आर्थिक परनिर्भरताका कारण महिला हिंसा बढ्योः मन्त्री पुन

पोखरा – गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेको बताएकी छिन्।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताएकी हुन्।

उनले भनिन्, ‘महिला आर्थिक रुपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन्, उनीहरुको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालिम जरुरी छ।’

उनले तालिमका लागि तालिम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालिम सञ्चालन गर्ने तयारी भइरहेको बताइन्। ‘हामी मोबाइल एप्सबाट कस्तो तालिम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेका छौँ, चाहना र आवश्यकतालाई ध्यान दिएर सोहीअनुसारको तालिम छिट्टै सञ्चालन गर्छौैं,’ उनले भनिन्।

पुनले सामाजिक विकास मन्त्रालयमा ४ करोड ३२ लाख स्वरोजगार कार्यक्रमकोलागि बजेट रहेको पनि जानकारी दिइन्। कुनै दिवस मात्रै नभई उनले ३६५ दिनै हिंसारहीत समाजको सबै जुट्नु पर्ने बताइन्। सामाजिक न्यायका लागि हिंसा र अपराधविरुद्ध सबैले हातेमालो गर्न आग्रह गरिन्।

नोभेम्बर २५ मा सुरु भई डिसेम्बर १० सम्म चल्ने सो अभियान गण्डकी प्रदेशमा लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

विभिन्न सामाजिक संघसंस्थासँगको समन्वयमा १६ दिनसम्म फरक फरक कार्यक्रम गरेर अभियान सफल बनाउन लागिएको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिइन्।

१६ दिनसम्म प्लेकार्डसहितको र्याली, यौनजन्य हिंसा तथा मनोसामाजिक सुरक्षा विषयमा अन्तरक्रिया, लैगिंक हिंसाविरुद्धको पर्चा पम्प्लेट वितरण, सेतो रिबन वितरण, महिला कानुनी सचेतना कार्यक्रम, लैगिंक हिंसासम्बन्धी अन्तरक्रिया, अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइने कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत जानाकारी गराइएको थियो।

मंसिर ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्