मित्रताको गतिलो उदाहरण

विदेशको दुःख, कष्ट भुल्दै स्वदेशमै फक्रिरहेको उमङ्ग

दाङ–चिटिक्क परेको कोट, पाइन्ट सिलाउने सीप हातमा हुँदा हुँदै नारायण परियार ड्राइभिङ्ग भिसामा तीन वर्षअघि साउदी अरब उडे। तीस महिना उतै बिताए। मासिक ४०/४५ हजार मात्रै कमाइ भयो । जब उनको हातमा पहिलो तलब पर्‍यो, उनी झस्किए।

धेरै कमाई हुन्छ भन्ने सपना बुनेका नारायण परियारले स्वदेशमा हुने जती पनि कमाई गर्न सकेनन्। जेन तेन ३० महिना बिताए। उनी स्वदेश फर्कीए। ‘जे सोचेर विदेश गइन्छ । त्यहाँ सोचेको जस्तो हुँदो रहेनछ’उनले विगत सम्झदै भने–‘विदेशमा जस्तै दुःख आफ्नै गाउँ ठाउँमा गर्ने हो भने त्यहाँ भन्दा धेरै कमाउन सकिदो रहेछ ।’

लमही नगरपालिका वडा नं. ३ टिकुलिगढ निवासी नारायण परियार विदेश जानु भन्दा अघि देखिनै मिलनसार साथि थिए, शेषमणि अधिकारी । उनको सीपबारे राम्रो ज्ञान थियो उनलाई। विदेश जाँदा समेत शेषणीले स्वदेशमै रोक्ने धेरै प्रयास गरेर सकेनन्। अहिले उनै नारायण र शेषमणी मिलेर‘हाम्रो लाईफ स्टाईल टेलरिङ्ग खोलेका छन्। विदेशबाट फर्किएका दुई जना सहित पाँच जना युवाले कपडा सिलाउने रोजगारी पाएका छन्।

अच्यूत परियार चार वर्ष मेलेसिया बसेर फर्किए । उनी फर्किएको दुई बर्ष भैसकेको छ । उनले अहिले नारायण र शेषमणीले खोलेको टेलरिङ्गमा रोजगारी पाएका छन् ।‘विदेशमा कपमाउने जति आफ्नै ठाउँमा कमाई भैरहेको छ । दुःख पाउन किन जानु विदेश ?’उनले भने–‘राम्रो काम भनेर लग्यो पछि ठुला सामान उठाउने काममा लगायो।’

शेषमणि ब्राहमण । कपडा सिलाउने व्‍यावसाय शुरु गरेको देखेका उनका आफन्तहरुले नाक घुम्च्याउदै कुरा गर्थ्यो। तर, बदलिदो समयले यि पुराना मुल्य मान्यताहरु हराउदै लग्यो। मित्रताको विचमा‘जात’को कुरा आउँदै आउँदैन भन्ने उदाहरण यी दुई पात्रले प्रमाणित गरिदिएका छन् ।

‘बाहुनको छोराले पनि कपडा सिलाउने व्यवसाय गरेछस भन्नेहरु अहिले हाम्रो काम देखेर लोभिन्छन्’शेषमणिले भने–‘पण्डित्याई गर्दा बाहुनको बोली चल्थ्यो अहिले थुक चल्ने भयो भनेर भन्नेहरु पनि छन्। तर, यस्ता टिप्पणीले झन बलियो बनाएको छ।’

नारायणले अन्तरजातीय विवाह गरेका छन्। काठमाण्डौंमा काम गर्दा उनको कुमारी तामाङ्गसँग माया बस्यो र उनले बिहे गरे। उनकी श्रीमती कुमारीले श्रीमान‌्ले स्वदेशमै मेहनत गरेर काम गरिरहेको देखेर खुसी छिन्।‘विदेशमा जस्तै दुःख आफ्नै देशमा गर्ने हो भने जती पनि कमाउन सकिन्छ’उनले भनिन्–‘सुरुमा विदेश जान मैले सल्लाह दिएको हुँ तर, अव विदेश जान भन्दिन्।’

लमही बजार विस्तार हुदै गैरहेको छ । मानिसहरुका आवश्यकताहरु बढ्दै गएका छन् । थरी-थरिका डिजाईनका सिलाईका कपडाहरुको शोष बढिरहेको समयमा युवाहरुले परम्परागत सिलाई पेशालाई आधुनिकिकरण बनाए । ब्राण्डेट कपडाहरु पसलमा राखेका छन्।

कोट, पाइन्ट सिलाउन आउनेहरु धेरै छन्। काठमाडौंमा दश बर्ष काम गर्दा देशका ठूला नेता पुष्पकमल दाहाल (प्रचण्ड)देखि लिएर अन्यले नारायणको हात बाट सिलाएको कोट पाईन्ट लगाए । नाम चलेको डेरिमेल टेलरमा काम गरे । विदेशको दुःख, कष्ट भुल्दै आफ्नै गाउँ ठाउँमा स्तरीय सेवा दिइरहेका छन् ।

मंसिर १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्