतिक सुखसुविधा र तेस्रो काम हो । यी तीन कुरालाई मैले मेरा किताबहरुमा अझ नजिकबाट जान्न कोसिस गरेको छु ।’ सबै मानिस अर्थपूर्ण एवम् सुखी जीवन बिताउन चाहने र त्यस विषयमा आफ्ना पुस्तकहरुमा चर्चा गरेको उनको भनाइ छ।

पहिलो किताब इन्डिया अनबाउन्डमा भौतिक समृद्धिको विषय उठान गरेको उनले बताए । दोस्रो किताब द डिफिकल्टी अफ बिइङ गुडमा हाम्रो र देशको नैतिक जीवनको चर्चा गरेको उनले जानकारी दिए । साथै पछिल्लो किताब काम : द रिडल अफ डिजायरमा आफूले तृष्णाको चर्चा गरेको उनले अर्थ्याए ।

कार्यक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रवीन्द्र अधिकारीले देशको सबैभन्दा महत्वपूर्ण साहित्यिक महोत्सवलाई सहयोग गरेकोमा आइएमई ग्रुपलाई धन्यवाद दिए। ‘देशको समग्र समृद्धिका लागि आर्थिक विकास मात्र पर्याप्त हुँदैन । यसका लागि कला, साहित्य एवम् संस्कृतिको समृद्धि पनि आवश्यक हुने भएकाले नेपाल लिटरेचर फेस्टिभल जस्ता महोत्सव भइराख्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा लेखक शिवानीसिंह थारुले आधुनिक नेपाली साहित्य २०औं शताब्दीसँगै अघि बढेको बताइन् । त्यसको एक सय वर्ष पूरा भएसँगै नेपाली साहित्यले नयाँ फड्को मारिसकेको उनको भनाइ छ । “यसले पञ्चायत शासनबाट बच्दै आफूलाई अगाडि पनि बढायो । पछिल्लो समय नेपाली साहित्यले नयाँ रुपमा आफूलाई अघि बढाएको छ,” उनले भनिन् । अब नेपाली साहित्य अन्तर्राष्ट्रिय जगतमा पुग्ने समय भइसकेको उनको भनाइ छ । नेपाली साहित्य परम्परा र नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्ने समय पनि आइसकेको उनले बताइन् । “त्यसो गर्न सक्छौं त ?” उनले प्रश्न गरिन् र उत्तर पनि दिइन्, “मलाई लाग्छ, हामीले पक्कै सक्छौं ।”


कसरी गर्न सक्छौं त ?

त्यसका लागि साहित्यिक उत्सव र सम्मेलनहरु आवश्यक हुन्छन् । यही क्रममा नेपाल लिटरेचल भेस्टिभलले पनि नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न सघाउने उनको धारणा छ ।

कार्यक्रममा आइएमईका कार्यकारी निर्देशक सुमन पोखरेलले आइएमईलाई लिटरेचर फेस्टिभलमा प्रायोजनको अवसर दिएकोमा बुकवर्म फाउन्डेसनलाई धन्यवाद दिए । आइएमईले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गरिरहेको र यस्ता महोत्सव आदिमा पनि सहकार्य गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे । बुकवर्म फाउन्डेसन एवम् अन्तर्राष्ट्रिय स्तरको लिटरेचर फेस्टिभलसँगको सहकार्यले आफूहरुलाई थप उत्साहित बनाएको उनले बताए ।

कार्यक्रममा गायक धर्मेन्द्र सेवानले रेसम फिरिरीलगायत पाँच ओटा गीत गाएका थिए ।

मंसिर ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्