सिमसारसँगै हराउँदैछ कृषि र जैविक विविधता

‘सबै सखाप पार्ने मान्छेका नामधारी हामी पशु पो हौँ’

फाइल तस्बिर

पोखरा- ‘एउटा घरमा झिनुवाको चामल पकाउँदा टोलमा जै मग मग बसाउँथ्यो। अहिले त कहाँ हरायो खै? त्यस्तो धान फल्नै छाड्यो।’ ७० वर्षीय विष्णुमाया जलारीले ५० वर्ष अघिको अतीत सम्झिँदै भनिन्।

पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीकी रैथाने जलारीले ताल छेऊ जाँदा विभिन्न प्रजातीका स्थानीय माछाको सल्याङबल्याङ देख्दाका दृश्य अहिले सपना जस्तै लाग्छ उनलाई। बढ्दो शहरीकरण र अव्यवस्थित विकासले सिमसार क्षेत्रहरू मासिँदै गएकोमा उनी चिन्तित छन्।

उनले फेरि विगत सम्झिइन्, ‘तालको पानी अञ्जुली भरेर खाँदा सरर आँत भिज्थ्यो,’ सुस्केरा काढ्दै नजिकै रहेका गाई भैँसीतिर इंगित गर्दै उनले भनिन्, ‘यी पशुहरू हुन् तर सखाप पार्न उति जानेका छैनन्। हामी मान्छेका नामधारी पशु हौँ, हेर्नुस् त्यो डाँडापाखा (खपौदीमाथि डोजरले खनेको बाटो देखाउँदै) डोजरले जता मन लाग्यो त्यसै विध्वंश गरेको छ।  सबै सखाप गर्ने मान्छेका नामधारी हामी पो पशु हौँ,’ विष्णुमायाले अव्यवस्थित विकासको नाममा भएको विनासप्रति लक्षित गर्दै भनिन्।

तालको पानी खाँदै हुर्केकी उनले जीवनको ७० वर्ष बिताइसकेकी छन्। ताल छेउको जलाशयमा लामा लामा जुकाले खुट्टामा टोकेका पल पनि उनको स्मरणमा ताजै छ।

विभिन्न देशबाट आउने पाहुना चराको लस्कर उनले खुब रमाइलो मानेर हेर्थिन्। तर, अहिले उनको आँखाअगाडि सबै कुरा लोप भइरहेका छन्। न त त्यस्तो चामलको बास्ना थाहा पाएकी छिन्। न त माछाका ती विभिन्न प्रजातिनै देख्न पाएकी छिन्। ती पाहुना चराका लस्कर पनि हेर्दा हेर्दै हराए उनका नजरबाट। फेवातालको पानी निकै दुर्गन्धित लाग्छ उनलाई।

यसरी नै सिमसार क्षेत्र विस्तारै विस्तारै पुरिँदै जाँदा धेरै परिवर्तन देखिएका छन्। सिमसार क्षेत्र अर्थात पानी मिसिएको जमिनले प्राणी जगत र जैविक विविधता संरक्षणमा ठूलो महत्व राखेको हुन्छ। झट्ट हेर्दा पानीले ढाकेका कतिपय जमिन उपयोग विहिन जस्तो देखिन्छ तर त्यसको महत्व एकदमै छ।

साना तालतलैया, दलदल, पोखरी, र सेपिलो पानी पाइने क्षेत्रलाई सिमसार भन्ने गरिन्छ। जैविक विविधता र जीवनपयोगी स्रोतको धनी मानिने यी सिमसार विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र फिरन्ते पन्छीहरूका लागि उत्तम आश्रयस्थलका रूपमा लिइन्छ। साथै पानीको सतही र भूमिगत स्रोतको संरक्षण गर्न, पहिरो रोकथाम गर्न सिमसार महत्वपूर्ण भूमिका हुने गर्दछ। सामान्यतया: सिमसार भनेको पानीले भिजेको क्षेत्र हो। कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्वपूर्ण मानिन्छ।

कास्कीमा ९ वटा तालहरू छन्। तालको क्षेत्रफल विस्तारै घट्दै गइरहेको छ। त्यसको असर सिमसार क्षेत्र वरिपरि मात्रै होइन हिमालमा पनि देखिन थालेको विज्ञहरू बताउँछन्। तालहरू पुरिँदै जाँदा, सिमसार क्षेत्रमा बासस्थान रहेका प्राणीहरू त्यस क्षेत्रमा हुने वनस्पतिहरू लोप हुँदैछन्। सँगसँगै तापक्रम बढ्दै जाँदा हिमालमा हिउँ पग्लिन थालेको छ। सिमसार क्षेत्रबाट जिविकोपार्जनका आधार बनाएका समुदायलाई पनि असर पारको छ। सिमसार दैनिक जीवनसँग पनि जोडिएको हुन्छ। खाद्यान्न बाली धान, दलहन र माछा सिमसार क्षेत्रमा हुने गर्छन्।

कृषि र जैविक विविधतामा असर


फेवाताल आसपासमा ९१ घर जलारीको छ। ९१ घरमा झण्डै साढे ४ सय जलारी परिवार छन्। जलारीको परम्परागत जिविकोपार्जनको आधार नै माछा मार्नु हो। यद्यपि अहिले तालतलैयामा बढ्दै गएको प्रदुषण र सिमसार क्षेत्र नासिदै जाँदा यहि पेशामा आश्रित परिवारमा संकट उत्पन्न हुन थालेको छ।

हर्पन फेवा मत्स्य पालनका अध्यक्ष ज्ञानु जलारी भन्छन्, ‘हाम्रो ९१ घर परिवारका सबै माछा मार्ने पेशामा निर्भर छ तर तालमा माछा छैन।’ कारण बारे उनी भन्छन्, ‘तालको अतिक्रमण बढ्यो, प्रदूषण बढ्यो, माछाको प्रजनन् स्थल सिमसार क्षेत्रहरू पुरिँदै गए, माछा उत्पादन घट्दै गयो, दैनिक ५ सय किलो माछाको माग छ मुस्किलले सय,डेढ सय किलो मात्रै माछा पाइन्छ।’

उनले माछाको प्रजनन स्थल मानिने सिमसार क्षेत्रको संरक्षण नगर्ने हो भने केही वर्ष पछि आफ्नो परम्परागत पेशा संकटमा पर्ने र वैकल्पिक पेशा अपनाउन बाध्य हुनुपर्ने चिन्ता व्यक्त गरे। फेवातालमा पाइने १२ प्रजातिमध्ये अहिले स्थानीय जातका सहर,कत्ले, रेवा, फगेटा र बाम माछाहरू लोप हुँदै गएको उनले बताए।

बढ्दो शहरीकरण, अव्यवस्थित विकासका कारण सिमसार क्षेत्रमाथिको मानविय अतिक्रमण बढिरहेको छ। यसको प्रभाव कृषि जैविक विविधतामा परेको छ। सिमसार सुक्दै जाँदा जैविक विविधता र कृषिमा समेत उत्तिकै असर पर्दै गएको स्थानीय कृषक एवं विज्ञहरू बताउँछन्।

रूपा र मैैदी तालमा जङ्गली ‘नाभो’ धानको उत्पत्ति भएको अनुमान विज्ञहरूको छ। अहिले सिमसार क्षेत्र मासिदै जाँदा ताल किनारको सिमसार क्षेत्रमा पाइने जङ्गली धान नाभो लगभग लोप भइसकेको छ।

उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोटमा पाइने कास्कीमा ५५ भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेको धानको विषयमा अनुसन्धान गरिरहेका कृषक अभियन्ता सुर्यप्रसाद अधिकारी बताउँछन्।

उनी भन्छन्, परम्परागत खेती प्रणालीका साथै रैथाने धान लोप हुँदै गएका छन्। विकासे आयातीत धानप्रति कृषकको चासो बढेको छ।

उत्पादनका दृष्टिबाट नयाँ उन्नत जातका धान रोप्न कृषक आकर्षित हुन थालेपछि रैथाने जात विस्तारै लोपोन्मुख हुँदै गएको उनको भनाइ छ। ‘जनसंख्या वृद्धिसँंगै हुने बसाइँ–सराइ र सहरीकरण बढ्दै जाँदा सिमसार क्षेत्रहरूको अतिक्रमण बढ्दै गयो। वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादी बगेर सिमसारमा मिसिने तथा ढल, प्लाष्टिक र सीसाजन्य नसड्ने पदार्थको विसर्जनले सिमसार प्रदुषित भएको छ।’ यसले कृषि तथा जैविक विविधतामा प्रत्यक्ष असर पारेको छ ।

रैथाने जातका धान विस्तारै हराउन थालेकाले संरक्षणका लागि डाइभर्सिटी ब्लकमा ५५ जातका धान र १६ जातका कोदो लगाएर लोपोन्मुख जातको संरक्षणका लागि बीउ संकलन गर्न थालिएको उनले जानकारी दिए । उक्त केन्द्रले रैथाने जातको धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीऊ संरक्षण गर्ने गरेको बताए ।

नयाँ जातका धानको आगमनसँगै परम्परागत रूपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको कृषक बताउँछन् ।

फेवातालको विषयमा पिएचडी गरेका वातावरणविद् प्राध्यापक डा.देवेन्द्रबहादुर लामिछाने पोखरा र आसपासका सीमसार क्षेत्र हराउँदै गएको र सँगैसँगै जैविक विविधता र कृषिमा पनि त्यसको असर परेको बताउँछन् । सिमसार क्षेत्रको महत्व नबुझी व्यक्ति आफ्नो स्वार्थमा तल्लिन हुँदा जलाधार क्षेत्रमा रहने प्राणीको अस्तित्व समेत हराउँदै गएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘सिमसार विना पूर्ण मानव सभ्याताको कल्पना गर्न सकिँदैन ।’

‘सिमसार क्षेत्र पारिस्थितिकीय मात्र नभई सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । कसरी बुझाउने खै यसको महत्व ?’ ‘जलचरहरू हराउँदै गएका छन् सिमसार क्षेत्रमा देखिने बकुल्ला, पानीहाँसहरू आजभोलि देखिन छाडे’, उनले भने।

विशेषगरी सिमसार चराचुरुङ्गीदेखि विभिन्न प्रजातिका जलचरको बासस्थान होे। सिमसार क्षेत्रमा घुमन्ते चराहरू, विभिन्न प्रजातिका जलचर प्राणीहरू, अन्य उभयचर प्राणीहरू तथा कीटपतङ्गको बासस्थान रहेको हुन्छ। सिमसारलाई जैविक विविधताको संरक्षण, वैज्ञानिक सोध, पर्यटन प्रवद्र्धन र मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय संरक्षणको महत्वपूर्ण अंग मानिन्छ।

वातावरणीय सन्तुलन कायम राख्ने, वनस्पति जगतको अस्तित्व जोगाउन, जलवायु परिवर्तन र जैविक विविधताको पर्यायका रूपमा लिने गरिन्छ। उपयुक्त आश्रयस्थल र यथेष्ट आहार प्राप्त हुनेहुँदा जीवजन्तु एवं वनस्पतिको विविधताका लागि सिमसारको महत्व बढिरहेको लामिछानेको भनाइ छ। ’

इरानको रामसार शहरमा सन् १९७१ फेब्रुअरी २ मा भएको सम्मेलनबाट सिमसार क्षेत्रको संरक्षणकालागि रामसार महासन्धि पारित गरिएको थियो। नेपाल सन् १९८७ मा औपचारिक रूपमा यो महासन्धिमा आबद्ध भएको थियो। महासन्धिमा विश्वका १६९ देश सामेल भएका छन्। नेपालमा सिमसार क्षेत्रको संरक्षणका लागि राष्ट्रिय सिमसार नीति २०५९ कार्यन्वयन गरिँदै आएको छ।

नेपालमा रहेका ५ हजार ३ सय ५८ वटा ताललाई सीमसारको रूपमा सूचीकृत गरिएको छ। २ हजार ३ सय २३ वटा हिमताल, ५ हजार वटा जलाधार क्षेत्र, एक हजार ३ सय ८० वटा पोखरी, ५ हजार १ सय ८३ वटा ताल तलैयाहरूलाई सिमसार क्षेत्रका रूपमा पहिचान गरिएको छ भने कुल क्षेत्रफलको पाँच प्रतिशत क्षेत्र सिमसारले ओगटेको छ।

नेपालमा पाइने ७० हजार फूल फुल्ने वनस्पतिहरू मध्ये २५ प्रतिशत वनस्पति, ३७ प्रजातिका किटपतङ्ग, ८० प्रजातिका घिस्रने जन्तुको बासस्थान सिमसार क्षेत्र हो । एकसय ९३ प्रजातिका रैथाने चराचुरुङ्गीको बासस्थान पनि सिमसार क्षेत्र हो । नेपाल घुम्न आउने पर्यटक मध्ये ५० प्रतिशत पर्यटक सिमसार क्षेत्र पुग्ने गरेको तथ्यांकले देखाएको छ । नेपालका २१ वटा आदिवासी समुदाय जिविकोपार्जनका लागि सिमसारमै आश्रित छन् । नेपालको करीव ३० प्रतिशत सिंचाई सुविधाको श्रोत सिमसार क्षेत्रबाट बगेर आउने पानी रहेको छ।

पोखरा महानगरले ४६४ वर्ग किलोमिटर ओगटेको छ । २०१६/२०१७ सालको सर्भेमा १० वर्ग किलोमिटर झण्डै २२ हजार रोपनी पानी छोपेको भाग थियो । २०६४÷६५ मा भुमिसुधार मन्त्रालयको नापी विभागले गरेको वृहत सर्वेक्षणमा पानीले छोपेको भाग ९हजार ९ सय २२ मा पुगेको देखाएको छ ।

पोखरामा मात्रै फेवा र कमल, लेखनाथका रूपा, बेगनास, खास्टे, गुँदे, न्युरेनी, दिपाङ र मैदी ९ तालसहित सेती नदीलगायत सिमसार क्षेत्रलाई रामसारमा सूचिकृत गरिएको छ । पोखरा उपत्यका २ सय १० वर्ग किलोमिटरमा फैलिएको छ । ९ वटा ताल रहेको यस क्षेत्रमा झण्डै ३ हजार रोपनी सिमसार क्षेत्रले ओगटेको छ । सबैभन्दा बढी सिमसार क्षेत्र मैदीले ओगटेको छ । १ हजार क्षेत्रफलमा पानीले जम्मा ४ रोपनी ढाकेको छ।

वातावरण संरक्षण तथा आर्थिक विकासका दृष्टिले महत्वपूर्ण मानिने सिमसारको संरक्षणकालागि वृहत योजना ल्याउन धेरै ढिला भइसकेको बताउँछन् ताल संरक्षण समितिका सल्लाहकार विश्व प्रकाश लामिछाने। भन्छन्, ‘अब पनि यस विषयमा गम्भीर भएर नसोच्ने हो भने दीर्घकालीन रूपमा वातावरणीय प्रणालीमा यसको असर देखिने छ ।’

अव्यवस्थित शहरीकरण र बस्ती विकासको चपेटामा शहरी क्षेत्रका यस्ता क्षेत्र पर्दै गएको उनको भनाइ छ। शहरी क्षेत्रमा सिमसार क्षेत्रलाई संरक्षणको साटो यस्ता क्षेत्रमा फोहोर फाल्ने, पुर्ने र बस्ती विस्तार गर्नेकामले सिमसार मासिने अवस्थामा पुगेको बताउँछन्। मानिसका लागि मात्रै नभएर जीव जन्तु, चराचुरुङ्गी, किरा फट्यांग्रा, वनस्पतीसहितको जैविक विविधताका लागि सिमसार क्षेत्र अति महत्वपूर्ण छन्।

उनले विकासमा घरगाडी र भौतिक संरचनालाई मात्रै हो भनेर बुझ्न तर पर्यावरण संरक्षणले पर्यटन विकासमा भूमिका खेल्छ भन्ने बुझ्न नसकेका कारण सिमसार क्षेत्र साँघुरिदै गएको बताए।

कास्कीका नौ ताल र त्यस वरपरको क्षेत्र नेपालका प्रमुख सिमसार क्षेत्र रहेकाले यी क्षेत्रसहित अरु ससाना सिमसार क्षेत्रको संरक्षणका लागि एकीकृत प्रयासको खाँचो औल्याउँछन्। सिमसार क्षेत्रहरूको अवस्था संकटग्रस्त बनेको र त्यसको संरक्षण नहुने हो भने समग्र जैविक विविधतामै असर पर्ने उनको भनाइ छ।

संरक्षणका सन्दर्भमा बनाइएका नीतिगत व्यवस्थाको अस्पष्टता, अतिक्रमण, विकासका नाममा भैरहेका अव्यवस्थित बिनास, खेतबारीमा प्रयोग हुने गुणस्तरहीन रसायन र विषादीको निर्वाध आयात र प्रयोग सिमसार क्षेत्रको दिगो व्यवस्थापन र संरक्षणका लागि चुनौती बन्दै गइरहेको लामिछानेको ठहर छ।

अधिक वर्षा, कमजोर चट्टान, भिरालो जमिनमा खेती, जथाभावी खनिएका ग्रामीण सडकजस्ता प्राकृतिक र मानवीय कारणबाट तल्लो तटीय क्षेत्रमा ढुंगामाटो थुप्रिने क्रमले जलाधार क्षयीकरण भइरहेको उनले बताए।

सिमसार प्राणी र वनस्पतिका लोपोन्मुख र सङ्कटापन्न प्रजातिले वासस्थान बनाएको हुने हुँदा संरक्षण जरुरी रहेको बताउँछन्। उनी भन्छन्, ‘पानीको भूमिगत र सतही स्रोतको संरक्षण गर्न, पहिरो रोकथाम गर्न र माटोको पोषक तत्वको चुहावट रोक्न सिमसार महत्व हुन्छ त्यसैले यसलाई जोगाउनु पर्छ।’

जैविक स्रोत संरक्षण अभियानका अध्यक्ष लेखनाथ ढकाल सिमसार नासिँदै जाँदा चिन्तित बनेको बताउँछन्। ‘सिमसार जोगाउनु भनेको वातावरणलाई संरक्षण गर्नु हो यद्यपि यसको संरक्षण हुन सकेको छैन।’ उनले जैविक विविधता जोगाउन २०६२ साल देखि नै स्थानीयस्तरमा समूह गठन गरी छलफल थालेको बताए। जैविक विविधताको बारेमा खोजी गर्दै अभिलेखीकरण गर्ने काम समेत गरेको उनको भनाइ छ। ‘जैविक स्रोत संरक्षणकालागि १८ समूह र तीन संस्था छन्। ७ महिला समुह र ९ मिश्रित समूह सिमसार क्षेत्रमा छन्। उक्त समूहलाई सिमसारको महत्व बुझाउने काम गर्दै आएका छौँ,’ ढकालले भने।

विविध विधाका पर्यटन गतिविधिहरू संचालन गर्न पर्यटन व्यवसायीहरू र स्थानीय जनसमुदायहरूलाई यस विषयमा समितिले प्रोत्साहन गर्नुका साथै स्थानीय उपभोक्ता जनसमुदायहरूलाई तालिम समेत प्रदान गर्दै आएको छ । जसले गर्दा स्थानीय जनताको रोजगारी तथा देशको आर्थिक सम्बृद्धिमा समेत टेवा पुगेको छ ।

जैविक स्रोत संरक्षण अभियानले विशेष गरी मौरी पालन र बाख्रा पालनलाई जोड दिएको छ । विषादिरहित अर्गानिक कृषिमा यो अभियान सक्रिय छ । यसको साथै वन पैदावर, औषधि जन्य, माछा, चरा र उनीहरूको बासस्थान जोगाउन विशेष पहल गर्दै आएको छ । सिमसार क्षेत्रमा पाइने सेतो कमल, सहर माछा, नाबो धान, पिँडालुको संरक्षणको पहल गरेको उनले बताए ।

पोखरा महानगरमा लेखनाथ गाभिनुअघि बार्षिक ३५ सय देखि ४ हजार सम्म घरहरू निर्माण हुन्थे भने अहिले लेखनाथ सहितको महानगर बनेपछि बार्षिक सातहजार घरहरू निर्माण भइरहेको पोखरामा महानगरमा बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले जानकारी दिए। बस्ती बढ्दै जाँदा शहरमा भित्र रहेका सिमसार क्षेत्रहरू विस्तारै पुरिँदै गइरहेको काफ्लेको भनाइ छ।

पोखरा महानगरका इन्जिनियर एवं फेवाताल संरक्षण आयोजना प्रमुख महेन्द्र गोदार खानेपानी तथा सरसफाइ मन्त्रालयसँग सहकार्यमा यसै वर्ष ड्याम निर्माण सुरु गर्ने बताउँछन्। मन्त्रालयको सहलगानी कोषबाट ८५ प्रतिशत र महानगरले १५ प्रतिशत बेहोर्ने गरी प्रक्रिया अगाडि बढेको र यस कार्यले ड्यामबाट ताललाई बचाउन सकिने उनले बताए।

सिमसार संरक्षण अहिलेसम्मको प्रयास
ताल तलैया, दह, कुण्ड, पोखरी एवं सिमसारहरूको संरक्षण तथा पर्यटन प्रवद्र्धनका विषयहरूमा गोष्ठी, अन्तर्क्रयाजस्ता कार्य हुँदै आए पनि ताल सिमसार क्षेत्रको संरक्षण, प्रवद्र्धन र उपयोगको सवालमा भने खासै प्रभावकारी रूपबाट कामहरू भएको देखिँदैन ।

नेपाल सरकारले २०६३ फागुन २३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपालका सम्पूर्ण ताल तलैया, दह, कुण्ड, पोखरी एवं सिमसारहरूको संरक्षण, सम्बर्द्धन तथा उक्त क्षेत्रको जैविक विविधता वातावरण र सुन्दरताको संरक्षण तथा विकास र पर्यटन प्रवद्र्धन गर्नका लागि विकास समिति ऐन २०१३ अन्र्तगत राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरेको छ ।

यसले विशेषत: तालहरूको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गरी तालहरूको विशेषता अनुरूप पर्यटन मैत्री तालहरूमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको देखिन्छ । नेपालका तालहरू प्राय: पर्यटकीय महत्वका छन् । स्थानीय निकाय तथा जनसमुदायहरूले आ–आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि तालहरूको संरक्षण गरि तालहरूलाई विविध पर्यटन गतिविधिमा उपयोग गर्ने अभियान अगाडि बढाइरहेको राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक लंक शाही बताउँछन् ।

उनले नेपालमा रहेको तालहरूको संख्या यकिन गर्न करिव ७ सय वटा टोपो नक्साको अध्ययन अनुसन्धान गरी नेपालमा ५३५८ वटा तालहरू रहेको तथ्याङ्क सार्वजनिक गरेको बताए। तालहरूको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कार्यनिति योजना तयार गरि स्वीकृतिको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिएको उनले जानाकारी दिए।

राष्ट्रिय ताल संरक्षण विकास समितिको पहलमा सन् २०१६, फेब्रुअरी २ का दिन पोखरा उपत्यकाको नौ ओटा तालहरूलाई एकिकृत रामसार क्षेत्रको रूपमा सूचीकृत गरिएको छ। अहिले सम्म नेपालका करिब २२६ वटा भन्दा बढी ताल, दह, कुण्ड तथा पोखरीहरूमा संरक्षणका कामहरू गरि ६२ ओटा जिल्लाका ताल संरक्षण सरोकारवाला उपभोक्ता समिति तथा संरक्षणकर्ताहरूलाई तालको महत्व तालको संरक्षण र प्रवद्र्धनका लागि नियमित रूपमा तालिम तथा अभिमुखिकरण जस्ता प्रशिक्षण गर्दै आएको शाहीको भनाइ छ।

समितिले दिगो रूपमा ताल संरक्षण र पर्यटन प्रवद्र्धन गर्नका लागि तालहरूको सुसासनको आवश्यकता (संस्था, नीति, स्थानिय बासिन्दाको सहभागिता, प्रविधि, शिक्षा तथा सूचना, दिगो अर्थ व्यवस्था) लाई प्राथमिकता दिई ताल संरक्षण पर्यटन प्रवद्र्धनका लागि करिब २२६ वटा भन्दा बढी ताल, दह, कुण्ड तथा पोखरीहरूमा संरक्षणका पहलहरू गरेको बताए। साथै तालबाट समुदायको जिविकोपार्जनमा टेवा पुर्‍याउन मत्स्यपालनको लागि पोखराको रूपातालको पूर्वाधार तयार गर्ने कार्यका लागि सहयोग गर्दै आएको उनले बताए ।

शाहीका अनुसार विदेशी मुलुकहरूले तर्जुमा गरेको निति नियमहरू तथा विज्ञान र प्रविधिको प्रयोगका साथै अन्य व्यवहारिक अनुभवहरूको बारेमा एउटै मन्चबाट अनुभव, ज्ञान र सुचनाहरू एकआपसमा आदानप्रदान गरि ताल, सिमसार क्षेत्रको संरक्षण र उपयोग विषयमा नयाँ आयाम सिर्जना गर्ने उद्देश्य राखेको छ ।

सन् २०१० मा समितिले राष्ट्रिय स्तरको ताल सम्मेलन आयोजना गरि नेपालका तालहरूको वस्तुस्थिति तथा यिनीहरूको संरक्षण र प्रवद्र्धनकालागि सरकारले अवलम्बन गर्नुपर्ने निति, नियम तर्जुमाका लागि आवश्यक सुझाव सहित सम्मेलनको प्रतिवेदन पर्यटन मन्त्रालय लगायत अन्य सम्बन्धित निकायमा पेश गरेको पनि जानकारी दिए ।

अन्तर्राष्ट्रिय ताल सम्मेलन २०१८ को आयोजना गरी सम्मेलनबाट राष्ट्रिय ताल संरक्षण विकास समितिको नेतृत्वमा एकीकृत तालबेशी व्यवस्थापनमा आधारित रहेर दक्षिण एशियाली तदर्थ समिति गठन गर्न र त्यसको सचिवालय नेपालमा रहन निष्कर्ष समितिले निकालेको थियो ।

हालै मात्र सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका घर टहरा गैरकानूनी भएको ठहर गरेको छ । मालपोत ऐनले ताल, पोखरी तथा सोको डिल, नहर, कुलोलाई सरकारी जग्गाका रूपमा परिभाषित गरेको हुँदा फेवाताल पनि सरकारको अधिनमा रहेकाले त्यस्ता सरकारी जग्गा व्यक्ति विशेषका नाममा दर्ता भएकालाई निषेध गर्नुपर्ने अदालतको पूर्ण पाठमा उल्लेख छ ।

फेवातालको प्राकृतिक सुन्दरता, दुर्लभ वन्यजन्तु एव्म जैविक विविधताको संरक्षण गर्न तथा यसको ऐतिहासिक र सांस्कृतिक महत्व जोगाइराख्न यसको वातावरणीयस्तरसमेत कायम गर्नुपर्ने देखिएको हुँदा सरकारले आवश्यक निर्णय लिनु पाठमा उल्लेख गरिएको छ ।

साथै जैविक विविधता, आश्रित जलचरको जीवनलाई सङ्कटमा पार्ने गरी तालको पानीलाई प्रदूषण गर्ने, तालको प्राकृतिक क्षेत्रफल अतिक्रमण हुनेगरी आसपासका क्षेत्रमा घर तथा होटल निर्माण गर्न एवम् तालको वातावरणलाई नकारात्मकरूपमा असर गर्ने कुनै पनि कार्य नगर्न पाठमा भनिएकाले पनि यसको संरक्षणमा यो निर्णय निकै महत्वपूर्ण भएको राष्टिय ताल संरक्षण विकास समितिका पुर्व सदस्य ध्रुव चालिसेले बताउँछन् ।

उनले तालहरुको संरक्षण र दिगो विकासकोलागि निकट भविष्यमा वेटल्याण्ड एकेडेमी सञ्चालनको तयारी भइरहेको समेत जानाकारी दिए । त्यसका लागि जापानको आइलेकसँग कुराकानी भइरहेको र प्रक्रिया पनि अघि बढेको उनको भनाइ छ।

तस्बिरहरु: जमुना वर्षा शर्मा र सुनिल उलक

मंसिर १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्