पराधीन मानसिकता अन्त्यको सम्भावना छ 

पृथ्वीनारायण शाहको कालखण्डदेखि पूर्वराजा ज्ञानेन्द्रको कालसम्म धेरै ठूला साना राजनीतिक उतारचढावहरू आए हाम्रो इतिहासमा। पृथ्वीनारायण शाहले त वैदेशिक हस्तक्षेप र चलखेललाई पूर्णतया निषेधको नीति लिएका र तदअनुरुपको व्यवहार गरेको इतिहासबाट देखिन्छ।

त्यसपछिका राजा, भाइ, भारदार, काजी हुँँदै एकसय चार वर्षे राणा शासनको काल र त्यसपछिका प्रधानमन्त्रीहरूले समेत आफ्नो सत्ता र शासन टिकाउन वा बचाउन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई माथि नै राखेर तत्कालको आफ्नो राजनीतिक, आर्थिक र सैन्य शक्तिको ओजमा रहेर ब्रिटिस इस्ट इन्डिया कम्पनी, तिब्बत, चीन र अन्य राष्ट्रहरूसँग  सन्धि, सम्झौता र मित्रता गरेर सन्तुलन कायम राख्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई बचाई नै रहेका थिए।

पूर्वराजा ज्ञानेन्द्रको शासनकालपछि जस्तो खुल्लमखुल्ला वैदेशिक हस्तक्षेप र चलखेल निम्तिएको र निमन्त्रणा गरिएको दासत्वपूर्ण आत्मसमर्पणवादी शाकस र शासन नेपालको इतिहासमा कतैदेखिएको र पाइएको छैन। जसका सहउत्पादीत एजण्डाहरुलाई नै ‘महान उपलब्धि’ र ‘त्रान्तिकारी परिवर्तन’ मानीदिनु पर्ने हामी नेपालीको नियति बन्दै आएको छ।

‘जनयुद्ध’ हुँदै मुलुक र मुलुकवासीले आफ्नो मौलिक पहिचान र स्वाभिमान गिर्ने  गरी बाह्रबुँदे दिल्ली सम्झौंता र अँधेरा कोठामा गरिएका कयौं सम्झौताको धरातलमा अडिएको राजनीति व्यवस्था, अवस्था र नेतृत्वबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनाको कल्पना गर्नु आफैँमा दुविधाको विषय हुन आउँछ। आमा जस्तो माया दिउँला कोलीमा राखौला, बरु मागेरै जिउँला हाँसि खुशि जीवन जीउँला भन्दै गीत गाउने प्रेमीजस्तो मति हो त्यो। आमाले कोलीमा राखेर खेलाएको कल्पना गर्ने तर मागेर गुजरा गर्नेको जीवन सुखी र खुशी हुनै नसक्ने कुरा हो।

साम्राज्यवादी धार्मिक, सामाजिक र साँस्कृतिक अतिक्रमण भन्दा आफ्नै मौलिक धर्म संस्कारसंस्कृति ठिक भएको अभिव्यक्ति नेकपा (त्रान्तिकारी माओवादी)का नेता मोहन वैद्य ‘किरण’बाट आजभोलि आउने गरेका छन्। पूर्विय दर्शनका साथै हाम्रो मौलिक धार्मिक, साँस्कृतिक, सामाजिक, इतिहास, आर्थिक र राजनीतिकलाई प्रचार प्रसार गर्न महान कर्म गरेका कर्मविर राष्ट्रगुरु योगी नरहरिनाथको महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना अभियानका एक योद्धा मोहन वैद्य पनि थिए। यसको पुष्टि भखरै प्रकाशित उनको पुस्तक ‘हिमाली दर्शन’ले पनि गर्दछ।  यस्तै उक्तपार्टीका अर्का सालिन नेता सिपी गजुरेल ‘गौरव’ का अभिव्यक्ति पनि आउने गरेका छन्। भारतीय सत्ताको स्वार्थमा दखल आफूहरूले नपुर्‍याउने वाचा तत्कालीन माओवादीका नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई ‘लालध्वज’ले दिल्लीदरबारमा चढायर आफूहरुलाई सिलगुडी र गोवा जेलमा हाल्न लगाएको शंका गर्दै १२ बुँदे दिल्ली सम्झौता गरेको आज आएर विभिन्न घटनाक्रमहरुले पुष्टि गरेको उनले बताउने गरेका छन्।

वर्तमानको देश, काल र विश्वपरिस्थितिमा ‘क्रान्तिकारी परिवर्तन’ नामको गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष व्यवस्था र विगतको देश, काल र विश्वपरिस्थितिको ‘सामन्ती’ व्यवस्था दुबैलाई आज एक ठाउँमा राखेर मूल्यांकन गर्ने हो भने  क्रान्तिकारी परिवर्तनको भाँडत्रन्त्र भन्दा त सामन्ती व्यवस्थामा नै देश राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक नैतिक मूल्यमान्यताहरू  सवल र सक्षमका साथै सार्वभौम  र राष्ट्र/राज्य एकतावद्ध थियो ।

आर्थिक र राजनीतिक विकास र विस्तारका लागि आफ्नै विशिष्ट परिस्थिति र आवश्यकतालाई पहिचान र प्रतिनिधित्व गर्ने मौलिक नेतृत्वको निमार्ण हुनु र गरिनु आवश्यक हुन्छ।  राजनीतिक परिवर्तनकालागि हाम्रो देशको आर्थिक, सामाजिक र साँस्कृतिक आफ्नै विशिष्ट परिस्थिति र आवश्यकतालाई मिहिन रुपमा पहिचान गरी मौलिक धरातलको  आर्थिक र राजनीतिक प्रणालीको विकास र तद्अनरुपको नेतृत्व निर्माण गरिनु पर्दछ। यसमा कुनै पनि वाद वा दृष्टिकोणको अनुसरण गर्नु नै हुन्न भन्ने होइन तर मूल विषय र धरातल भनेको मौलिकता नै हो। यसको लगभग पूर्ण निषेध गर्दै र भत्काउँदै आफ्ना मूल्य मान्यता, संस्कार–संस्कृतिहरूको र सामाजिक व्यवस्थाको खिल्ली उडाउने वर्तमानको राजनीतिले गर्दा नै देश–समाज दिशाहीन भइरहेको छ। समाज र संस्कृति बिथोलिएको र राष्ट्र विखण्डनको दिशातिर गैरहेको छ। ‘क्रान्तिकारी परिवर्तन’  भएको रटानमा देशले दशक भन्दा बढी समय गुजारिसकेको छ।

वर्तमानको व्यवस्था र अवस्था कुनैवाद वा सिद्धान्त भन्दा पनि सुन्दर वस्तु बनाउने कोरा नाराको नामका उट बनाएझैंको अवस्थामा हो र दुई तिहाइको वहुमतको पृष्ठ भूमिमा चलेको राज्य व्यवस्था कदाचित यो अवस्थाको हुन सक्दैन। मूलभूत रुपमा हालको व्यवस्थामा परिवर्तन गणतन्त्र, संघीयता र धर्म निरपेक्षता नै हुन्। यसैलाई नै वर्तमानका सत्ता संचालक र प्रतिपक्षमा रहेकाहरू ठूलो उपलव्धिकोरुपमा डंका पिटिरहेका छन्। सनातन हिन्दु धर्म र दर्शनमा विश्वास र आस्था राख्ने ९० प्रतिशत भन्दा धेरै रहेको नेपाल र नेपालीलाई धर्मनिरपेक्षताको रसातालमा फसाएर राष्ट्रपति र प्रधानमन्त्रीहरूले धर्मभिरुको भेषमा यसपालीको दशैं पनि मनाएको देख्न पाइयो जुन लोक हंसाउने दृश्य थियो। यो सिद्धान्त र व्यवहारबिचको विचलन हो या जात्रा?

राष्ट्रियता र सार्वभौमसत्ता भन्दा आफ्ना निहित व्यक्तिगत, समुहगत र गुटगत स्वार्थका खातिर राष्ट्रिय स्वार्थ र हितलाई तिलाञ्जलि दिएर पार्टी र सिद्धान्त अदलिवदली गर्नु, चुनावी तालमेल गर्नुका साथै ‘वाम गठवन्धन’ वा ‘लोकतान्त्रिक गठवन्धन’ बनाउँदै सत्तामा पुग्नु नै हाम्रा पार्टी र त्यसका नेताहरूको राजनीतिक सुझ–बुझ, चलाखी र चतुर्‍याइ बन्दै आएको विडम्वना हाम्रा सामु रहिआएको यथार्थ हो। सत्ता भर्‍याङका निम्ति रणनितिक रुपमा विभिन्न नारा उछाल्ने र सत्तामा पुगेपछि बिर्सने नेतृत्व र पार्टीहरूबाट पनि नागरिक आजित भैसके।

विपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोबाट विचलित भएर गिरीजाप्रसाद कोइरालाको पथ सम्हाल्दै दक्षिण एसियाको महान नेताको पगरी कोइरालालाई परचक्रीहरूले गुथिदिएकोमा काँग्रेस र त्यसका नेता कार्यकर्ताहरू विगतमा हौसिए। आज त्यसको प्रतिफल काँग्रेस र देशले समेत भोगिरहेकोछ। आज आएर त्यस कुराको आत्मज्ञान काँग्रेस कार्यकर्ता र नेतालाई भएको त हुनुपर्छ तर सच्याउन सक्ने आँट र आँत छैन। आफ्नै पार्टी र नेताको प्रत्यक्ष सहभागिता र नेतृत्वमा भएको वर्तमानको ‘क्रान्तिकारी परिवर्तन’ निल्नु र ओकल्नुको अवस्था काँग्रेसभित्र भैरहेको छ वा खाउँ भने दिनभरको शिकार नखाउँ भने कान्छा बाबुको अनुहार!

फर्केर माओवादी ‘जनयुद्ध’ हुनुभन्दा अगाडि र त्यसपछि हाल सम्मको कालखण्डलाई हेर्ने हो भने आर्थिक, सामाजिक, साँस्कृतिक र त्यसभित्रका नैतिक मूल्य, मान्यतामा व्यापक क्रणात्मक दिशामा गएको हामी सबैलाई महसुस भएकै छ। प्रायोजित र सम्पादित अध्ययन बाहेक केही प्राज्ञिक अध्ययनले पनि त्यो देखाइरहेका छन्।

अहिलेको राजनीतिले हामी नेपाली नागरिकलाई दिएको एकमात्र चिज हो–  राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृति परनिर्भरता स्वीकार्न लगाउने र दास बनाउँदै नागरिकमा दिन र हिन मनोभाव संचारगरी सो अनुरुप आफुअनुकुलको भाव उत्पन्न गराउने सिवाय अर्को काम भएको छैन। आफ्नो पौराणिक कालदेखि लिएर इतिहासको विरासत, गौरव र पौरख कायमा राख्ने  पात्र र व्यवस्थाको दानविकरण र सामन्तीकारण गरेर आफ्नो खुट्टामा बन्चरो हान्ने काम निरन्तर भइरहका छन्। विदेशीको आशिर्वाद विना हामी र हाम्रो राजनीतिक चल्न र चलाउन सक्दैनौ भन्ने मनोवैज्ञानिक नपुङ्सकता हाम्रा नेताहरूमा जकडिएर रहेको छ।

यस्तो अवस्था र व्यवस्था ल्याउनेहरू नै आज अल्मलिएको, तित्मिलाएका गैरजिम्मेवार अनुत्तरदायी व्यवहारबाट के पुष्टि हुन्छ भने यिनीहरू र यिनले ल्याएको व्यवस्थाको दिर्घजीवनको कल्पना र कामना गर्नु मुर्खता सिवाय अरु केही हुन सक्दैन। विदेशी गुप्तचरहरूको खटन र पठनमा चल्ने पात्र, प्रवृति र व्यवस्थाले हामीलाई अन्धकारमा पुर्‍याउने निश्चित छ। आफ्नै मौलिक संस्कृति र ऐतिहासिक सम्भावनाहरूमा फेरि विश्वास र गर्व गर्न थाल्दै आमनेपाली नागरिकहरूको सामूहिक मनोवल र चेतनाको प्रतिकारले मात्र यस्तो पराधीन मानसिकता र शासनव्यस्थाको अन्त्यको पृष्ठभूमिमा मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को कल्पना गर्न सकिन्छ।

मंसिर ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्