निधिले विवाहपञ्चमीमा योगी आउने कार्यक्रम भाँड्न खोजेको महतोको आरोप

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विवाह पञ्चमीका अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने कार्यक्रमलाई भाँड्ने प्रयासमा कांग्रेस नेताहरु लागिरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई लक्षित गर्दै राजपाका संयोजक महतोले जनकपुरबासीले अत्यन्त खुशीका साथ रामजानकी विवाहमहोत्सवको अवसरमा निम्त्याइएका मुख्यमन्त्री योगीलाई जनकपुर आउनबाट रोक्नु भनेको यहाँको सांस्कृतिक सम्पदा, धरोहरलाई उचित सम्मान नदिनु रहेको बताएका छन्।

शनिबार जनकपुरमा विद्यापति ट्रष्टद्वारा आयोजित विद्यापति स्मृति पर्वको समापन समारोहलाई सम्बोधन गर्दै महतोले कांग्रेस उपसभापति निधिले यहाँको सांस्कृतिक संरक्षण तथा विकासमा बारम्बार अवरोध खडा गरिराखेको आरोप लगाएका छन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती आउने र रेलवेको उद्घाटन मोदीबाट हुने चर्चाबारे प्रदेश सरकारलाई कुनै जानकारी नरहेको बताएकोप्रति महतोले आपत्ति जनाए।

केही दिनअघि मात्रै कांग्रेसका उपसभापति निधिले हिन्दुराज्यको पक्षमा बोल्ने व्यक्तिलाई सीताराम विवाह महामहोत्सवमा मुख्य अतिथिका रुपमा बोलाइँदा गलत सन्देश जाने र त्यो दुर्भाग्यपूर्ण हुने बताएका थिए।

यस्तै, भारतको एउटा प्रदेशका मुख्यमन्त्रीले मात्र रेलवेलाइन उद्घाटन गर्दा त्यसले कुटनीतिक विचलन ल्याउने र नेपालको सार्वभौमसत्ताको अवमूल्यन हुने भनी निधिको दिएको चेतावनीप्रति महतोले आपति जनाएका छन्।

चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक

महतोले आफू पूर्व अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको हस्ताक्षर तथा बहुमतबाट चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजकको रुपमा निर्वाचित भएको दावी गरेका छन्।

आफ्नो पार्टीमा कुनै किसिमको गुट–उपगुट वादविवाद नरहेको दावी गर्दै मधेश र मधेशीको हित तथा भावनाको कदर नगर्ने षड्यन्त्रकारीहरुले आफूले पार्टी फुटाउन लागेको भन्दै हिँडेको आरोप लगाए। यस्तै, कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले मधेश र मधेशीको हितमा सदैव रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

कार्यक्रममा ट्रष्टका अध्यक्ष चन्द्रमोहन चौधरीले विद्यापति स्मृति पर्वको अवसरमा यहाँका सांस्कृति तथा पूरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनका लागि सरकारसँग माग गरेका थिए।

मंसिर ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्