अष्ट्रेलियामा नेपाली महोत्सव (फोटो फिचर)

सिड्नीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदा…

सिड्नीमा आयोजित कार्यक्रममा नेपाली। तस्बिरहरुः कोम खत्री

सिड्नी– सन् २०१८ नोभेम्बर २४ तारिख, शनिबारको दिन। विगत दुई दिनदेखि निरन्तर चलेको हुरीबतासले असहज बनाएको सिड्नीको मौसम खुब हँसिलो थियो, मानौँ कि मौसमलाई भगवानको साथ र आशिर्वाद छ।

प्रष्टसँग खुलेको आकाशले संकेत गरेझैँ न त बढी गर्मी थियो, न त जाडो नै। मौसमको साथ र सहयोगझैँ सिड्नी तथा अस्ट्रेलियाका विभिन्न राज्यबाट आएका प्रवासी नेपालीले सिड्नीको मुटु डार्लिङ हार्वरस्थित तुम्बालोङपार्कमा आयोजित नेपाल फेस्टिभल सिड्नीलाई दिलोज्यानले साथ दिए।

कतिले एकदिनका लागि भएपनि नेपालको तिर्सना मेटे, कतिले फुर्सदको समय सदुपयोग गरे, कतिपय मानिस मातृभूमिको यादमा द्रविभूत भए त कतिले नेपाली गीत, संगीतको झन्कारमा रमाउँदै अनि नाँच्दै हर्सोल्लासका साथ दिन बिताए। तुम्बालोङ पार्कमा जसले जसरी दिन व्यतित गरेपनि ती सबैले नेपालभित्रका सयौँ थुँगा फूलको प्रतिनिधित्व गर्दै एउटै मालामा उनिएर सगर्व नेपालमय बनाएर नेपाल फेस्टिभल सिड्नीलाई सफलतापूर्वक बिदाई गरे।

एनआरएनए अस्ट्रेलियाको आयोजना तथा नेपाली दूताबास, नेपाल पर्यटन बोर्ड, न्यू साउथ वेल्स राज्यको महावाणिज्यदूतावास र अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरूको सहकार्यमा सन् २००६ देखि हरेक दुई–दुई वर्षमा आयोजना गरिँदै आएको अस्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली महोत्सव ‘नेपाल फेस्टिभल’ यस वर्ष पनि अस्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्‍न भयो।

फेस्टिभलको औपचारिक कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला मन्त्री डेबिड कोलम्यानले उद्घाटनपछि मन्तव्य दिँदै आफूले विगतका नेपाल फेष्टिभलहरूमा पनि सहभागिता जनाएको बताए। उनले हरेकपटक यो अझ व्यापक बन्दै गएको र नेपाली समुदायको अस्ट्रेलियाको विकासमा धेरै साथ र सहयोग रहेको धारणा व्यक्त गरे।

त्यसैगरी न्यू साउथवेल्सका प्रिमियरका प्रतिनिधि एवं एमपी मार्क कुर्रेले नेपाली समुदायको प्रशंसा गर्दै आफूहरु साथमा रहेको बताए।

कार्यक्रममा बोल्दै विशेष अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल फेस्टिभल आयोजनाका लागि धन्यवाद दिइन्। शेर्पाले नेपाल अहिले राजनीतिक रुपमा स्थिर अनि भ्रमणका लागि सुरक्षित रहेको उल्लेख गर्दै सबै मिलेर नेपाल भ्रमण वर्ष सफल पार्नुपर्ने बताइन्।

फेस्टिभलमा लेबर पार्टीकी नेतृ मिशेल रोल्यान्ड, जुलिया फिन, विश्व साइकलयात्री पुस्कर शाह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष शेष घले, इभेन्ट पार्टनर मल्टीडायनामिकका प्रिन्सिपल मेघराज पौडेलले पनि मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रायोजकहरुलाई सम्मान गरिएको थियो। एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने र नेपाल फेष्टिभल सिड्नीका संयोजक नन्द गुरुङले सबैलाई धन्यवाद दिएका थिए।

‘देश एक, कथा अनेक’ नाराका आयोजित नेपाल फेस्टिभल सिड्नीले नेपाली कला, संस्कृति र परम्परालाई अस्ट्रेलियामा रहेका नेपाली तथा विदेशीलाई चिनाउन, अस्ट्रेलियामा रहेका नेपालीबीच सद्भाव र भाइचारा अभिवृद्धि गर्न, बहुसांस्कृतिक अस्ट्रेलियामा सांस्कृतिक सामञ्जस्यता कायम गर्न तथा नेपाललाई विश्वमाझ एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गरेको छ।

कतिपय सहभागीले नेपाली खानाका विभिन्न परिकार चाखेर नेपाली स्वादको झझल्को मेट्न पाए। नेपाली पोशाकमा सजिएर प्रस्तुत भएका विभिन्न सांगीतिक प्रस्तुतिले एकछिन नेपालमै भएको अनुभूति धेरैलाई गराउन सफल भयो। यसका साथै अस्ट्रेलियामा जन्मिएका नेपाली मूलका दोस्रो पुस्ताका नेपालीहरूले नेपालबारे जान्ने र बुझ्ने मौका पाए। यसपटकको नेपाल फेस्टिभलमा विगतमा भन्दा धेरै विदेशीको सहभागिता देखिएको थियो।

नेपाल फेस्टिभलको आयोजनाका लागि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु गोथाने संयोजक, नारायण कोइराला सचिव तथा एनसिसी (नेशनल कोअर्डिनेशन काउन्सिल)का पदाधिकारीहरु सदस्य रहने गरी नेपाल फेस्टिभल राष्ट्रिय टास्कफोर्स गठन गरिएको थियो। नेपाल फेस्टिभल सिड्नीका लागि नन्द गुरुङको संयोजकत्वमा २९ वटा उपसमितिहरू गठन गरिएको थियो।

यसपटकको नेपाल फेस्टिभल सिड्नीको बजेट करिब १ लाख ४० हजार अस्ट्रेलियाली डलर तय गरिएको थियो। त्यसमध्ये ९२ हजार २ सय ५ अस्ट्रेलियाली डलर काउन्सिललाई बुझाइएको थियो। त्यस्तै फेस्टिभलमा खानाका १० वटा स्टल तथा व्यवसायका २२ वटा स्टलहरू राखिएका थिए। जसलाई एक्सप्रेसन अफ इन्ट्रेस्ट मार्फत् फर्स्ट कम फर्स्ट सर्भका आधारमा छनोट गरिएको जानकारी एनआरएनए अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले दिएका थिए।

नेपाल फेस्टिभल परेड

नेपाल फेस्टिभलको शुरुवात नेपालका विभिन्न जातजाति, समुदाय, संस्कृति, परम्परा र भेषभुषा झल्किने प्रदर्शनी ‘सांस्कृतिक परेड’बाट शुरु भएको थियो।

बिहान १० बजे सिड्नीको टाउनहलबाट शुरु भएको सो परेड फेस्टिभल आयोजना हुने मुख्य स्थान डार्लिङ हार्वरस्थित तुम्बालोङ पार्कमा जम्मा भएर विभिन्न कार्यक्रमहरू, प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतीका साथ सम्पन्न भएको थियो। सो परेडले नेपालको गौरवमय प्राकृतिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्नका लागि आयोजना गरिन्छ।

नेपाल हाउस

यसपटकको नेपाल फेस्टिभलमा नेपाल हाउसलाई स्वयम्भूको आकृति देखिनेगरी बनाइएको थियो। नेपाल हाउसभित्र नेपालका मिथिला आर्ट, कृषि औजारहरू, जाँतो, कुमारी, पञ्चकन्यालगायत नेपालको संस्कृति झल्किने सामग्री तथा कलाको प्रदर्शन गरिएको थियो।

नेपालको संस्कृति तथा ऐतिहासिक सामग्रीहरूको प्रदर्शन गरेर उपस्थित नेपाली तथा विदेशीलाई ती सामग्रीहरूबारे जानकारी दिएर नेपाल भ्रमण गर्नका लागि उत्साहित गरिएको थियो।

सांगीतिक प्रस्तुति

औपचारिक कार्यक्रमको समापनपश्चात् नेपालबाट आएका कलाकारहरू राजेश पायल राई, पशुपति शर्मा, शिव हमाल, विश्व नेपाली, तृष्णा गुरुङ, आँचल शर्मा, र्याड्स स्टुडियोका टोलीले उपस्थित नेपाली दर्शकहरूलाई निकैबेर मनोरञ्जनात्मक प्रस्तुतीका साथ नचाउन सफल भए।

साथै अस्ट्रेलियामा बसोबास गरिरहेका ईश्वर पोखरेल, सञ्जीव पराजुली, समीर आचार्य, राजेश केसी, सुजाता उपाध्याय मानन्धर लगायतका गायक, गायिका तथा कलाकारहरूले आ–आफ्नो प्रस्तुति पेश गरेर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।

नेपाली झण्डा फहराउँदा…

एनआरएनए अस्ट्रेलियाका प्रवत्ता डिला खरेलले सिड्नीमा राखिएको झण्डाले नेपालीको अपमान गरेको भनेर लेखेको आफूलाई जानकारी भएको जनाएका छन्।

‘वास्तवमा नेपाली झण्डाको स्वरूप बिगारियो भने त्यसको चासो हरेक नेपालीलाई हुने नै भयो वा हुनुपर्छ पनि। सोही झण्डा मैले विगत नेपाल फेस्टिभलमा देखेपछि यही प्रश्न मैले पनि दुई वर्षअघि नै उठाएको थिएँ,’ खरेलले देश सञ्चारसँग भने।

नेपाल फेस्टिभल आयोजना गर्ने स्थलमा राखिएको झण्डा नेपालको राष्ट्रिय झण्डा नभएको जनाएका छन्। ‘त्यहाँ आयोजकले दिएको आकारको सेतो कपडाभित्र नेपालको झण्डासहित एनआरएनएको लोगो र नेपाल फेस्टिभल सिड्नी लेखेर बनाइएको आर्टवर्क अर्थात् डिजाइन मात्र थियो। त्यस्ता चारकुने आकारको कपडामा त्यहाँ नेपाली झण्डाको डिजाइनमात्र होइन, स्वयम्भु, कुमारी तथा नेपाल झल्किने अनेक आकृति राखेर बनाइएको डिजाइन थियो,’ उनले भने।

यसका साथै आयोजकले उक्त स्थलमा कुनै पनि अन्य देशको झण्डा राख्ने अनुमति नदिएको जनाउँदै खरेलले जुन धेरै हदसम्म जायज रहेको बताए। ‘यदि केही अन्य देशका नागरिकले टुँडीखेलमा उनीहरूको देशको झण्डा फरफराएर कार्यक्रम गर्न अनुमति मागे कोही पनि नेपालीले त्यो अनुमति दिन्छन् जस्तो मलाई लाग्दैन,’ उनले भने।

सन् २०१२ मा नेपाली झण्डा डार्लिङ हार्वरमा फहराउनका निम्ति काउन्सिलमा निवेदन दिइएको खरेलले बताए। ‘निवेदन दिएपछि काउन्सिलले सिधैँ नेपाली झण्डा राख्न नमिले पनि तोकिएको चारपाटे आकारभित्र झण्डाको नक्सा र अन्य सामग्री राख्ने अनुमति दिएको थियो,’ उनले भने, ‘त्यति मात्र होइन उनीहरुले ती सामग्रीहरू कुन भाषामा लेखिन्छन्, तिनको अर्थ के हुन्छ, त्यसले अस्ट्रेलिया र नेपालको आपसी सम्बन्ध झल्काउँछ कि झल्काउँदैन, साथै ती सामग्रीले बहुसांस्कृतिक अस्ट्रेलियाको प्रतिनिधित्व गर्छ कि गर्दैन भनेर अध्ययन र अनुसन्धान गरेको थियो, अनुसन्धानपश्चात् सन् २०१६ मात्र हामीले सो झण्डाहरू फहराउने स्वीकृति पाएका थियौँ, काउन्सिलको अनुमति पाएपछि मात्र हामीले अहिले फहराइएका झण्डाहरू नेपाल फेस्टिभलमा राखेका हौँ।’

यस्ता संवेदनशील विषयमा सनसनी मच्चाउने हिसाबले समाचार लेख्दा धेरै नेपालीलाई भ्रम श्रृजना भएको आयोजकले जनाएका छन्। ‘लेख्ने स्वतन्त्रता मात्र होइन आफ्नो समुदायप्रतिको उत्तरदायित्व पनि बुझ्नु जरुरी हुन्छ, त्यस्तो नगरिकनै ‘सिड्नीको महोत्सवमा नेपाली झण्डाको अपमान गरियो’ भनेर निर्क्यौल नै निकाल्नु मिडियाको उत्तरदायित्व पूर्ण रूपमा पालना गरेको छैन,’ आयोजक भन्छन्।

अस्ट्रेलियामा नेपाल फेस्टिभल प्रत्येक दुई वर्षमा आयोजना गरिने सबैभन्दा ठूलो नेपालीको जमघट हुने महोत्सव हो। यसलाई आयोजना गर्नुपर्ने आफैँमा ठूलो चुनौतिपूर्ण कार्य हो।

विशुद्ध परोपकारी तथा सामाजिक हितका खातिर आयोजना हुने नेपाल महोत्सवलाई व्यापारमुखी तथा व्यवसायमुखी हुनबाट जोगाउनुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ। विगतका दिनहरूजस्तै हुबहु आयोजित हुँदै आइरहेको यस फेस्टिभलको स्वरूपमा समय र मागअनुसार परिवर्तन गर्नुपर्ने र थप रचनात्मक बनाउन पहल हुनुपर्ने खाँचो देखिएको सरोकारवालाको धारणा छ।

यसका लागि एनआरएनए अस्ट्रेलियाले नेपाल फेस्टिभललाई अझ रचनात्मक र मौलिक बनाउनका लागि समुदायबाट सुझावहरू लिएर आगामी फेस्टिभलको स्वरूप तय गरिने जनाएको छ।

मंसिर ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्