पुटिनसँगको भेट रद्द गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता रद्द गर्न सक्ने बताएका छन् ।

युक्रेन र रुसबिच तनाव बढेको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले जी–ट्वन्टी सम्मेलनको क्रममा हुने तय भएको पुटिनसँगको भेटवार्ता रद्द गर्न सक्ने चेतावनी दिएका हुन् ।

युक्रेन र रुसबिच पछिल्लो पटक क्राइमियाको समुद्री सीमाको विषयलाई लिएर तनाव बढेको छ । रुसले युक्रेनका तीन डुंगा आइतबार कब्जा गरेको तथा त्यससँग जोडिएका घटनाको पूर्ण प्रतिवेदनको पर्खाईमा रहेको ट्रम्पले द वासिङ्गटन पोस्टसँग बताएका छन् ।

अर्जेन्टिनाको राजधानीमा नोभेम्बर ३० देखि जी–ट्वेन्टी सम्मेलन सुरु हुँदैछ । यहि क्रममा ट्रम्प र पुटिनबिच भेट हुने तयारी छ । अमेरिका युक्रेनको पक्षमा उभिएको छ र उसले युरोपियन युनियनलाई युक्रेनको पक्षमा रहेको साथलाई थप बलियोन बनाउन सुझाव दिएको छ ।

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि तयारी गरेको छ र यसमा युरोपियन युनियनको पनि साथ खोजीरहेको छ । ट्रम्पले आफू तनावको पक्षमा नरहेकाले रुसले अहिलेको तनाव व्यवस्थापनका लागि काम गर्नुपर्ने बताएका छन् ।

मंसिर १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्