सीमा पर्खाल चढे आप्रवासी, अमेरिकाले हान्यो अश्रु ग्यास, मेक्सिकोले डिपोर्ट गर्ने

मध्य अमेरिकी देशबाट अमेरिका प्रवेश गर्ने उद्देश्यसहित मेक्सिको पुगेका आप्रवासी मध्ये सीमा क्षेत्रमा अराजक गतिविधि गर्नेहरुलाई मेक्सिकोले आफ्नो देशबाट निकाल्ने (डिपोर्ट गर्ने) भएको छ ।

मेक्सिकोको आन्तरिक मामिला मन्त्रालयका अनुसार अमेरिकी प्रवेशका लागि अवैध र भड्काउ गतिविधि गर्ने झण्डै पाँच सय क्यारावान आप्रवासीलाई डिपोर्ट गर्ने तयारी भएको हो ।

क्यारावान आप्रवासीले अमेरिका प्रवेशका लागि मेक्सिको तर्फबाट सीमामा भड्काउ गतिविधि गरेपछि उनीहरुलाई घेराबन्दी गरेर राखिएको मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

भिडियो फुटेजमा महिला तथा बालबालिकासहितका आप्रवासीहरु सीमाको पर्खाल तर्फ दौडिएको देखिएको छ । यस्तै केही पर्खाल चढेका पनि छन् । उनीहरुमाथि सीमा सुरक्षाका लागि खटिएका अमेरिकी अधिकारीले अश्रु ग्यास प्रहार गरेका छन् ।

यसरी सीमा पार गर्न खोज्ने सबैलाई चाँडै डिपोर्ट गरिने मेक्सिकोको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । उनीहरुको गतिविधिले आप्रवासी सम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको मन्त्रालयको भनाई छ ।

मेक्सिकोसँग सीमा जोडिएको टिउआनामा यो महिनाको सुरुमा हजारौँ क्यारावान आप्रवासी पुगेपछि तनाव बढेको छ । क्यारावान आप्रवासीहरु चार हजार किलोमिटर भन्दा बढी दूरी हिँडेर टिउआना पुगेका हुन् ।

मंसिर १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्