आजका मुख्‍य खबरहरु: निर्मलाका बुवा टिचिङमा भर्ना, वाइडबडीबारे ४१ प्रश्‍न

छोरी निर्मला पन्तको बलात्कार र हत्यापछि सरकारसँग दोषी पहिल्याउन माग गर्दै धर्नामा बस्ने क्रममा मानसिक रुपमा कमजोर भएपछि यज्ञराज पन्त काठमाडौँस्थित टिचिङ अस्पतालमा भर्ना भएका छन्।  बुद्ध एयरले उनलाई धनगढीबाट काठमाडौँ उडाउन नमानेपछि उनलाई सडकमार्गबाट आइतबार साँझ काठमाडौँ ल्याइएको थियो।

संसदको सार्वजनिक लेखा समितिले दुईवटा वाइड बडी खरिदबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल वायु सेवा निगमसँग लिखित जवाफ माग गरेको छ। आइतबार पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, वायु सेवा निगमका कार्यकारी निर्देशक मदन खरेल र महानिर्देशक सुगतरत्न कंसाकारसँग सोधपुछ गरेको समितिले विमान खरिदबारे मौखिक रुपमा दिइएका जवाफमा चित्त नबुझेपछि लिखित रुपमा जवाफ माग गरिएको हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको हो।

सत्य निरुपण तथा मेलमिलाप आयोग असक्षम भन्दै त्यसलाई उच्च स्तरीय राजनीतिक संयन्त्रद्वारा विस्थापित गर्ने प्रयत्नमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन समान विचारका केही द्वन्द्व पीडितसँगै राष्ट्रपतिका मानव अधिकार सम्बन्धी सल्लाहकार सुशील प्याकुरेल बैंकक प्रस्थान गरेका छन्। उनीसँगै कांग्रेस र नेकपाका केही नेतासमेत बैंकक प्रस्थान गरेका छन्।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको पहिलो दिन नै ललितपुरमा श्रीमतीमाथि बलात्कारको आरोपमा नेपाली सेनाका जवान पक्राउ परेका छन्।  तीन वर्षअघि फेसबुक मार्फत चिनजान गरेका उनीहरुबीच माया बसेर विवाहको तीन वर्षपछि श्रीमतीको उजुरीको आधारमा जवान पक्राउ गरिएको हो।

यूएईमा जारी टी–१० लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा उदीयमान नेपाली युवा स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएका छन्। केरला किङ्समा आबद्ध सन्दीपले राजपुत्सविरुद्धको खेलमा २ विकेट लिएका हुन्। सन्दीपले पहिलो विकेट मोहम्मद शेहजादको दिए।

मंसिर ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्