जनै राजनीति

राहुल गान्धीको गोत्र र योगी आदित्यनाथको दाबी

भारतको राजस्थानमा अहिले चुनावी माहोल छ । आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन्।

अहिले राज्यमा बसुन्धरा राजेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ । पछिल्ला केही चुनावको परिणाम हेर्ने हो भने राजस्थानका मतदाताले हरेकपटक सत्तामा नरहेको पार्टीलाई जिताएका छन् ।

कांग्रेस आफ्नो पुरानो इतिहास दोहोर्‍याउँदै राज्यमा जित निकाल्ने लक्ष्यसहित चुनावी प्रचारमा छ भने भाजपा आफ्नो सत्ता कायम राख्ने ध्ययेसहित अभियानमा जुटेको छ ।

भाजपाले चुनावमा जित हाँसिल भएमा राजे नै मुख्यमन्त्री बन्ने बताएको छ भने कांग्रेसले अहिलेसम्म मुख्यमन्त्रीको उम्मेदवार तय गरेको छैन । कांग्रेसमा सचिन पायलट र अशोक गहलोतलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ ।

यहिबिचमा चुनावी प्रचारका लागि कांग्रेस अध्यक्ष राहुल गान्धी राजस्थान पुगे । उनले सोमबार अजमेरमा रहेको सुफी सन्त ख्वाजा मोइनउद्दीन चिश्तीको दरगाह र पुष्करमा रहेको ब्रह्मा मन्दिरको दर्शन गरे ।

अजमेरमा राहुल गान्धीले सचिन पायलट र अशोक गहलोतसँग मिलेर चादर (विशेष प्रकारको गम्छा) चढाए । उनले चुनावमा कांग्रेसको जितका लागि आशिष मागे ।

यस्तै पुष्करको ब्रह्मा मन्दिरमा राहुलले पूजा गरे । पूजाको क्रममा उनले आफ्नो गोत्र पनि बताए । राहुलले आफ्नो गोत्र ‘कौल दत्तात्रेय’ रहेको बताए । यसको अर्थ उनले आफू कश्मीरी पण्डित रहेको बताए ।

उनले आफ्नो गोत्र बताएकोमा सामाजिक सञ्जालमा विभिन्न प्रतित्रिया आएका छन् । कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले भाजपा, विशेष गरी उसका प्रवक्ता संबित पात्रा मुद्दा बिहीन बनेको बताइन् । पात्राले एक कार्यक्रमको क्रममा राहुल गान्धीको गोत्र सोधेका थिए ।

पुष्करका पुरोहितले आफ्ना जजमानको विवरण राख्छन्, जसमा वंशावली पनि उल्लेख हुन्छ । यहि प्रक्रिया अन्तर्गत पुरोहितले राहुल गान्धीसँग गोत्र सोधे र राहुलले बताए । राहुल गान्धीको जातिको विषयलाई लिएर राजनीतिक सवाल नै उठेको थियो । उनले आफूलाई कश्मीरी ब्राह्मण भनेर त्यसैको जवाफ दिएका हुन् । राजस्थानको राजनीतिमा ब्राह्मणको प्रभाव बलियो छ ।

राहुल गान्धीले आफूले धार्मिक स्थलको भ्रमण गरिरहेको र यसलाई राजनीतिसँग जोडेर नहेर्न भनेका छन् । तर विश्लेषकहरु भने उनको धार्मिक स्थल यात्रासँग जोडिएको राजनीतिक अर्थ खोजिरहेका छन् ।

राहुलले आफ्नो गोत्र बताउनु उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले आफूहरुको अर्थात भाजपाको जित रहेको बताएका छन् ।
उनी चुनाव प्रचारका लागि राजस्थान पुगेका थिए र राहुल गान्धीले जनै देखाएर आफू सनातन हिन्दु रहेको बताउनु आफूहरुको वैचारिक जित रहेको योगीको दाबी छ ।

तर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भने राजनीति विकासका लागि हुनु पर्नेमा जाति र धर्मका लागि भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।