उपप्रधान पोखरेल सहभागी कार्यक्रमस्थल बाहिर स्थानीयको प्रदर्शन, यस्तो छ कारण

विराटनगर – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रमस्थल बाहिर स्थानीयबासीले प्रदर्शन गरेका छन्।

विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार आयोजित महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुने क्रममा रक्षामन्त्री पोखरेलविरुद्ध स्थानीयले प्रदर्शन गरेका हुन्। यसक्रममा रक्षामन्त्री पोखरेललाई सुरक्षाकर्मीले कडा सुरक्षाकाबीच कार्यक्रमस्थल पुर्याएका थिए।

सोमबार राति मादकपदार्थ सेवन जाँचका क्रममा प्रहरीको टोली र स्थानीयबासीबीच मोरङको कटहरीमा भएको झडपको विषयलाई लिएर रक्षामन्त्री पोखरेल सहभागी कार्यक्रमस्थलमा विरोध भएको हो।

सोमबार राति कटहरीस्थित महेशपुरमा प्रहरी र स्थानीयबीच मादकपदार्थ सेवन चेकजाँचका क्रममा विवाद बढ्दै गएपछि झडप भएको थियो। त्यसपछि प्रहरीले घरघरमा पसेर सुतिरहेका र बसिरहेका सर्वसाधारणमाथि कुटपिट गरेको आरोप स्थानीयले लगाएका छन्।

प्रहरीका अनुसार ड्युटीमा रहेका प्रहरीलाई मापसे चेकजाँचका नाममा स्थानीयबासीसँग अनाधिकृत रुपमा पैसा माग्ने गरिएको आरोप लगाइएपछि विवाद बढेको थियो। झडपका क्रममा स्थानीयबासी रहेका प्रहरी हवल्दारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ पर्नेमा अनन्तराम चौधरी, जोगनारायण चौधरी र सवदनारायण चौधरी छन्। पक्राउ पर्नेमध्ये सवदनारायण प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हवल्दार हुन्।

हवल्दार सवदनारायणकै कारण झडपको स्थिति उत्पन्न भएको एसपी केसीको भनाइ छ। तीनै जनाविरुद्ध प्रहरीले मंगलबार अभद्र व्यवहारको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ।

झडपमा घाइते भएका प्रहरी जवान रोजन राईको टाउकोमा चारवटा टाँका लगाउनु परेको एसपी केसीले बताए। यसक्रममा स्थानीय बासिन्दाले प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै विराटनगरमा प्रदर्शन गरेका छन्।

घटनाको विरोध गर्दै मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीय बासिन्दा र प्रहरीबीच पनि प्रहरी कार्यालयमा झडप भएको छ।

आदिवासी जनजाति महासंघ मोरङका पूर्व अध्यक्ष देवराज चौधरीका अनुसार मोरङका प्रहरी प्रमुखलाई घटनाको वास्तविकता बताउन जनप्रतिनिधिसहित स्थानीयबासी जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए।

त्यसक्रममा अघि बढ्न नदिई प्रहरीले गेटमै रोकेर जनप्रतिनिधिसहितलाई अन्धाधुन्ध लाठी प्रहार गरेको उनको भनाइ छ।

प्रहरीले वडा नम्बर एकका अध्यक्ष कपुरलाल माझी, वडा सदस्य गंगा राय र ६५ वर्षीया बृद्धा पवनीदेवी चौधरीमाथि दुर्व्यवहार गर्दै स्थानीयबासीमाथि लाठी प्रहार गरेको महासंघका पूर्व अध्यक्ष चौधरीको भनाइ छ।

प्रहरीको लाठी प्रहारबाट वडा सदस्य रायको टाउको फुटेको छ। पवनीदेवीको कपडा च्यातिएको छ। प्रहरीले लाठीले घोच्दा अनुहारमा चोट लागेको जानकारी पूर्व अध्यक्ष चौधरीले दिए।

मंसिर ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्