२१ वर्षदेखि रित्ता पोलहरू

प्रधानमन्त्री ज्यू, बत्ती नबल्ने बिजुलीको पोल यता छ

बाँकेको नरैनापुरमा रहेका बिजुलीका रित्ता पोल, यहाँ पोल गाडेको २१ वर्षसम्म पनि विद्युत बिस्तार भएको छैन। तस्बिर: कुमार श्रेष्ठ/देश सञ्चार ।

नेपालगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो छापिएको ‘नयाँ युगको शुरुवात’ लेखिएको पोष्टर काठमाडौंका विजुलीको पोलमा झुण्ड्याइए ।

प्रचारको शैली त्यतिमा मात्रै सीमित रहेन । सबै पत्रिका र अनलाइनको ‘ज्याकेट’ बन्यो, नयाँ युगको शुरुवात ।
काठमाडौंको बत्ती बल्ने पोलमा टाँगेर ‘नयाँ युगको शुरुवात’ भयो । पोल गाडेको तर बत्ती नबलेको बाँके नरैनापुरको पोलमा पनि त्यो ‘नयाँ युगको शुरुवात’ झुण्ड्याउन पाएको भए यहाँ पनि बत्ती बल्थ्यो कि ? नरैनापुरका मोहम्मद खानले व्यंग्य गरे ।

नरैनापुर जहाँ २१ वर्षअघि विजुलीको पोल गाडिएको छ । २०५६ सालको चुनाव अघि प्रेम भण्डारीले गाडेको विजुलीको पोलमा अहिलेसम्म बत्ती बलेको छैन । पोल गाडेपछि पनि चार वटा निर्वाचन भइसकेको छ । पोलमा बत्ती भने बलेको छैन ।

‘२१ वर्ष भयो पोल गाडेको, बत्ती बलेको छैन । के गर्नु हामीले त पोल हेरेर बिजुलीको मज्जा लिइरहेको छौं, प्रधानमन्त्रीले यही पोलबाट नयाँ युगको शुरुवात गरिदिएको भए, बत्ती बल्थ्यो कि, नरैनापुरका मुस्ताक अलि भन्छन्, हाम्रो यहाँ चुनावका बेला पोलमा तार टाँगिने सपना देखाइन्छ । त्यसपछि जस्ताको तस्तै ।’


नरैनापुर गाउँपालिकाका ६ वटा वडामा पोल त पुगेको छ । तार जडान भएको छैन । त्यस क्षेत्रमा जोकोही पुग्दा त्यहाँका बासिन्दाको एउटै प्रश्न हुन्छ, ‘पोलमा बत्ती कहिले बल्छ ? त्यहाँ पुगेका सबैको एउटै आश्वासन हुन्छ, ‘लागिरहेका छौ । छिट्टै हुन्छ ।’

नरैनापुरमा रातारात पोल गाडियो । चुनावको माहोल आफ्नो पक्षमा पार्नका लागि भण्डारीले ‘सोर्सफोर्स’ लगाएर रातारात पोल गाडेका थिए । विद्युत कार्यालयको कार्ययोजना अनुरुप त्यहाँ पोल पुगेका थिएनन् ।

विद्युत कार्यालय, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादव भन्छन्, कार्ययोजना अनुरुप पोल गाडिएको भए अहिलेसम्म बत्ती बलिसक्थ्यो । नेताले सोर्सफोर्समा ल्याएर गाडे ।’ उनका अनुसार, विद्युत कार्यालयले सिधै हेर्नु भन्दा पनि सामुदायिक विद्युतीकरण अन्तर्गत राखिएकाले अझ ढिलाई भएको हो ।

यो सँगसँगै विद्युतीकरण शुरु भएका देशका अन्य ठाउँमा विजुली बलिसकेको छ । गरीब जनताको बसोबास हुनु र सामुदायिक विद्युतीकरणमा जनताको पनि ‘योगदान’ देखिनु पर्ने तथा ठेकेदारको बदमासीले नरैनापुरमा बत्ती बल्न सकेको छैन ।

नरैनापुरको विद्युत बाल्नका लागि जिल्लाको विद्युत कार्यालयले यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको यादवले जानकारी दिए । ‘यो पैसाले हामीले नरैनापुरको शुरुवाती सीमाबाट काम शुरु गर्छौ, यादवले भने, राप्तीसोनारीको सीमा जमुनीबाट ४० लाखको काम शुरु हुन्छ ।’

क्षेत्रीय विद्युत कार्यालयका प्रमुख मनोजकुमार सिंहले नरैनापुरमा बत्ती बाल्नका लागि २२ करोड रुपैया छुट्याएको र टेण्डर प्रक्रियामा रहेको जानकारी दिए । क्षेत्रीय प्रमुख सिंहले तीन महिनामा सव स्टेशन बन्ने र चैत्रसम्ममा ३३ केभी लाइन तान्ने काम भइरहेको बताए । उनले डेढ वर्षभित्र नरैनापुरमा बत्ती बल्ने आशसन दिए ।

नरैनापुर क्षेत्रबाट चुनाव जितेका सांसद महेश्वर गहतराजले विद्युतका लागि केन्द्रीय स्तरबाट नीतिगत निर्णयहरु गराइसकेको बताए । राप्तीसोनारी गाउँपालिकाको धामपुर र नरैनापुरको विद्युत जोडिएको छ ।

राप्तीसोनारीमा कात्तिक ७ गते काम गर्ने भनेर सांसद गहतराजले नै लाइनमा परेका रुख काट्न शुरु गरे । अहिलेसम्म त्यहाँ ठेकेदारले काम गरेका छैनन् । सांसद गहतराजले भने, ‘ठेकेदारले जनतामाथि अपराध गरिररहेका छन् ।’

नरैनापुरका किसान रामविलास पासी, इदवारी धोवीले बत्तीको सुविधा हुने बित्तिकै सिंचाई गरेर राम्रो उब्जनी गर्न सक्ने बताए । समतल क्षेत्र र उब्जाउ भूमि रहेको नरैनापुरमा विजुलीबत्ती, सिंचाई, मल, बिउको समस्याले राम्रो उत्पादन हुन सकेको छैन ।

न त त्यहाँ उत्पादन भएको अन्नले राम्रो बजार नै पाउने गरेका छन् । बाटो राम्रो नभएकाले नेपालगञ्ज ल्याउन मुश्किल हुने गरेको छ । भारतीय बजारमा लगेर किसानले सस्तोमा बेच्नु पर्ने बाध्यता रहेको छ ।

मंसिर १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्