स्थानीय तह र प्रदेश सरकारबीच समन्वयको अभाव- मुख्यमन्त्री गुरुङ्ग

पोखरा-गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश समन्वय परिषदको दोस्रो बैठक सुरु भएको छ।

बैठक प्रदेश सरकार र स्थानीय सरकारबीच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित बैठकको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य हुन नसकेको बताएका छन्।

उनले स्थानीय सरकारले संघ र प्रदेशको कुरा चासो नदिएको र एकलौटि गरेको आरोप लगाए। उनले भने ‘स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य र समन्वय कम गरेको अनुभव हामीले गरेका छौ’ उनले प्रदेश सरकारले कानुन बनाएको र यसको कार्यान्वयनको लागि स्थानीय तहको कस्तो भूमिकाको बारेमा पनि समिक्षा हुने बताए।

उनले निर्णय एकल नगरी संस्थागत गर्न आग्रह समेत गरे । संघीयताको नयाँ मोडलमा पुरानो मानसिकता र प्रवृत्ति हटाएर नयाँ सोच र धारणा सहित अघि बढ्न सके मात्रै सफल हुने धारणा राखे। उनले भने ‘ पुरानो मानसिकताको कारण अहिले संघीयता कार्यान्वयनमा समस्याहरु पैदा भएको छ’
कर्मचारीतन्त्र पनि नयाँ सोचकासाथ अघि बढ्नु पर्ने उनको भनाई छ।

बेला बेला आफ्नो अभिव्यक्ति संघीय सरकारका विरुद्ध भन्दै आइरहेको भन्दै उनले भने ‘हामी संघीय सरकार विरुद्ध लागेको हैनौँ । कर्मचारी ब्यवस्थापन, स्रोत ब्यवस्थापन जुटौ भनेको हौ ।’ उनले केन्द्रिय सरकारले काम गरेर मात्र संघीयता सफल नहुने भन्दै प्रदेश र स्थानीय सरकार सफल भएमात्र केन्द्र र देश सफल हुने बताए।

सोही अवसरमा मुख्यमन्त्री गुरुङले जिल्ला समन्वय समिति छुट्टै सरकार नभएको पनि बताए । बैठकमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरुलाई लक्षित गर्दै उनले भने ‘जिसस सरकार हैन । यसले बजेट र कार्यक्रम ल्याउन सक्दैन,’ जिससको काम भनेको अनुगमन गर्ने, समन्वय गर्ने हो भन्दै जिसस स्वतन्त्र सरकार नभई स्वायत्त भएको बताए ।

मुख्यमन्त्री गुरुङले स्थानीय तहले लिँदै आएका विभिन्न शिर्षकको करका बारेमा जनतालाई बुझाउन जनप्रतिनिधीहरुलाई निर्देशन दिए । ‘के मा कर लगाउँदै छौँ, किन लगाउँदै छौँ, यसबारेमा जनतालाई र्छलङ्ग पानुपर्छ ।’

दुई दिन सम्म चल्ने बैठकमा संघ र स्थानीय तहको अन्तरसम्बन्ध , संघीयताको अभ्यास,वित्तिय व्यवस्थापन तथा योजना तर्जुमाका सम्बन्धमा कानुन निर्माण र कार्यान्वयका विषयमा छलफल हुनेछ । बैठकमा प्रदेशका मेयर उपमेयरको उपस्थिति रहेको छ।

मंसिर ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्